
६ दशकदेखि हालसम्म करिब ५० प्रतिशत खुम्च्याइएको ताल र यसको जलाधार क्षेत्र थप खुम्च्याउन नदिन सरकारले दीर्घकालीन संरक्षण योजना बनाउनुपर्छ
राणाकालीन पाँडे बाँधलाई विस्थापित गर्दै ०१८ साल मंसिर ३ मा ड्यामसाइटमा आधुनिक बाँध बनाएर फेवातालको पानी निश्चित सतहसम्म जम्ने गरी थुनियो । तर, १७ पुस ०३१ मा बाँध फुट्यो । ०३४ मंसिर ११ मा आधुनिक तवरले त्यसै स्थानमा नयाँ बाँध बन्यो । पर्यटकीय नगर पोखरामा यसरी निर्माण गरिएकोे फेवातालको क्षेत्रफलबारे पटक–पटक कुरा उठ्ने गरेको छ । सबभन्दा पछिल्लोपटक सरकारले ११ फागुन ०७७ मा तालको क्षेत्रफल ११,२५५ रोपनी भनी निर्णय गर्यो, १७ फागुनमा राजपत्रमा फेवातालको चारकिल्ला र सिमानासम्बन्धी विवरणसहित सूचना प्रकाशन गरेको छ । यसपछि पोखराकै बासिन्दाले जिज्ञासा गरेका छन्– कसरी र किन घट्यो तालको १,६०९ रोपनी क्षेत्रफल ? यो लेख यिनै जिज्ञासाको सेरोफेरोमा छ ।
पृष्ठभूमि : पोखरामा फेवाताल छ । देश–विदेशका पर्यटक फेवाताल हेर्न पोखरा जान्छन् । पोखराका स्थानीय बासिन्दा आफूकहाँ फेवाताल रहेकोमा गर्व गर्छन् । नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी ‘लेक सिटी पोखरा’को भ्रमण गर्छन् । उनीहरू पोखरालाई केवल पोखरा मात्रै सम्झँदैनन्, ‘फेवाताल भएको सहर पोखरा’ भनेर सम्बोधन गर्छन् । पर्यटक फेवातालमा डुंगा (नौका) शयर गर्छन् । विदेशीहरू प्रायः आफैँले बहना चलाई डुंगा हाँकेर फेवातालको शयर गर्छन् । फेवातालको पानीमा पौडी खेलेर आनन्द लुट्छन् । फेवातालकै कारण थुप्रै भारतीय नवदम्पतीले ‘हनिमुन’ मनाउन पोखरा रोज्ने गरेका छन् । पदयात्रा गर्न रुचाउने पर्यटक ‘लेक सिटी पोखरा’ भएर अन्नपूर्ण सर्किटको ट्रेकिङ जान्छन् । फेवाताल रहेको पोखरा उपत्यकामा बलिउड र हलिउडका केही फिल्म पनि छायांकन गरिएका छन् ।
पोखराको सारङकोट डाँडाबाट उड्ने प्याराग्लाइडिङ फेवाताल संरक्षण क्षेत्रको जमिनमा ‘ल्यान्डिङ’ गरिन्छ । कोभिड–१९ संक्रमणअघि बढ्दो संख्याका चिनियाँ पर्यटकले लुम्बिनी लक्षित गर्दै ‘लेक सिटी पोखरा’लाई गन्तव्य स्थान तोक्ने गरेका थिए । त्यसैले केही चिनियाँ व्यवसायीले फेवाताल भएको पोखरामा होटेल पर्यटन व्यवसायमा लगानी गरेका थिए । कोरोना संक्रमण मत्थर हुँदै जाँदा पर्यटक संख्याको ग्राफ उकालो लाग्दै छ । अधिकांश आन्तरिक पर्यटक डुंगा चढेर फेवातालबीचको बाराही मन्दिर पुग्छन् । तालको बीचमा रहेको मन्दिरको रेलिङमा अडेस लाग्दै फेवातालको निलो पानी, तालछेउको जंगल, डाँडाकाँडा, माछापुच्छ्रे–धौलागिरी हिमाल दृश्यावलोकन गरेर आनन्द लिन्छन् ।
फेवाताल र पोखरा पर्यायवाची : पर्यटक फेवातालको पानीमा माछापुच्छ्रेको प्रतिबिम्ब देखेर आह्लादित हुन्छन् । फेवातालको पानीमा अलिअलि लहर उत्पन्न हुँदा लहराउने माछापुच्छ्रेको छाया देखेर पर्यटक रोमाञ्चित हुन्छन्– ‘माछापुच्छ्रे हिमाल नै हल्लिएको पो हो कि !’ भन्ने ठान्छन् । गीतकार तथा गायक प्रेमप्रकाश मल्लले त्यसै गाएका रहेनछन्– ‘पोखरा त पोखरा नै रैछ, माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ ।’
यहाँ यत्रो नालिबेली उल्लेख गर्नुको कारणचाहिँ के भने फेवाताल र पोखरा एक–अर्काप्रति अन्योन्याश्रित छन् । यी दुई एक–अर्काको पर्यायवाची छन् । पोखरा भन्नेबित्तिकै फेवातालको नाम आउँछ । फेवातालको नाम लिँदै गर्दा पोखरा मानसपटलमा झुल्किन्छ । यी दुईलाई अलग गर्न सकिँदैन । यी दुईमध्ये एक नरहे अर्काेको पहिचान नै नासिन्छ । फेवाताल नभएको पोखराको के रौनक, कुन सुन्दरता !
केही अतिवादी तत्वले व्यक्तिगत लाभ तथा स्वार्थपूर्तिका लागि फेवातालको प्राकृतिक अस्तित्वलाई खुम्च्याउँदै लगेका छन् । यहाँ बुझ्नुपर्ने के हो भने तालको पानीसीमा र त्यसवरिपरिको ताल संरक्षण क्षेत्र संकुचन र अतिक्रमणको मतलब कंक्रिटको जंगल बनेको पोखरा सहरमाथि हथौडाले हान्दै बन्चरोले चिर्नुजस्तै हो । फेवाताल मिच्नु वा क्षति गर्नु पोखरा सहरको चल्तिफिर्ती र विकासमा धावा बोल्नु होइन र ? फेवातालको क्षेत्रफललाई मर्कामा पारे पोखराको ढाड सड्कन्छ । फेवातालको अस्तित्व मेटिए पोखरा स्वाभाविकैले उजाड बन्छ । यो कटु सत्यलाई पोखरावासीले त मुटुभित्रैदेखि मनन गर्नुपर्छ । यसैले फेवातालको क्षेत्रफल संकुचित पार्दै आफ्नो अवाञ्छित आर्थिक समृद्धि गर्ने क्रियाकलाप गर्नु हुँदैन ।
तालको अस्तित्वमा धावा बोल्ने तत्व : फेवातालको अस्तित्वमाथि धावा बोल्ने तीन तत्व देखा परेका छन् । पहिलो, मानव तत्व । दोस्रो, जलाधार तत्व। अनि तेस्रो, पर्यावरणीय तत्व । पोखराभित्रका मात्र होइन, पोखराबाहिरका मानव तत्वले पनि फेवाताल र ताल संरक्षण क्षेत्रको जमिन नंग्य्राएका छन्, लुछेका छन् । ताल जलाधार क्षेत्रको जमिन टुक्रा–टुक्रा पारेर कित्ताकित्तामा विभाजन गरी व्यापार व्यवसायीले फेवाताल संरक्षण क्षेत्रको सिंगो जग्गालाई कुरूप पारेका छन् । जग्गा कित्ता अक्सर चारपाटे/चारकुने या सातकुनेसम्म हुनुपर्नेमा फेवातालले चर्चेको जमिन चिथोरेर अस्वाभाविक लमतन्ने सुर्केजस्तो डोरी आकारको कित्ता काटेर–कटाएर त्यसको लालपुर्जा खल्तीमा हालेका छन् । फेवाताल अतिक्रमण छानबिन गर्न गठित समितिका संयोजक विश्वप्रकाश लामिछानेले ३ जेठ ०६९ मा सरकारलाई बुझाएको प्रतिवेदनमा १,६१९ रोपनी जमिन अतिक्रमणमा पारेर ९५० जनालाई अवैध लालपुर्जा दिइएको उल्लेख थियो । जग्गा अनधिकृत दर्ता गर्ने–गराउने तत्वले दुई–तीन आना जग्गाको अन्यत्रैको रसिदलाई परालको त्यान्द्रोको प्रमाण मानी १०औँ रोपनीसम्म जमिन दर्ता गरिएको स्थानीयवासीले बताउने गरेका छन् ।
०१५ सालदेखि हालसम्मको ६२ वर्षको अवधिमा फेवातालको जमिन सालाखाला औसत प्रतिवर्ष १४८ रोपनीका दरले ९,१९० रोपनी संकुचन भएको पाइन्छ । यसै क्रम र अनुपातमा संकुचन हुँदै जाने हो भने आउँदो ७६ वर्षमा फेवातालको पानी सुक्खा भई तालको अस्तित्व खतम हुन सक्ने सम्भावना देखिन्छ ।
फेवाताल र संरक्षित क्षेत्रको जग्गा अतिक्रमण गर्ने कार्य ०३१ मा फेवा बाँध फुटेपछि सुरु भयो । बाँध फुट्नुअघि जति जमिन पानीले ढाकिएको थियो, ०३४ मा नयाँ बाँध निर्माणपछि पहिलेको जति जमिनमा पानी फैलन सकेन, केही जमिन उकास भयो । यस्ता जमिनमा लोभीपापीले गिद्धे नजर लगाएर पोखराको सम्पदा फेवातालको जमिन कोतर्न सुरु गरे । फेवातालको जमिन भसक्कै अतिक्रमणको चपेटामा पर्यो । अहिले आएर सरकारले पनि तालको क्षेत्रफल साबिकभन्दा १६१९ रोपनी कम देखाएको छ (नयाँ पत्रिका, ०७७ फागुन २०) । यसबाट फेवातालको अस्तित्व अझै चुनौतीमा परेको छ ।
फेवाताल साँघुरिँदै जानुमा जलाधारको पनि भूमिका छ । तालमा मिसिन आउने हर्पन खोला तथा यसका सहायक अँधेरी, सुर्के, दूधेजस्ता खोलाखोल्सीको पृष्ठभूमिको अग्लो जमिन बलौटे तथा फोस्रो माटोले बनेको छ । त्यसैले जलाधार क्षेत्रबाट हर्पन खोलाले निरन्तर खुकुलो माटो बगाएर ल्याई फेवाताल किनारमा थुपार्ने गर्छ । वर्षायाममा बलौटे माटो बगाउने प्रतिशत स्वाभाविकैले धेरै हुन्छ । एक अध्ययनअनुसार हर्पनले प्रत्येक वर्ष करिब एक लाख ४२ हजार मेट्रिक टन माटो, गेग्रान, झारपातजन्य वस्तु थुपार्दै गएकाले तालपानीको भाग क्रमशः नजानिँदोसँग पुरिँदै गएको छ । यस्ता पुरिएको भागको जमिन अतिक्रमणको चपेटामा पर्ने गरेका छन् । पुरिएका यस्ता जमिनमा मानव तत्वले नंग्रा धसाइहाल्छन् ।
यसले पनि फेवातालमा पानीको गहिराइ क्रमशः घट्दै गएको एक अध्ययनले देखाएको छ । परिणामतः ०३१/३२ सालमा ३३ मिटर गहिराइ भएको ताल ०६४ मा १८ मिटरमा झरेकोे थियो । यसबाट पानीको गहिराइ प्रतिवर्ष करिब आधा मिटर घट्दै आएको पाइन्छ । फेवातालको पर्यायवाची पोखराको पहिचान पनि ‘लेक सिटी’बाट सेती नदीले पारेको ध्वान्द्रे सहर (हलो सिटी) मा परिणत हुनेतर्फ अग्रसर छ । यस तथ्यलाई गम्भीरसँग मनन गरी पोखरावासी र राष्ट्रियताको धारणा बोकेका अन्य क्षेत्रका महानुभावले पनि फेवातालको पानी र यसवरिपरिको जग्गा संरक्षण गर्ने कदम वेलैमा चाल्नुपर्छ । समयक्रमसँगै फेवातालको क्षेत्रफल साँघुरिँदै छ ।
फेवाताल खुम्चिनुको तेस्रो कारण पर्यावरणीय प्रभाव पनि हो । तालको पानी सफा नराखिनुको कारण र माटो–बालुवाले पानी छोपिनाले जलकुम्भीजस्ता झारले फेवातालको पानीलाई गम्भीर संकटमा पारेको छ । जलकुम्भी झारले ओगटेको क्षेत्र दिनानुदिन बढ्दै गएकाले फेवातालभित्रको पानीको किनारा क्रमशः संकुचन हुँदै गएको छ । तालको सुन्दरता र संरक्षणका लागि यो झार चुनौती हो, जुन थुप्रिँदो छ । यसलाई ध्यान दिएर तत्कालीन प्रतिनिधिसभा सदस्य (पछि पर्यटनमन्त्री) रवीन्द्र अधिकारी र पोखरा महानगरपालिकाको संयुक्त प्रयासमा क्यानडानिर्मित ‘एक्युटिक प्लान्ट हार्भेस्टिङ’ मेसिन खरिद गरी जलकुम्भी झार झिक्ने काम ०७४ फागुनदेखि सुरु गरिएको थियो । यसबाट फेवाताल बचाउमा केही त्राण मिलेको थियो । तर, त्यो मेसिन धेरै अवधिसम्म टिक्न सकेन ।
हामीकहाँ अनावश्यक तत्व घुस्ने र घुसाउने धेरै छन् । कतै मेसिनचालकलाई मानव तत्वले कुप्रभावमा पारी मेसिन बिग्रिने–बिगार्ने पो गरियो कि ! अथवा, कतै रातबेरात त्यो मेसिनको मुख्य पार्टपुर्जा चोरीचकारी मेसिनै नचल्ने पो बनाइयो कि ? फेवातालको जमिन कोतर्ने र चिथोर्ने अहिलेसम्मको क्रियाकलाप हेर्दा शंका–उपशंका गर्ने ठाउँ प्रशस्त रहन्छ । तर पनि मानिस आशावादी हुनैपर्छ । फेवातालको जलकुम्भी केही मात्रामा भए पनि वर्षैपिच्छे झिक्नुपर्छ । फेवातालको जग्गा दूषित रूपमा दर्ता हुनबाट बचाउनुपर्छ, तालको पहिचान जोगाइराख्नुपर्छ ।
यसैबीच, १८ फागुन ०७७ देखि तालको गहिराइ बढाउने गरी तालमा थुप्रिएको माटो बाहिर निकाली ताल सफाइ तथा माटो व्यवस्थापन गर्ने समितिले रामकाजी श्रेष्ठको संयोजकत्वमा तालमा पानी मिसिने स्थान कोमागाने पार्क र केदारेश्वर मन्दिरपछाडिको भागबाट सफाइ कार्य सुरु गरेको छ । अनुमानित एक करोड ३३ लाख रकम खर्चिन सके तालको पानी पुरिएको स्थानबाट १५ हजार घनमिटर माटो, ढुंगा, बालुवासँगै फोहार निकालिनेछ । यसबाट तालको गहिराइ तीन मिटरजति बढ्ने सम्भावना रहेको छ । खर्च नपुगे सफाइको काम बीचैमा अड्किन सक्छ ।
डरलाग्दो के छ भने मानव तत्व बढी नै क्रियाशील भएर फेवाताल संरक्षण क्षेत्रको जग्गाको लालपुर्जा खल्तीबाट झिकेर तालको डिलनजिकै होटेलका रूपमा गगनचुम्बी महल ठड्याए भने फेवातालमा माछापुच्छ्रे पौडी खेलेको दृश्य गायब हुन सक्छ । ‘तालको सहर पोखरा’ ‘बेतालको खोक्रे सहर पोखरा’मा परिणत हुन सक्छ । यो अति नै संवेदनशील विषय हो ।
तालको क्षेत्रफल : भारतको सर्भे अफ इन्डियाले सन् १९५९ मा प्रकाशित गरेको टोपोग्राफिकल नक्सामा गणना गर्दा फेवातालको वास्तविक क्षेत्रफल १०.४ वर्गकिलोमिटर (२०,४४० रोपनी) भएको पाइन्छ भने १९६२ मा उद्घाटित फेवाताल शिलालेखमा १०.३६ (२०,३७० रोपनी), कित्ता नापीको १९७६ को नक्सामा ६.६ (१२,९७० रोपनी) र गहिराइ ३३ मिटर, अनि २०१६ मा भूमिसुधार मन्त्रालयले गठन गरेको समितिले मापन गर्दा ५.२, क्यानडा सरकारको सहायतामा १९८६ मा तयार पारिएको ल्यान्ड रिसोर्सेज नक्सामा ६.०, फिनल्यान्ड सरकारको सहायताद्वारा १९९८ मा बनाइएको नक्सामा ६.२, नापी विभागले २००८ मा मापन गरेकोमा ६.१ (११,९९० रोपनी) र गहिराइ १८ मिटर र ०७७ भदौ २९ मा गठित चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिअनुसार फेवातालको क्षेत्रफल ५.७२ वर्गकिमि भएको तथ्यांक प्रकाशमा आएको छ ।
विभिन्न सामग्री अध्ययन गर्दा माथि उल्लिखित तथ्यांकबाहेक अन्य विवरण निम्नानुसार देखिन्छ:
१) तालको चौकिल्ला : पूर्वमा ड्यामसाइट, पश्चिममा मोरेबगर, उत्तरमा अपौंदी चंखपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानीवन रहेको छ ।
२) हालैको प्रतिवेदनमा तालको तल्लो तटीय क्षेत्र (ड्यामसाइट, रानीवन, गौरीघाट, लेकसाइड, गैराको चौतारा, सेदी, खपौंदी, लामीडाँडा, अनदुसमेतको क्षेत्र)मा वर्षायामको अधिकतम पानीको किनारालाई तालको सिमाना मान्ने उल्लेख छ ।
३) तालमा मिसिन आउने खोलाहरू : फिर्के खोला, हर्पन खोला, भकुन्डे खोला, अँधेरी, सुर्के, दूधेजस्ता खोल्साखोल्सीसहित १० भन्दा धेरै खोला, खहरेको पानी तालमा मिसिन आइपुग्छन् ।
४) यस्ता खोलाहरूले बगाएर ल्याउने वार्षिक करिब एक लाख ४२ हजार मेट्रिक टन (१५ हजार घनमिटर) माटो, बालुवा, गिट्टी, गग्रेन, ढुंगा, काठ, दाउरा आदिले ताललाई चौरमा परिणत गर्ने गरेको छ ।
५) तालको अधिकतम लम्बाइ चार किलोमिटर, चौडाइ १०० मिटरदेखि दुई किलोमिटरसम्म रहेको छ ।
६) ताल सीमारेखाको परिधि १८ किलोमिटर रहेको छ ।
७) औसत गहिराइ ८.६ मिटर र अधिक गहिराइ २४ मिटरसम्मको छ ।
८) तालको जलाधार क्षेत्र १२३ वर्गकिलोमिटर छ ।
९) तालमा पानीले ढाकिएको क्षेत्र ९,९५५ रोपनी छ ।
१०) लामो समयदेखि चर्चा र विवादको विषय बनिरहेको फेवातालको पछिल्लो क्षेत्रफल सार्वजनिक भएको छ । सरकारद्वारा गठित फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले तयार पारेको प्रतिवेदन गत २ फागुन ०७७ मा नेपाल सरकारलाई पेस गरेको थियो भने ४ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्यो । एक सातापछि ११ फागुनमा मन्त्रिपरिषद्बाट निर्णय गरेपछि १७ फागुनमा राजपत्रमा फेवातालको चारकिल्लासहित सूचना प्रकाशित भएको छ ।
नापीका समय फेवाताल संरक्षण क्षेत्र भनी एकै चक्ला पारिएको कित्ता नक्सामा अहिले धागोजस्तो लामो सुर्को कित्ता बनाई पचासौँ कित्ता काटिएको छ । जग्गामा नगई कार्यालय टेबलमा बसेर बनाइएको प्राविधिक हिसाबले अमिल्दो यस्तो कित्ता कुनै पनि हालतमा मान्य हुनुहुँदैन ।
माथि उल्लिखित क्षेत्रफल तथ्यांक लेखाजोखा गर्दा २०१५ सालदेखि हालसम्मको ६२ वर्षको अवधिमा फेवातालको जमिन सालाखाला औसत प्रतिवर्ष १४८ रोपनीका दरले ९,१९० रोपनी संकुचन भएको पाइन्छ । यसै क्रम र अनुपातमा संकुचन हुँदै जाने हो भने आउँदो ७६ वर्षमा फेवातालको पानी सुक्खा भई तालको अस्तित्व खतम हुन सक्ने सम्भावना देखिन्छ ।
छेउछाउका संरचनाले फेवाताल अतिक्रमण: फेवाताल क्षेत्रको छेउछाउ होटेल, रिसोर्ट र व्यापारिक कम्प्लेक्स निर्माणले ढाक्दै गए त्यस्ता संरचनाले विसर्जन गर्ने मलमूत्र, फोहोर प्रदूषणद्वारा तालमा पानीको मूल नै अवरोध हुन सक्छ । पानीको भाग जमिनमा परिणत हुँदै फेवातालको अस्तित्वमाथि संकट थपिँदै जान्छ । बहुतले भवनबाट निकास गरिएको ढल अन्यत्र कतै नगई तालमा नै पुग्ने हुन्छ । प्रदूषित पानीमा डुंगा शयर गर्न, पौडी खेल्न देश–विदेशबाट पर्यटक आउलान् त ! यो पनि मननीय छ । काठमाडौंको रानीपोखरी पुनर्निर्माणको पाठबाट फेवाताल संरक्षणमा तदारुकता अपनाउनुपर्छ ।
फेवाताल संरक्षणबारे सर्वोच्च अदालत : अवैध रूपमा फेवातालवरिपरिको जग्गा दर्ता गरिएकोलाई रद्द गरी तालको जग्गा संरक्षण गरिपाऊँ भनी अधिवक्ता खगेन्द्र सुवेदी, वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता श्रीमती भगवती पहारीसमेतले सर्वोच्च अदालतमा रिट निवेदन दिएको सिलसिलामा मलाई पनि अदालतको मित्र (एमिकस क्युरी) जस्तैका रूपमा ४ पुस ०७४ मा बोल्न दिइएको थियो । सर्वोच्चको बेन्चमा मैले बोलेको थिएँ– ‘पोखरा नगर योजना क्षेत्रको नापीनक्सा तयार पार्न सरकारले ७ भदौ ०३१ मा राजपत्रमा सूचना प्रकाशित गरेको थियो । ०३१ असोजदेखि ०३४ असोजसम्म म नगर विकास नापी कार्यालयमा प्रमुख नापी अधिकृतको हैसियतमा कार्यरत थिएँ । फेवाताल क्षेत्रको जमिनसमेत मेरै पालामा नापनक्सा भएको हो ।
कित्ता नापीनक्साको पुछारमा मेरो नाम, अमिन, टोली प्रमुखको नाम र मिति उल्लेख छ । नापीका समय केही व्यक्तिले हर्पन खोलाले बगाएर ल्याएको बालुवाद्वारा फेवाताल पुरिई जलकुम्भी झारले ढाकेको केही जमिन कित्ताकाट गरी दर्ता गर्न आवेदन दिएका थिए । यस्ता जमिन र पोखरा नगर विकास क्षेत्रका अन्य सरकारी सार्वजनिक जमिन यथावत् कायम राख्न सरकारले राजपत्रमा प्रकाशित गरी नापीसम्बन्धी विशेष अदालत गठन गरेको थियो ।
०३१ मंसिरदेखि ०३३ माघसम्म कायम भएको तीन सदस्यीय अदालतको अध्यक्षमा पहिलो वर्ष न्यायाधीश उमानिधि तिवारी र दोस्रो वर्ष न्यायाधीश नारायण प्रसादलाई काजमा खटाइएको थियो । प्रमुख नापी अधिकृतका हैसियतमा दुवै वर्ष म र भूमिसुधार अधिकारीका हैसियतमा पहिलो वर्ष रामप्रसाद श्रेष्ठ र दोस्रो वर्ष प्रेमचन्द शर्मा सदस्य रहेका थियौँ । विशेष अदालतबाट हामीले फेवाताल र यसले चर्चेको पृष्ठभूमिमा रहेको जग्गासमेत गरी करिब २० हजार रोपनी कायम गरेका थियौँ । विशेष अदालत विघठन भएपछि यसले गरेको अन्य क्षेत्रको समेत निर्णयको सम्पूर्र्ण कागजात स्रेस्तेदार सुब्बाद्वारा कास्की जिल्ला अदालतमा बुझाइएको थियो ।
सर्भे अफ इन्डियाले सन् १९५९ मा तयार गरेको टोपोग्राफिकल नक्सा र फेवाताल शिलालेखमा पनि ताल र यसवरिपरिको जमिन लगभग २० हजार रोपनी रहेको देखिन्छ । पोखरा नगर विकास कार्यालयले तयार गरेको नक्सामा पनि ताल र यसको संरक्षण क्षेत्र मोटामोटी यति नै क्षेत्रफल पाइन्छ । नापीका समय फेवाताल संरक्षण क्षेत्र भनी एकै चक्ला पारिएको कित्ता नक्सामा अहिले धागोजस्तो लामो सुर्को कित्ता बनाई पचासौँ कित्ता काटिएको छ । जग्गामा नगई कार्यालय टेबलमा बसेर प्राविधिक हिसाबले अमिल्दो यस्तो कित्ता कुनै पनि हालतमा मान्य हुनुहुँदैन । अवैध तरिकाले अन्यत्रैको तिरोभारोको लिप्टो रसिदको आधार टेकी दर्ता गरिएको जग्गा बदर गरी फेवातालको सार्वजनिक जग्गा यथावत् कायम गरिनुपर्छ । नेपालको पहिचानसँग गाँसिएको फेवाताल र यसले चर्चेको जमिन जुनसुकै हालतमा पनि संरक्षण गरिनुपर्छ ।’
यति बोलेर म पछाडिको बेन्चमा बस्न गएँ । त्यहाँ त नेपालका नाम कहलिएका वरिष्ठ अधिवक्ताहरू भुँडी फुलाएर बसिरहेका थिए । पछि बुझ्दा उनीहरू ताल संरक्षण क्षेत्रको जग्गा मिचेर दर्ता गर्नेवालाका तर्फबाट वकालत गर्न आएकाहरू रहेछन् । समयको अभाव भएकाले उनीहरूले बहस गर्न पाएनन् । यस्ता घाघ–घाघ वकिलहरू त फेवातालले चर्चेको जमिन अतिक्रमण गर्नेका पक्षमा बहस पैरवी गर्न पो कुरेर बसिरहेका रहेछन् । हरे शिव ! के हो यो ? यसमा उनीहरूको पनि पहिचान लुकेको छ । फेवाताल मासिए नेपालको पहिचान धुमिल हुन पुग्छ । फेवातालको पानीको छायामा तैरेको माछापुच्छ्रेलाई विश्वले स्विट्जरल्यान्डको ‘म्याटरहर्न’ हिमालसँग दाँज्ने गरेको छ ।
अन्त्यमा, ताल र यसको जलाधार क्षेत्र संरक्षण गर्न ०३४ सालयता कित्ताकाट गरी दर्ता गरिएका जग्गाको लालपुर्जा खारेज गरिनुपर्छ । हालको प्रतिवेदनका अतिरिक्त १,६१९ रोपनी जग्गा तालको नाममा ल्याइनुपर्छ । तालको वरपर साना–ठूला अनधिकृत तवरले बनाइएका करिब पाँच सय स्थायी र अस्थायी निजी तथा व्यावसायिक संरचना भत्काउनुपर्छ । यस्ता कतिपय संरचना भत्काउँदा चलनचल्तीको दररेटमा मुआब्जा दिनुपर्ने हुन्छ । गत ६ दशकदेखि हालसम्म करिब ५० प्रतिशत खुम्च्याइएको ताल र यसको जलाधार क्षेत्र थप खुम्च्याउन नदिन सरकारले दीर्घकालीन संरक्षण योजना बनाउनुपर्छ । तर, फेवाताल बचाउने जिम्मेवारी पोखरा महानगरपालिकाजस्ता एकाध निकायको मात्रै होइन, देशका विभिन्न संघ, संस्था, स्थानीय नगरवासी तथा नेपाली जनताको पनि त्यत्तिकै जिम्मेवारी रहन्छ ।