मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कृष्ण रिजाल काठमाडौं
२०७७ चैत १ आइतबार ०९:५३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवा विशेष आर्थिक क्षेत्रका ८ उद्योगको अनुमति रद्द गरिँदै

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७७ चैत १ आइतबार ०९:५३:००

भैरहवा विशेष आर्थिक क्षेत्र (भैरहवा सेज)का आठ उद्योगको अनुमति रद्द गरिने भएको छ । कानुन र सम्झौताअनुसार उद्योग स्थापना तथा सञ्चालन गर्न नसकेको भन्दै ती उद्योगको अनुमति रद्द गरिने भएको हो । 

०७५ मा अनुमति लिएका ती आठ उद्योगले तोकिएको समयमा उद्योग स्थापना तथा सञ्चालन गर्न नसेकेको भन्दै भैरहवा सेजले अनुमति रद्द गर्ने तयारी गरेको हो । सेजले अनुमति रद्द गर्नुअघि स्पष्टीकरण दिन भन्दै सूचनासमेत जारी गरिसकेको छ । यद्यपि, स्पष्टीकरण जेजस्तो आए पनि उनीहरूको अनुमति रद्द गर्ने निश्चित भइसकेको सेज प्राधिकरणका एक उच्च अधिकारीले बताए । प्राधिकरणले अरिहन्त एग्रो प्रोसेसिङ प्रालि, नेसनल अर्गानिक्स, कुराकानी अनलाइन प्रालि, आइडिएस इलेक्ट्रिकल्स प्रालि, जयबुद्ध मेटल क्राफ्ट प्रालि, नीर इन्डस्ट्रिज प्रालि, एस प्लास्टिक्स प्रालि र शक्ति मिनिरल्स प्रालिको अनुमति रद्द गर्ने तयारी गरेको छ । आठ उद्योगले कुल २१ प्लटमा उद्योग स्थापनाका लागि अनुमति लिएका थिए । 

प्राधिकरणले २६ फागुनमा सूचना प्रकाशन गर्दै ती उद्योगको अनुमति रद्द गर्ने जनाएको हो । सम्झौता अवधिभित्र उद्योग सञ्चालन नगरेको, अनुमतिपत्र अवधिभित्र उद्योग दर्ता नगरेको, सम्झौताअनुसार भू–बहाल र अन्य तिर्नुपर्ने रकम नबुझाएको, उद्योगी–व्यवसायीहरू सम्पर्कमा नरहेको, उद्योगहरूको नाममा लिखित तथा मौखिक ताकेता गर्दा पनि कुनै प्रतिक्रिया नजनाएकाले ती उद्योगको अनुमति रद्द गर्नुपरेको प्राधिकरणले जनाएको छ । 

तर, उद्योगीहरूले भने सेज प्राधिकरणले पूर्वाधार निर्माण गर्नुपर्ने, सहजीकरण गरिदिनुपर्नेलगायत आफ्नो दायित्व पूरा नगरी उद्योगी–व्यवसायीलाई मात्रै दोष दिएको आरोप लगाएका छन् । अनुमति रद्द हुने उद्योगको सूचीमा परेका एक उद्योगीले भने, ‘सुरुमा नीतिगत समस्या भयो, निर्यातको सीमा, मेसिनरी जडान, महँगो भाडादरलगायत थुप्रै नीतिमा द्विविधा थियो, त्यसैले पनि उद्योग लगाउन सकिएन, अहिले पनि पूर्वाधार छैनन्, सेज आफँै नेतृत्वविहीन छ ।’ प्राधिकरणले केही समय दिएर मात्रै अनुमति रद्दको निर्णय लिनुपर्ने अर्का एक उद्योगीले बताए ।

स्पष्टीकरणलाई तीन दिन बाँकी
यदि अनुमतिपत्र रद्द नहुनुपर्ने कुनै कारण भए सात दिनभित्र स्पष्टीकरण दिनसमेत सेजले सम्बन्धित उद्योगलाई जानकारी गराएको छ । सूचना २६ गते सार्वजनिक गरिएको हुँदा अब उद्योगले स्पष्टीकरण दिने म्याद तीन दिन मात्रै बाँकी छ । ‘भैरहवा विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनाका लागि प्राधिकरण र उद्योगी–व्यवसायीबीच विभिन्न मितिमा सम्झौता भई अनुमतिपत्र प्रदान गरिएकोमा हालसम्म पनि उद्योग स्थापना वा सञ्चालन नगरी विशेष आर्थिक क्षेत्र ऐन, २०७३ को दफा १२ तथा सम्झौता सर्तअनुसार दायित्व पूरा गरिएको छैन,’ प्राधिकरणको सूचनामा उल्लेख छ, ‘त्यसैले, सोही ऐनको दफा १० उपदफा (२) बमोजिम अनुमतिपत्र रद्द नहुनुपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको सात दिनभित्र प्राधिकरणको मुख्य कार्यालयमा सम्पर्क गरी स्पष्टीकरण दिनुहुनसमेत जानकारी गराइन्छ ।’ 

उद्योगीका समस्या सुनेर मात्रै निर्णय लिइयोस् : गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगीका समस्या सुनेर मात्रै सेज प्राधिकरणले अनुमति रद्दको निर्णय लिनुपर्ने बताए । अनुमति रद्द गर्ने विषय आफैँमा प्रिय नभएको भन्दै उनले यसमा हतारो गर्न नहुनेसमेत बताए । ‘खासमा सेजमा उद्योग खोल्ने विषयमा नियम कडा थियो, निर्यातको सीमा, नयाँ मेसिन ल्याउन नपाइनेलगायत थुप्रै नियम व्यावहारिक थिएनन्, जुन अहिले केही सुधार भएको छ,’ उनले भने, ‘तर, अझै पनि भैरहवा सेजमा बिजुली, पानीलगायत पूर्वाधार छैनन्, त्यहाँ प्राधिकरण (सरकार)ले गर्नुपर्ने पनि धेरै बाँकी छ ।’ प्राधिकरणले आफ्नो दायित्वसमेत पूरा गरेर र उद्योगीका समस्यासमेत बुझेर मात्रै निर्णय लिनुपर्ने उनको भनाइ छ ।