१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दैलेखको आठबिस नगरपालिका– ३ निमाइलका एकै परिवारका पाँचजना कर्णालीमा हामफालेपछि शोकमग्न स्थानीय । तस्बिर : नयाँ पत्रिका
टेकराज थामी काठमाडौं
२०७७ फाल्गुण २७ बिहीबार ०८:१५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पाँच वर्षमा २६ हजार पाँच सयले गरे आत्महत्या 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ फाल्गुण २७ बिहीबार ०८:१५:००

हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै, अधिकांश घटना घरेलु हिंसाका कारण

- दैलेखको आठबिस नगरपालिका– ३ निमाइलकी सुकु बडुवाल गत आइतबार चार छोराछोरीसहित कर्णाली नदीमा हामफालिन् । उनीसहित दुई छोरी र एक छोराको शव भेटिएको छ, एक नाबालक छोरी अझै बेपत्ता छिन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सुकुले सन्तानसहित आत्महत्याको बाटो रोज्नुको मुख्य कारण घरेलु हिंसा देखिएको छ । पति मानसिङ मदिराका अम्मली थिए, पत्नी र छोराछोरीलाई यातना दिन्थे । यो क्रम आइतबार पनि दोहोरियो । सुकुले पीडा सहन सकिनन् । र, चार सन्तानसहित बग्दै गरेको कर्णाली नदीमा हामफालेर आफ्नो इहलीला समाप्त गरिन् ।

- दुई वर्षअघि कपिलवस्तु यशोधरा गाउँपालिका– २ की ३० वर्षीया शकुन्तला यादवले पनि पाँच वर्षीय छोरासँगै आफ्नो शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरिन् । घटनामा अर्की दुई वर्षीया छोरी आर्या गम्भीर घाइते भइन् । यो घटनाको अनुसन्धानका क्रममा पनि आत्महत्याको मुख्य कारण देखियो घरेलु हिंसा । प्रहरीका अनुसार उनलाई पति रामकिसुन यादवले कुटपिट गर्ने गरेका थिए । उनी दैनिकजसो मदिरा पिउँथे । नसाको सुरमा श्रीमतीसँग हिंस्रक रूपमा प्रस्तुत हुन्थे । निरन्तरको पीडा सहन नसकेर अन्ततः शकुन्तलाले आत्महत्या रोजिन् । 

 - दुई वर्षअघि डोटीको जोरायल गाउँपालिका– १ की २५ वर्षीया लक्ष्मी विष्ट घरमै झुन्डिएको अवस्थामा फेला परिन् । प्रहरीले घटनास्थल पुगेर मुचुल्का उठाउँदै अनुसन्धान थाल्यो । लक्ष्मीले पनि घरेलु हिंसाकै कारण आत्महत्या गरेको देखियो । लक्ष्मीका दाइ गणेश विष्टले प्रहरीलाई दिएको बयानअनुसार श्रीमान् खड्का बोहरा सधैँ नसामा हुन्थे, नसाकै सुरमा उनले पत्नीलाई कुटपिट गर्थे । पीडा सहन नसकेर लक्ष्मीले आत्महत्या रोजिन् ।                           

देशका फरक–फरक ठाउँमा घरेलु हिंसाका कारण भएका आत्महत्याका यी घटना केही उदाहरण मात्रै हुन् । पछिल्लो पाँच वर्षमा २६ हजार पाँच सय ५० जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार धेरै घटनामा घरेलु हिंसा प्रमुख कारण देखिने गरेको छ । प्रत्येक दिन सरदर १८ जनाले आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको तथ्यांक छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार आत्महत्याका अधिकांश घटना घरेलु हिंसाका कारण हुने गरेका छन् । ‘आत्महत्याका घटना प्रत्येक वर्ष बढ्दै गएका छन् । घटनाको कारण खोतल्दै जाँदा कहीँ न कतै घरेलु हिंसा देखिन्छ,’ उनले भने, ‘त्यसबाहेकका कारण पनि हुन्छन्, तर मुख्य कारण घरेलु हिंसा नै हो । हाम्रो अनुभवले त्यही भन्छ ।’

त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रका प्राध्यापक डा. टीकाराम गौतमले पनि आत्महत्या गर्नुका धेरैमध्ये एउटा खास कारण घरेलु हिंसा भएको बताए । ‘हिंसाका कारण पीडितले जीवन जिउने आधार देख्दैन । जीवनबाट ऊ निराश बन्न पुग्छ । त्यसपछि आत्महत्याको बाटो समात्छ,’ उनले भने, ‘आर्थिक अवस्था नाजुक हुनु, बेरोजगार हुनु, जीवनबाट असन्तुष्ट हुनु पनि आत्महत्याका कारण हुन् । पारिवारिक कलह, बेमेल, द्वन्द्वजस्ता कारणले मानिसको मनोविज्ञानमा नराम्रो असर गर्छ । आत्महत्या गर्ने कारण यी पनि हुन् ।’

प्रहरीको तथ्यांकअनुसार हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको माघसम्ममा तीन हजार नौ सय ९३ जनाले आत्महत्या गरेका छन् । गत आव ०७६/७७ मा ६ हजार दुई सय ७९, आव ०७५/७६ मा पाँच हजार सात सय ८४, आव ०७४/७५ मा पाँच हजार तीन सय ४६ र आव ०७३/७४ मा पाँच हजार एक सय ३८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । ‘तथ्यांकले आत्महत्या गर्ने दर बढेको देखाउँछ । अब यसका कारणहरू खोजिनु जरुरी छ,’ प्रहरी प्रवक्ता कुँवरले भने ।

धेरै आत्महत्या प्रदेश १ मा, कम कर्णालीमा
प्रहरीको तथ्यांकअनुसार प्रदेश १ मा सबैभन्दा धेरै आत्महत्याका घटना भएका छन् । त्यसपछिको ठूलो संख्या लुम्बिनी प्रदेशमा रहेका छन् । गएको ३१ महिनायताको तथ्यांक विश्लेषण गर्दा यस्तो देखिएको हो ।

आर्थिक वर्ष ०७५/७६ देखि चालू आवको माघसम्ममा देशभर १६ हजार ५६ आत्महत्याका घटना भएका छन् । त्यसमध्ये तीन हजार तीन सय ८४ घटना प्रदेश १ मा भएका छन् । त्यस्तै, लुम्बिनीमा तीन हजार एक सय नौ र बागमती प्रदेशमा दुई हजार तीन सय ३९ आत्महत्याका घटना भएका छन् । प्रदेश २ मा दुई हजार ११ घटना भएका छन् । त्यस्तै, गण्डकीमा एक हजार पाँच सय ९८, सुुदूरपश्चिममा एक हजार चार सय ४१, काठमाडौं उपत्यकामा एक हजार चार सय र कर्णाली प्रदेशमा सात सय ७४ आत्महत्याका घटना भएका छन् ।

हिंसाले निराशा उत्पन्न गर्छ त्यसको असर मनोविज्ञानमा पर्छ : डा. टीकाराम गौतम, सहप्राध्यापक त्रिभुवन विश्वविद्यालय
हिंसाका कारण पीडितले जीवन जिउने आधार देख्दैन । जीवनबाट ऊ निराश बन्न पुग्छ । त्यसपछि आत्महत्याको बाटो समात्छ । आर्थिक अवस्था नाजुक हुनु, बेरोजगार हुनु, जीवनबाट असन्तुष्ट हुनु पनि आत्महत्याका कारण हुन् । 

आत्महत्यामा कहीँ न कहीँ घरेलु हिंसा जोडिएको हुन्छ : वसन्त कुँवर, एसएसपी प्रवक्ता, नेपाल प्रहरी

आत्महत्याका घटना प्रत्येक वर्ष बढ्दै गएका छन् । घटनाको कारण खोतल्दै जाँदा कहीँ न कतै घरेलु हिंसा देखिन्छ । त्यसबाहेकका कारण पनि हुन्छन्, तर मुख्य कारण घरेलु हिंसा नै हो । हाम्रो अनुभवले त्यही भन्छ । अब यसका कारणहरू खोजिनु जरुरी छ ।