भारतको आर्थिक सहयोगमा चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण सुरु भएको छ । विद्यालयको पुनर्निर्माणका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सोमबार भूमि पूजन गरेका छन् ।
कार्यक्रममा भारतीय दूतावासको पुनर्निर्माण तथा विकास सहकार्य प्रभागका प्रमुख डा. प्रफुल्लचन्द्र शर्मा र चन्द्रागिरी नगरपालिकाका मेयर उपस्थित थिए । शिक्षाको क्षेत्रमा भारत सरकारले प्रदान गरेको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत निर्माण हुन लागेको यो ६८औँ विद्यालय हो ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)का परियोजना निर्देशक, भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय सामुदायिक सदस्य तथा विद्यालयका विद्यार्थीको पनि उपस्थिति थियो ।
६ करोड ४९ लाखमा पुनर्निर्माण हुन लागेको विद्यालय नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्डअनुरूप निर्माण हुनेछ । शैक्षिक, प्रशासनिक तथा प्रयोगशाला र पुस्तकालय गरी अब बन्ने नयाँ संरचनामा तीनवटा ब्लक हुनेछन् । जसमा १३ वटा कक्षाकोठा, परीक्षा हल, प्रयोगशाला कक्ष, कम्प्युटर कक्ष, पुस्तकालय, विद्यालय व्यवस्थापन समितिका लागि कक्ष, प्रशासनिक कक्ष र छात्र तथा छात्राका लागि छुट्टा–छुट्टै सरसफाइ संरचनाको सुविधा रहनेछन् ।
यी विद्यालयको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबिआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सिबिआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतको शीर्ष संस्थानको रूपमा परिचित छ ।
०७२ को भूकम्पले क्षति पु¥याएका नेपालका आठ जिल्लाका कूल ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण गर्ने हेतुले भारत सरकारले ५० मिलियन अमेरिकी डलर (करिब नेरु. ५.८ अर्ब) आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।