मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण २१ शुक्रबार ०७:२९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सम्झना हत्या प्रकरण : न्याय दिलाउन आन्दोलनको नेतृत्व गरेका खत्री नै हत्या आरोपी

Read Time : > 2 मिनेट
२०७७ फाल्गुण २१ शुक्रबार ०७:२९:००

हत्या गरिएकी सम्झना र रूखमा झुन्डिएको अवस्थामा फेला परेकी सम्झनाकी सासूलाई न्याय दिलाउन भन्दै आन्दोलनको नेतृत्व गरिरहेका खत्री नै हत्यामा संलग्न रहेको प्रहरीको भनाइ

गुल्मीको रेसुंगा नगरपालिका–३ की २१ वर्षीया सम्झना बोहराको हत्यामा संलग्न भएको आरोपमा स्थानीय ४७ वर्षीय लालबहादुर खत्रीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । सम्झना गत २९ माघमा बेपत्ता भएकी थिइन् । १७ फागुनमा घरनजिकै बीभत्स हत्या गरेर फालिएको अवस्थामा बोहराको शव फेला परेको थियो । सोही दिन प्रहरी नियन्त्रणमा रहेका बोहराका ससुरासमेत पर्ने खत्रीले प्रहरीसमक्ष हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए । अहिले हत्या मात्रै स्वीकार गरेकाले थप अनुसन्धान भइरहेको पाण्डेयले बताए ।

प्रहरी भन्छ– अपराध लुकाउन आन्दोलन र न्यायको नाटक
आरोपी खत्रीले आन्दोलन र न्यायको नाटक गरेको प्रहरीको भनाइ छ । सम्झना बेपत्ता भएदेखि नै प्रहरीमा उजुरी दिने, परिवार उपस्थित गराउने र अनुसन्धानमा आरोपितको रोेहवर बस्नेलगायतका काममा खत्री सक्रिय थिए । उनले २ फागुनमा सम्झानाकी सासू ५२ वर्षीया टोमकला खत्री घरनजिक झुन्डिएको अवस्थामा फेला परेपछि घरघरमा पुगेर आन्दोलन गर्न गाउँलेलाई उचालेका थिए । पटक–पटक प्रहरी र प्रशासन कार्यालयमा दबाब र घेराउमा खत्री अग्रपंक्तिमा थिए । उनैले १७ फागुनमा गाउँमा शव गनायो भनेर प्रहरीलाई खबर गरेका थिए । तर, उनी प्रहरीको निगरानीमा पहिलेबाटै थिए । शंकास्पद थुप्रै गतिविधि र स्थानीयको सहयोगमा आफूहरूलाई सफलता मिलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए ।

सासूको बयानमाथि प्रहरीको आशंका
बुहारी बेपत्ता भएको दुई दिनपछि सासू झुन्डिएको अवस्थामा फेला परिन् । जब कि उनले मर्नुअघि २९ माघको राति घरमा तीनजना अपरिचित व्यक्ति आएका थिए । ती व्यक्तिले आफू र १४ महिने नातिलाई छुट्टै कोठामा थुने । ती व्यक्तिले मादक पदार्थ सेवन गरेर बुहारी सम्झना बोहरालाई लगेर गए । उनीहरूले कसैलाई भने ज्यान मार्ने धम्की दिए भनेर सासूले प्रहरीसमक्ष बयान गरेकी थिइन् । त्यो बयान झुट र प्रहरीको ध्यान अन्यत्र मोड्न र घटना अतिरञ्जित गर्न गरिएको आफूहरूको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए । 

‘सासूको बयान सब कथा मात्रै रहेछ, घटनामा संलग्न खत्री धेरै चतुर भएकाले प्रहरीलाई समेत गुमराहमा पारे,’ उनले भने, ‘घटनामा अहिलेसम्म लालबहादुर र मृतक खत्री संलग्न हुनुपर्छ ।’ अर्को व्यक्ति झुन्डिएर मरिसकेकाले बयानमा आरोपितले लगाउने दोषहरूको खोजी र पुष्टि गर्ने काम भइरहेको पाण्डेयको भनाइ छ ।

माइती पक्षविरुद्ध दुरुत्साहन मुद्दा
माइती पक्षले तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको भन्दै सम्झनाकी आमा दुर्गा बोहरा, बुबा हिरा बोहरा र ठूलीआमा मिठु बोहराविरुद्ध ज्वाइँ नेत्र खत्रीले २ फागुनमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरेका छन् । त्यसपछि घटनाले अर्को मोड लियो । तर, त्यो मुद्दा अहिले प्रक्रियामै छ । छोरी नै बेपत्ता थिइन् । आमा दुर्गा बोहरा क्यान्सरपीडित छिन् । तर, प्रहरीले तीनैजनालाई पक्राउ गर्‍यो । एक साता तीनैजनाले हिरासत भोगे । ‘गाउँकैले छोरी मारेर घरनजिकै फालेर उल्टै परिवारले प्रहरी हिरासत पुर्‍याए,’ बुबा हिराबहादुर बोहराले भने, ‘दैव र राज्य दुवैले अन्याय गर्‍यो ।’ 

तीन दिनपछि परिवारले बुझ्यो शव
हत्याआरोपी सार्वजनिक भएपछि परिवारले सम्झनाको शव बुझेको छ । परिवारले हत्याआरोपी सार्वजनिक नभएसम्म शव नबुझ्ने अडान लिएपछि तीन दिनदेखि सम्झनाको शव गुल्मी अस्पतालको शवगृहमा थियो । हत्यामा संलग्न सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासँग पीडित पक्षले छलफल गरेर शव बुझेका हुन् । पीडित पक्षले आफूहरूविरुद्ध लगाइएको दुरुत्साहनको झुटो मुद्दा अगाडि नबढाउन, बच्चाको पालनपोषणको उचित व्यवस्थापन गर्न प्रजिअ शर्माको ध्यानाकर्षण गराए । जवाफमा उनले घटना तोडमोड गर्न अपराधी बोकेर आफूविरुद्ध दुव्र्यवहार गर्ने कार्य निन्दनीय भएको बताउँदै कुनै दबाब र प्रभावमा अभियुक्त उम्कन नदिने प्रतिबद्धता व्यक्त गरिन् । 

पीडित पक्षको नेतृत्व गरिरहेका नेता गणेश श्रीपालीले अपमान र दुर्व्यवहार सहेर पनि संयम अपनाएर हत्यारा सार्वजनिक गर्न भूमिका खेलेको भन्दै प्रजिअ शर्माको प्रशंसा गरे । 

याे पनि पढ्नुहाेस् : १९ दिनदेखि बेपत्ता सम्झना मृत भेटिइन्