मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ फाल्गुण १९ बुधबार
  • Monday, 14 July, 2025
२o७७ फाल्गुण १९ बुधबार o६:१२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा किसानको गहुँबालीमा डोजर चल्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ फाल्गुण १९ बुधबार o६:१२:oo

सहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा रौतहटको मौलापुुरमा किसानको गहुँबालीमा डोजर लगाइएको छ । शिवरात्रिको मेला तथा सांस्कृतिक कार्यक्रम आयोजनास्थल बनाउन मन्त्री साहले गहुँबालीमा डोजर लगाउन निर्देशन दिएका हुन् ।

मन्त्रीको निर्देशनपछि सोमबार ना.१ग ८०५ नम्बरको डोजरले एक बिघा पाँच कट्ठा क्षेत्रफलमा लगाइएको गहुँबाली मैदान बनाइएको छ । डोजरले गहुँबाली फाँड्दै गर्दा केही किसान धरधरी रोइरहेका थिए । केही किसानले रगत–पसिना एक गरेर लगाएको बाली पाक्ने वेलामा मन्त्रीको निर्देशनमा नष्ट गरिँदा आफूहरूमाथि अन्याय भएको बताए । 

स्थानीय एक सञ्चारकर्मीले बनाएको भिडियोमा शिवकली देवी (५८)ले धुरुधुरु रुँदै आफ्नो ११ कट्ठा खेतमा लगाइएको गहुँबाली नष्ट गरिएको बताइन् । ‘यस वर्ष पहिलेभन्दा गहुँ राम्रो फलेको थियो । यस्तो वेला नगरपालिकाले गहुँमा डोजर लगाउँदा मेरो कलेजो च्यातिएजस्तो भइरहेको छ,’ रुँदै शिवकलीले भनेकी छिन् । उनका श्रीमान् कामेश्वर साहले ११ कट्ठा खेतमा लगाइएको गहुँबालीको १५ सय प्रतिकट्ठाका दरले क्षतिपूर्ति दिएर डोजर लगाइएको जानकारी दिए । 

मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले किसानलाई क्षतिपूर्ति दिएरै गहुँबालीमा डोजर लगाइएको बताए । ‘शिवरात्रिका अवसरमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने गरी मेला आयोजना गरिँदै छ । त्यसक्रममा पुरातात्विक महादेव मन्दिरमा भगवान् शिवको पूजा–अनुष्ठान गरिँदै छ,’ साहले भने, ‘त्यसका लागि क्षतिपूर्ति दिएरै स्थानीयको एक बिघा पाँच कट्ठा खेतमा लगाइएको बालीमा डोजर लगाइएको हो ।’

निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले ११ कट्ठामा लगाइएको गहुँ, १० कट्ठमा लगाइएको मुसुरो र चार कट्ठामा लगाइएको प्याज बालीको क्षतिपूर्ति दिइएको बताए । ‘गहुँको १५ सय प्रतिकट्ठा, मुसुरोको २५ सय प्रतिकट्ठा र प्याजको दुई सय प्रतिकट्ठाका दरले किसानलाई नगरपालिकाले पैसा दिएको छ,’ उनले भने । 

श्रीमान् मन्त्री, श्रीमती नगरप्रमुख
मौलापुर मन्त्री साहको गृहनगर हो । मन्त्री साहकी श्रीमती रिना साह मौलापुर नगरपालिकाकी प्रमुख हुन् । ‘मन्त्री साहले नै त्यहाँ रहेको पुरानो महादेव मन्दिरमा पूजापाठ गराउँदै आएका छन्, उनीहरू नै हर्ताकर्ता छन् । त्यसैले उनकै निर्देशनमा नगरपालिकाबाट किसानलाई क्षतिपूर्तिको नाममा केही रकम दिएर खेतमा डोजर लगाइएको हो,’ एक स्थानीयले भने । 

मन्त्री साहले भने आफूलाई बदनाम गराउन आफ्ना विरोधीले महिला रुँदै गरेको भिडियो बनाएर सामाजिक सञ्जालमा हालेको दाबी गरे । ‘पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले २७ फागुनमा पर्ने महाशिवरात्रिका वेला मेला आयोजना गर्न लागेको छ । सोही मेलाका लागि स्थानीयको खेतमा लगाएको बालीको क्षतिपूर्ति दिएर खेत सम्याउने काम भएको हो,’ नयाँ पत्रिकासँग कुरा गर्दै मन्त्री साहले भने, ‘मलाई बदनाम गराउन मेरा विरोधीले गलत प्रचार गरेका हुन्, यसमा मेरो संलग्नता छैन ।’

गत वर्षको फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएर साहले महादेव मन्दिरको प्रांगणमा मधानी महायज्ञ लगाएका थिए । त्यसवेला प्रमुख अतिथि रहेकी राष्ट्रपति भण्डारीले पशुपतिनाथ मन्दिरका मूलभट्टद्वारा मन्त्रोच्चारण गराई उक्त मन्दिरमा विशेष पूजा गरेकी थिइन् । यसपटक पनि राष्ट्रपतिलाई बोलाउने प्रयास गरिएको, तर समय टुंगो लाग्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । 

मेलामा नेपाली तथा भारतीय कलाकारलाई समेत बोलाइएको छ । शिवरात्रिको दिन भोजपुरी चर्चित अभिनेत्री अक्षरा सिंह तथा अभिनेता प्रदीप पाण्डे चिन्टुलगायत कलाकारले नृत्य प्रस्तुत गर्ने मौलापुर नगरपालिकाले जनाएको छ ।