मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण १८ मंगलबार १०:४०:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई जेल सजाय

Read Time : < 1 मिनेट
२०७७ फाल्गुण १८ मंगलबार १०:४०:००

न्यायाधीशलाई घुस दिने प्रयास गरेको आरोपमा फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई तीन वर्ष जेल सजाय भएको छ । दुई न्यायाधीशलाई घुस दिने प्रयास गरेको मुद्दामा दोषी ठहरिएपछि उनलाई जेल सजाय सुनाइएको हो । उनीमाथि लागेको विभिन्न मुद्दा सल्टाउने न्यायाधीशलाई प्रतिष्ठित कामको प्रस्ताव र आर्थिक प्रस्ताव गरेको अनुसन्धानमा देखिएको थियो ।

फ्रान्सको इतिहासमा भ्रष्टाचारको मुद्दामा जेल जाने सार्कोजी दोस्रो राष्ट्रपति हुन् । यसअघि मार्सल फिलिपेलाई पनि अदालतले जेल पठाएको थियो । नाजीलाई समर्थन गरेको आरोपमा उनी जेल बस्नुपरेको थियो । फैसला सुन्न सोमबार अदालत पुगेका सार्कोजीले मास्क गाएका थिए । अदालतमा सार्कोजी पूरै समय टाउको निहुराएर बसेका देखिन्थे । 

सार्कोजीमाथि मोबाइल फोनबाट गलत नाम प्रयोग गरी न्यायाधीशहरूको गोप्य सूचना बटुल्ने प्रयास गरेको आरोप छ । मुद्दालाई अर्के दिशातर्फ पुर्‍याउन सार्कोजीले न्यायाधीशहरू ६५ वर्षीय थिएरी हर्जोग र ७३ वर्षीय गिल्वर्ट अजिवर्टलाई घुस दिने प्रयास गरेका थिए । 

यसैबीच फ्रान्सको राष्ट्रिय वित्तीय अभियोजकको कार्यालय (पिएनएफ)ले सार्कोजी र दुई न्यायाधीशहरूले आ–आफ्नो करिअर अगाडि बढाउन भ्रष्टाचार सम्झौता गरेको आरोप लगाएको छ । अदालतको फैसलाविरुद्ध सार्कोजीका वकिलले पुनरावेदन गर्ने भएका छन् ।

पेरिसको अदालतले सार्कोजीलाई एक वर्ष घरमै जेलमा जस्तै गरी बस्नुपर्ने आदेश दिएको छ । घरमा रहँदा उनले इलेक्ट्रोनिक ट्याग लगाउनुपर्छ । ‘एक उच्च राजनीतिज्ञ तथा पूर्वराष्ट्रपतिले पक्कै पनि थाहा पाउनुपर्छ, मैले के गल्ती गरेँ भनेर,’ फैसलामा भनिएको छ, ‘एक उच्च तहमा पुगेका व्यक्तिले न्यायालयको निष्ठापूर्ण काममा बाधा मात्र पु¥याएनन्, घुसको प्रलोभनसमेत दिएका छन् ।’ अपराध लुकाउने तथा गोपनीयता भंग गर्ने काम गरेका कारण नै सार्कोजीलाई सजाय सुनाइएको ती न्यायाधीशले बताएका छन् । सर्कोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति थिए ।