मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण ३ सोमबार ०६:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन : भ्रष्टाचारविरुद्ध टुँडिखेलवरिपरि मानव साङ्लो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण ३ सोमबार ०६:२२:००

संसद् विघटनको राजनीतिक, संवैधानिक र कानुनी प्रतिवादमा उत्रेको नेकपाको प्रचण्ड–नेपाल समूहले चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । कोटेश्वर पेरिसडाँडास्थित कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरेर प्रचण्ड–नेपाल समूहले १५ फागुनसम्मका लागि आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 

यस अघि ठूला सभा र शक्ति प्रदर्शन गरेको नेकपाका प्रचण्ड–नेपाल समूहले यसपटक भने ‘सफ्ट’ खालका आन्दोलनको घोषणा गरेको छ । घोषित कार्यक्रम ५ फागुनदेखि १५ फागुनसम्म सञ्चालन हुने केन्द्रीय संघर्ष समितिले जनाएको छ । 
जसअनुसार प्रचण्ड–नेपाल समूहले ६ फागुनमा प्रतिगमन, महँगी र भ्रष्टाचारको विरोधमा टुँडिखेलवरिपरि मानव साङ्लो विरोध कार्यक्रम गर्ने भएको छ । त्यस्तै, ९ फागुनमा प्रतिगमन र महिला हिंसा, हत्या एवं बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम गर्नेछ ।

घोषित अन्य कार्यक्रमहरूमा ५ देखि १२ फागुनसम्म प्रदेश कमिटीहरूको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभालगायतका विरोध कार्यक्रम, ७ फागुनमा देशव्यापी पालिकाहरूमा वडास्तरीय विरोध कार्यक्रम रहेको छ ।

त्यस्तै, ७ देखि १५ फागुनसम्म संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन कार्यक्रम, ८ फागुनमा काठमाडौंमा प्रतिगमनविरुद्ध बृहत् अन्तक्र्रिया कार्यक्रम, १० फागुनमा उपत्यका र जिल्लाहरूमा दलित मोर्चाका तर्फबाट विरोध कार्यक्रम, ११ फागुनमा मधेसी, आदिवासी जनजाति, महिला, मुस्लिम, थारू, पिछडिएको क्षेत्रलगायतका उत्पीडित समुदायको सांस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम, १२ फागुनमा चितवन र २१ फागुनमा दाङमा र जनकपुर, नेपालगन्जलगायतका सहरहरूमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम रहेको छ ।

 त्यस्तै, १४ फागुनमा काठमाडौंमा युवा र्‍याली र १५ फागुनमा किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम आयोजना गरिने पनि संघर्ष समितिको विज्ञप्तिमा उल्लेख छ । 

संघर्ष समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनस्र्थापना नभए प्रधानमन्त्री केपी ओलीले घोषणा गरेको मितिमा निर्वाचन सम्पन्न नहुने र मुलुक अँध्यारो सुरुङको यात्रामा प्रवेश गर्ने बताए । ओलीले चुनाव नगर्नका लागि घोषणा गरेकाले प्रतिनिधिसभा पुनस्र्थापना भएपछि दुईवर्षपछि मात्र निर्वाचन आयोजना हुने पनि श्रेष्ठले प्रस्ट्याए ।