राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद् विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्नचिह्न खडा भएको बताएका छन् । पार्टीका जिल्ला अध्यक्षहरूसँग शुक्रबार आयोजित भर्चुअल बैठकमा थापाले संसद् विघटनले मुलुकमा संकट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताएका हुन् ।
नयाँ नेपाल निर्माण, आमूल परिवर्तन र आर्थिक समृद्धिको लक्ष्य बोकेर भएको परिवर्तनले जनतामा सकारात्मक परिवर्तन दिन नसकेको थापाको भनाइ छ । उनले जनता भ्रष्टाचार, कुशासन, धर्मपरिवर्तन, बेरोजगारी र सर्वसत्तावादको जाँतोमा पिसिनुपर्ने बाध्यात्मक अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताए। पार्टीको आगामी कार्यदिशा संगठन, जनसंघर्ष र महाधिवेशन भएको भन्दै थापाले पार्टी विभाजनको पीडा अब कहिल्यै भोग्नु नपर्नेसमेत स्पष्ट पारे ।
पार्टीको भविष्यप्रति निश्चिन्त हुन आग्रह गर्दै थापाले आफूसहित पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीले पवित्र धार्मिक ग्रन्थ ‘गीता’ छोएर पार्टी एकताको निमित्त प्रतिबद्ध भएकोले देश, जनता, प्रजातन्त्र र कार्यकर्ताको निमित्त राप्रपालाई मुलुककै बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाएर छाड्ने दृढतासमेत व्यक्त गरे। देशव्यापी संगठन सुदृढीकरण अभियानमा केन्द्रित हुन थापाको विशेष जोड थियो ।