प्रतिनिधिसभा विघटनविरुद्ध पूर्वी सीमान्त सहर काँकडभिट्टामा नागरिक अगुवाहरूले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी ओलीको गृहजिल्लामा असंवैधानिक कदमविरुद्ध प्रदर्शन भएको हो ।
ओलीको असंवैधानिक कदमविरुद्ध यो झापामा पहिलो नागरिक आन्दोलन हो । काँकडभिट्टा बजार परिक्रमा गरेको प्रदर्शनमा ‘संविधानलाई कुल्चेर, नैतिकतालाई बिर्सेर, चुट्किला अझै जारी छ, जनतालाई दुःखको भारी छ’लगायतका नारा लागेको थियो । प्रदर्शनमा पेसाकर्मी, नागरिक समाज, कलेजका विद्यार्थी तथा युवाको सहभागिता रहेको थियो ।
प्रदर्शनपछि भएको कोणसभामा युवा अभियन्ता सागर सिवाकोटीले यो आन्दोलन कसैका विरुद्ध नभई प्रतिगमनका विरुद्ध भएको बताए । ‘यो आन्दोलन कुनै व्यक्तिका विरुद्ध होइन । कसैलाई पदमा पु¥याउन पनि होइन । न त कुनै दलको पक्षमा न त विपक्षमा नै हो,’ उनले भने, ‘यो आन्दोलन त प्रतिगमन र असंवैधानिक कदमको विरुद्धमा हो ।’
उनले प्रतिगमनविरुद्ध एक हुनुको विकल्प नरहेको बताए । पूर्वबाट आन्दोलन उठ्नु सुखद भएको उनको भनाइ थियो ।
कोणसभामा अभियन्ता संस्कृति रिजालले जनताले दशकौँ लडेर ल्याएको परिवर्तनलाई प्रधानमन्त्री ओलीले उल्टाउन खोजेको आरोप लगाइन् । यसका विरुद्ध पार्टीभन्दा माथि उठेर लड्नुपर्ने उनको भनाइ थियो ।