१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ १५ बिहीबार
  • Friday, 05 July, 2024
२o७७ माघ १५ बिहीबार o९:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

राजनीतिसँगै कृषिमा आधुनिक प्रविधि अपनाउँदै गंगाबहादुर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ १५ बिहीबार o९:१९:oo

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– २ सोल्माका गंगाबहादुर विश्वकर्माले राजनीतिसँगै आधुनिक प्रविधि अपनाएर कृषि व्यवसाय गर्दै आएका छन् । नगर कार्यपालिकाका सदस्य रहेका विश्वकर्माले परम्परागत कृषि पेसालाई निरुत्साहित गर्दै गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको कृषि व्यवसाय सुरु गरेका छन् ।  

खोटाङ कृषि फार्म स्थापना गरेर व्यावसायिक रूपमा कृषि पेसा अपनाउँदै आएका  विश्वकर्माले उच्च गुणस्तर भएका तरकारी उत्पादन गर्ने उद्देश्यले ४२ लाख रुपैयाँको लागतमा एकैसाथ चारवटा हाइटेक निर्माण गरेका छन् । प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्र खोटाङको ३२ लाख र खोटाङ कृषि फर्मको दश लाखमा फरकफरक आकारको चारवटा हाइटेक एकैसाथ निर्माण गरेर व्यावसायिक तरकारी खेती सुरु गरेका हुन् ।  

नगरपालिकाले सुरु गरेको प्रांगारिक कृषि अभियान कार्यक्रमअन्तर्गत तरकारी, नर्सरी तथा च्याउ उत्पादन गर्ने गरी फरक–फरक आकारमा चार हाइटेक निर्माण गरिएको फार्मका प्रबन्धक विश्वकर्माले बताए । जिआइ पाइप र युवी प्लाष्टिक प्रयोग गरेर बनाइएको हाइटेकमा उत्पादित तरकारी र च्याउ दिक्तेलबजार लगायत राजधानी काठमाडौंमा समेत खपत गराउने लक्ष्य छ । 

 

पाँच वर्षभित्र अर्गानिक नगर बनाउने अभियान चलाइरहेको नगरपालिकामा युवा किसान विश्वकर्माले गोलभेँडा, अकबरे खुर्सानी, बन्दा, काउली, काँक्रो, गाँजरलगायत विभिन्न प्रजातिका तरकारी खेती सुरु गरेका छन् । प्रांगारिक कृषि अभियान कार्यक्रमअन्तर्गत विश्वकर्माले आधुनिक बंगुर खोर तथा भकारो सुधार, च्याउको ब्राेइलर मेसिनसहितको घर निर्माण गरेका छन् । 

जनताको काम गरेर बचेको समय उपयोग गर्दै तरकारी, माछा, फलफूल खेती गर्दै आएका विश्वकर्माले स्थानीय दुई युवालाई रोजगारीसमेत दिएका छन् । विश्वकर्माको कृषि फार्ममा कामदारसँगै श्रीमती सरिता राई (विश्वकर्मा)ले समेत पूर्ण रूपमा साथ दिने गरेकी छिन् । 

विश्वकर्माले आफ्नै फार्ममा गँड्यौला मल र जैविक विषादी उत्पादनको तयारीसमेत गरेका छन् । ‘अन्य मलको तुलनामा गँड्यौला मलले बढी उत्पादन दिनुका साथै गुणस्तरीयसमेत हुन्छ,’ विश्वकर्माले भने, ‘आधुनिक प्रविधि अपनाएर कृषि पेसा गर्दा कम मिहिनेतमा बढी आम्दानी लिन सकिन्छ ।’ जिल्लाका अगुवा कृषकसमेत घोषित भएका विश्वकर्माले उत्पादन गरेका कृषि उपज जिल्लाका विभिन्न ठाउँ तथा बाहिरी जिल्लासमेत निर्यात हुने गरेको छ ।  
 

ad
ad
ad
ad