![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/mount-ktu2021-01-26-01-04-16.jpeg)
विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु (पाकिस्तान)को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने नेपाली आरोहीहरू स्वदेश फर्किएका छन् । निर्मल पुर्जासहितको १० सदस्यीय नेपाली टोली विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर मंगलबार स्वदेश फर्किएकाे हाे ।
उनीहरूले माघ ३ गते माउन्ट केटुको सफल आरोहण गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले त्रिभुवन विमानस्थलमा आरोहीहरूलाई स्वागत गर्दै आरोहीहरूले नेपालको उच्च शिरलाई पुनः अन्तर्राष्ट्रिय जगतमा राख्न सफल भएको बताए ।
नेपालीहरू हरेक हिमाल चढ्न सक्छन् भन्ने उजागर भएको उनकाे भनाइ छ । यसले वर्तमान समयमा नेपालका आठ हजार मिटरमाथिका हिमालहरू आरोहण गर्न आउने पर्यटकलाई पनि प्रोत्साहन मिलेको बताए ।
आरोही निर्मल पुर्जाले आफूहरूले माउन्ट केटु हिमालको सफल आरोहण गरी विश्वलाई ठूलो शन्देश दिएको बताए । समूहमा काम गरे कुनै कुरा पनि असम्भव छैन भन्ने सन्देश दिएको उनको भनाइ छ ।
माउन्ट केटुमा अहिलेसम्म हिउँद याममा कसैले पनि सफल आरोहण गर्न नसकेको अवस्थामा नेपालीहरूले सफल आरोहण गरी नेपालीको नाम राखेको आरोही मिङ्मा शेर्पाले बताए । हिमाल आरोहीहरूको निम्ति ठूलो उपलब्धि भएको पनि उनले बताए । आरोहीहरूले आरोहणको क्रममा पाकिस्तानी सरकार र जनताबाट राम्रो साथ सहयोग पाएको बताएका छन् ।