कोभिड–१९ का कारण गत चैतमा बन्द भएका काठमाडौं महानगरपालिकाभित्रका शैक्षिक संस्था खोल्ने निर्णय भएको छ । कोरोना कारण बन्द भएको ११ महिनामा महानगरका सबै विद्यालय खुलेका छन् ।
काठमाडौं उपत्यकाका अधिकांश विद्यालय तथा कलेजहरू सञ्चालनमा आउन थालेपछि काठमाडौं महानगरले सोमबारदेखि विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकाका छेउछाउका र उपत्यका बाहिरका स्थानीय तहले केही महिनाअघि नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए । कोरोनाको उच्च जोखिममा रहेको भन्दै काठमाडौं महानगरले शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गर्न सकेको थिएन । अहिले भने विद्यालयको दबाब परेपछि खोल्ने निर्णय गर्न बाध्य भएको हो ।
काठमाडौं महानगरका नवनियुक्त शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले सरकारले तोेकेको स्वास्थ्य मापदण्ड अपनाएर शैक्षिक संस्था सञ्चालन गर्न सक्ने निर्णय गरेको बताए । ‘पहिले पुस मसान्तसम्म शैक्षिक संस्था नखोल्ने भन्ने थियो । माघयता केही विद्यालय सञ्चालन गरेको पनि पाइएको थियो,’ शिक्षा विभाग प्रमुख सुवेदीले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर स्वव्यवस्थापनमा शैक्षिक संस्था चलाउने निर्णय भयो, विद्यालय खोल्न केही ढिला भए पनि सिकाइ पूरा गर्न सकिन्छ ।’
विद्यालय खुलेपछि विद्यार्थी उत्साहित
झन्डै ११ महिनामा विद्यालय खुलेपछि कक्षाकोठामा विद्यार्थीको उत्साहजनक सहभागिता छ । कतिपय कक्षामा शतप्रतिशत विद्यार्थी उपस्थित भइरहेका छन् । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले तल्लो कक्षादेखि माथिल्लोसम्म विद्यार्थीको उपस्थिति निकै उत्साहजनक रहेको बताए । ‘कक्षा ११ र १२ को साइन्समा शतप्रतिशत विद्यार्थी आएका छन्,’ प्रधानाध्यापक कँडेलले भने, ‘तल्ला कक्षामा अभिभावकले विद्यार्थी पठाउन अप्ठ्यारो मान्नुहुन्छ कि भन्ने लागेको थियो, तर विद्यार्थी उत्साहित भएर पढ्न आएका छन् ।’ ४ माघदेखि विश्वनिकेतनले स्वास्थ्य मापदण्ड अपनाएर पूर्ण रूपमा विद्यालय सञ्चालन गरेको छ । कक्षा १–३ सम्म भने मंसिरदेखि नै कक्षा सञ्चालन गरेको थियो ।
महानगरभित्रकै पद्मोदय माविमा पनि विद्यार्थीको उपस्थिति निकै राम्रो छ । लामो समय कक्षाकोठामा आउन नपाएका, घर बस्दा पीडा महसुस गरेका विद्यार्थी विद्यालय खुल्नेबित्तिकै निकै उत्साहित भएर पढ्न आएको पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतमले बताए । प्रधानाध्यापक गौतमले भने, ‘विद्यालय आउन पाउँदा विद्यार्थीमा कोभिड–१९ को खासै डर देखिएको छैन, हामीले स्वास्थ्य सावधानी अपनाएर कक्षा सञ्चालन गरेका छौँ ।’ पद्मोदयले अहिले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कक्षा सञ्चालन गरिरहेको छ ।
काठमाडौं छेउछाउका विद्यालयमा धमाधम पढाइ
कोरोनाको जोखिम कायमै भए पनि सुरक्षा अपनाएर काठमाडौं उपत्यकाका छेउछाउलगायत देशभरका स्थानीय तहमा विद्यालय केही महिनाअघिदेखि सञ्चालन भएका थिए । वैकल्पिक विधिबाट सञ्चालन भएका कक्षा प्रभावकारी नभएपछि सामाजिक दूरी कायम गरी थोरै संख्याको समूह र सिफ्टमा विद्यालय सञ्चालन हुँदै आएका छन् । विद्यालय सञ्चालन कार्यढाँचा नआउँदै काठमाडौंबाहिर पनि सहरी क्षेत्रबाहिरका विद्यालय धमाधम सञ्चालन भएका हुन् ।
गत ६ चैतदेखि बन्द भएका विद्यालयमा स्थानीय तहको निर्णयमा थोरै संख्यामा विद्यार्थी उपस्थित गराएर ‘फेस टु फेस’ कक्षा सञ्चालन भएका थिए । काठमाडौंमै केही स्थानीय तहले निर्णय गरेर नै विद्यालय सञ्चालन गरेका छन् । अनलाइनको पहुँच नभएको र वैकल्पिक विधि पनि प्रभावकारी नभएपछि अभिभावकको सहमति लिएर विद्यालय सञ्चालन गरेका हुन् ।
काठमाडौं उपत्यकाभित्रै पनि कागेश्वरी मनहरा, शिवपुरी, गोकर्णेश्वर, शंखरापुर, चन्द्रागिरिलगायत नगरपालिकामा महिनौँअघिदेखि सानो समूहमा कक्षा सञ्चालन गरिएको थियो । अहिले अधिकांशले पूर्ण रूपमा विद्यालय सञ्चालन गरेका छन् ।
कोभिड–१९ का कारण बन्द रहेका विद्यालय नियमित सुचारु गर्ने वा बन्द गर्ने विषयमा स्थानीय तहले निर्णय गर्न सक्ने व्यवस्था सरकारले गरेको थियो । शिक्षा मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गरी कोभिडको अवस्था मूल्यांकन गरी स्थानीय तहबाटै विद्यालय खोल्ने वा बन्द गर्न सक्ने व्यवस्था गरेपछि धेरै विद्यालय सञ्चालन हुन थालेका थिए ।