ठूला–साना गरी देशभर १६ सय जुत्ता–चप्पल उद्योग सञ्चालनमा, तर क्षमताको ३५ प्रतिशत मात्रै उत्पादन
देशभित्रै गुणस्तरीय जुत्ताको सोल उत्पादन गर्दै आयात प्रतिस्थापन गर्ने लक्ष्यका साथ तीन वर्षअगाडि नवलपरासीको रामग्राममा ३५ करोड लगानीमा एक्सन पोलिमर्स (मिलानो फुटवेयर्स) उद्योग स्थापना भयो । मासिक २ लाख जोर पियू सोल उत्पादन गर्ने उद्योगको उत्पादन भारतको बाटा, उडल्यान्डजस्ता ब्रान्डले खरिद गरिरहेको सञ्चालक राजेश अग्रवालले बताए । सोल बनाउन अधिकांश कच्चा पदार्थ विदेशबाटै आयात गर्नुपर्ने बाध्यता छ । उनका अनुसार नेपाली सोल प्रतिकिलो (पाँच जोर) साढे ६ सयमा निर्यात भइरहेको छ । तर, नेपालमा विदेशी तयारी सोल भन्सार बिन्दुमा डेढ सय मूल्यांकन भएर भित्रिरहेको छ ।
सरकारले सोल बनाउने कच्चा पदार्थ र तयारी सोलको भन्सार दर एउटै (१० प्रतिशत) तोकेको छ । ‘एकातिर सोलको कच्चा माल र तयारी मालको भन्सार दर एउटै छ, त्यसमाथि तयारी सोल अत्यन्तै कम मूल्यांकनमा भित्रिरहेका छन्,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा स्वदेशी उद्योगले न्यून बिजकीकरण भएर भित्रिएका मालसँग कसरी प्रतिस्पर्धा गर्न सक्छ ।’
सरकारले सोललाई तयारी माल नमानेर जुत्ता–चप्पल बनाउने कच्चा पदार्थमा वर्गीकरण गरेको छ । सोल बनाउन पनि कच्चा पदार्थ प्रतिकिलो ४ सयमा आयात गर्नुपर्छ । तयारी सोल र कच्चा पदार्थको भन्सार फरक–फरक तोकेर सुविधा दिएमा मुलुक सोलमा आत्मनिर्भर हुनुका साथै ठूलो परिमाणमा निर्यात पनि गर्न सकिने उनको भनाइ छ ।
नेपालमा जुत्ता–चप्पल उत्पादनमा लाग्ने खर्चमध्ये ५० देखि ७५ प्रतिशत हिस्सा कच्चा पदार्थको हुन्छ । अहिले उद्योगहरूले जुत्ता–चप्पल बनाउन ७५ देखि ९० प्रतिशतसम्म कच्चा पदार्थ विभिन्न मुलुकबाट आयात गर्दै आइरहेका छन् । नेपालमा भित्रिने तयारी जुत्ता–चप्पलको भन्सार दर ३० प्रतिशत र कच्चा पदार्थको भन्सार दर १५ प्रतिशतसम्म छ । तर, विदेशबाट निकै कम मूल्यांकनमा तयारी जुत्ता–चप्पल भित्रिने कारण स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्नैै नसक्ने अवस्था आएको व्यवसायीहरू बताउँछन् । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अनुसार भन्सार बिन्दुबाट सय रुपैयाँभन्दा कम मूल्यांकन भएर तयारी जुत्ता–चप्पल भित्रिरहेका छन् ।
भन्सार बिन्दुमा हुने न्यून बिजकीकरण र चोरी–पैठारीका कारण नेपाली जुत्ता–चप्पल उद्योग संकटमा पर्दै गइरहेका छन् । भारतसँग खुला सिमानाको फाइदा उठाउँदै जुत्ता–चप्पल र सोल चोरी–पैठारी पनि भइरहेको छ । सरकारले पनि कच्चा पदार्थ र तयारी मालको सही पहिचान गरी वैज्ञानिक भन्सार दर कायम गर्न चुकेको अग्रवाल गुनासो पोख्छन् । विदेशबाट अनधिकृत रूपमा सस्तो मूल्यका तयारी जुत्ता–चप्पल भित्रिँदा स्वदेशी उद्योगहरू ३५ प्रतिशत क्षमतामा मात्र सञ्चालन गर्न बाध्य भइरहेको नेपाल जुत्ता–चप्पल उत्पादक संघको भनाइ छ ।
संघको प्रतिवेदनअनुसार अहिले मुलुकमा ठूला, मझौला, साना र लघु उद्यम गरी करिब १६ सय जुत्ता–चप्पल उद्योग सञ्चालनमा छन् । यी उद्योगहरूको वार्षिक उत्पादन क्षमता १६ करोड जोरभन्दा बढी छ । एकजनाले वर्षमा औसत तीन जोर जुत्ता–चप्पल लगाउँदा पनि वार्षिक खपत ९ करोड जोर हुन आउँछ । गत वर्ष करिब ६ करोड जोर जुत्ता–चप्पल उत्पादन भएको संघको अनुमान छ । स्वदेशी उत्पादनले कुल मागको दुईतिहाइ हिस्सा ओगट्न सफल भएको संघको तथ्यांक छ ।
न्यून बिजकीकरण र चोरी–पैठारी
स्वदेशी जुत्ता उद्योगको सबैभन्दा ठूलो चुनौती न्यून बिजकीकरण र चोरी–पैठारी भएर भित्रिने वस्तुसँग प्रतिस्पर्धा गर्नु हो । भारतसँग खुला सिमानाका कारण ठूलो परिमाणमा भन्सार छलीका जुत्ता–चप्पल नेपाल भित्रिन्छन् । भन्सार तिरेका पनि तयारी जुत्ता–चप्पल र सोल पनि अत्यन्तै न्यून बिजकीकरण गरेर भित्रिने गरेको व्यवसायी बताउँछन् ।
आर्थिक वर्ष ०७६/७७ को ११ महिनामा २ करोड १५ लाख ५२ हजार जोर जुत्ता–चप्पल भित्रिएका थिए । जसमध्ये ५ लाख ४६ हजार जोर (२.५३ प्रतिशत) जुत्ता–चप्पल १ सय रुपैयाँभन्दा कम मूल्यांकन भएका छन् । यस्तै, १ सयदेखि २ सय रुपैयाँ मूल्यांकनमा १ करोड ६ लाख ८६ हजार जोर जुत्ता–चप्पल भित्रिएको देखिन्छ । यो भनेको कुल आयातको ४९.५८ प्रतिशत हो ।
२ सय १ देखि ४ सय रुपैयाँ मूल्यांकनमा २३.२९ प्रतिशत अर्थात् ५० लाख २० हजार जोर भित्रिएका छन् । ४ सय १ रुपैयाँभन्दा माथिको मूल्यांकनमा ५३ लाख जोर जुत्ता–चप्पल भित्रिएको संघको विवरणमा उल्लेख छ । भन्सार विभागको तथ्यांकअनुसार आव ०७४÷७५ मा विदेशबाट ३ करोड ७८ लाख १८ हजार जोर जुत्ता–चप्पल भित्रिएका थिए । जसमध्ये १ सय रुपैयाँ मूल्यांकनमा ३ करोड जोर भित्रिएको तथ्यांक छ । यो कुल आयातको ७९.३५ प्रतिशत हुन आउँछ ।
तयारी वस्तु र कच्चा पदार्थको भन्सार
नेपालमा जुत्ता–चप्पल उत्पादनका लागि चाहिने कच्चा पदार्थ थाइल्यान्ड, जापान, कोरिया, सिंगापुर, भारत, नेदरल्यान्ड, चीन, ताइवानलगायतका मुलुकबाट आउँछ । धेरै कच्चा पदार्थ छिमेकी मुलुक भारत र चीनबाट आउँछ । संघका अनुसार जुत्ता–चप्पलमा प्रयोग गरिने छालाको भन्सार १० प्रतिशत कायम छ भने अन्य सहायक कच्चा पदार्थको भन्सार १५ प्रतिशतसम्म छ । संघले जुत्ता–चप्पल र छालाजन्य वस्तुमा प्रयोग गरिने कच्चा पदार्थको भन्सार बढीमा ५ प्रतिशत कायम गर्न माग गरेको छ ।
तयारी मालको तुलनामा कच्चा पदार्थमा लाग्ने भन्सार महसुल १५ प्रतिशत कम हुनुपर्ने अग्रवाल बताउँछन् । त्यस्तै, तयारी चप्पलको भन्सार मूल्यांकन प्रतिजोर न्यूनतम ५ सय, स्पोर्टस् सुजको न्यूनतम मूल्यांकन १५ सय, कपडाको जुत्ताको न्यूनतम मूल्यांकन १ हजार र लेदर सुजको न्यूनतम मूल्यांकन १५ सय हुनुपर्ने माग राख्दै आएको छ । विदेशबाट जुत्ता–चप्पल एलसीमार्फत मात्रै आयात गर्न पाउने व्यवस्था गर्न पनि संघको माग छ ।
स्वदेशी कच्चा पदार्थको उपलब्धता
देशभित्रै पनि कच्चा पदार्थ उत्पादन गर्न सकिने व्यवसायीहरू बताउँछन् । यसका लागि वीरगन्जमा रहेका ९ वटा र विराटनगरका ४ वटा छाला प्रशोधन केन्द्रहरूलाई स्तरोन्नति गर्नुपर्ने उनीहरूको भनाइ छ । नेपालमै पाइने प्रकृतिक रेसाहरूको प्रयोगलाई बढाएर पनि विदेशी कच्चा पदार्थको आयात घटाउन सकिन्छ । अझ रेसाबाट बनेका जुत्ताको विदेशमा माग पनि बढी रहेको बताइन्छ ।
नेपालबाट वार्षिक निर्यात हुने अर्ध–प्रशोधित छालाको निर्यात रोकी नेपालमै पूर्ण प्रशोधन गरेमा त्यसबाट ५० हजार जोर छालाका जुत्ता उत्पादन गर्न सकिने संघले ठहर गरेको छ । यस्तै, नेपालमा रहेका बाख्रा, भेडाको छाला प्रशोधन गर्न सकेमा ६ करोडभन्दा बढी जोर जुत्ता उत्पादन गर्न सकिने एसोसिएसनको दाबी छ । अब स्वदेशमै कच्चा पदार्थ उत्पादनतर्फ राज्यले प्रोत्साहन गर्नुपर्ने व्यवसायीको जोड छ ।
सोल उत्पादनको अवस्था
नेपालमा जुत्ता–चप्पलका सोललाई कच्चा पदार्थका रूपमा हेरिए तापनि अहिले देशभित्रै विभिन्न प्रकारका गुणस्तरीय सोल उत्पादन गर्ने उद्योग खुलेका छन् । उच्चस्तरको पियू सोल उत्पादन गर्ने उच्च प्रविधिको मेसिनजडित उद्योगहरू पनि सञ्चालनमा आइसकेका छन् । नेपालमा तीन प्रकारको पियू, पिभिसी र रबर सोल उत्पादन हुन्छ । संघका अनुसार यी सबै प्रकारको सोलमा देश आत्मनिर्भर बन्न सक्छ । पियू सोल उत्पादन गर्ने उद्योगको जडित क्षमता अत्यन्त धेरै भए पनि अहिले मासिक ३० हजार जोर आन्तरिक खपत र मासिक ६० हजार जोर भारतमा निर्यात भइरहेको छ । अब सोल एक निर्यातमूलक उद्योगका रूपमा विकास भइसकेको छ । अग्रवाल भन्छन्, ‘नेपालबाट पियू सोलको राम्रो निर्यात सम्भवना छ ।’ पिभिसी र रबर सोलको उत्पादन पनि ठूलो भोल्युममा भइरहेको र आन्तरिक खपत भइरहेको छ ।
सोल र कच्चा पदार्थको भन्सार मूल्यांकन एउटै हुनु र तयारी सोल निकै न्यून मूल्यांकनमा भित्रिँदा स्वदेशी उद्योग मारमा परेको अग्रवाल बताउँछन् । आयातलाई निरुत्साहित गर्न पियू सोलको भन्सार मूल्यांकन प्रतिजोरमा न्यूनतम ५० रुपैयाँ कायम गरी भन्सार दर तयारी वस्तुसरह ३० प्रतिशत कायम गरिनुपर्ने संघको माग छ ।
सवा २ अर्बको आयात, ३८ करोडको निर्यात
अहिले पनि गोल्डस्टार, मिलानोलगायतका केही ब्रान्डले भारतसहित विभिन्न मुलुकमा निर्यात गर्दै आइरहेका छन् । भारतमा गोल्डस्टार लोकप्रिय ब्रान्ड बनिसकेको छ । मिलानो फुटवेयरका सोलहरू इन्डियाका बाटा, उडल्यान्डजस्ता चर्चित ब्रान्डले प्रयोग गर्छन् । तर, अहिले जुत्ता–चप्पलको निर्यात नगण्य नै देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको पहिलो ५ महिनामा ३८ करोड ५५ लाख रुपैयाँबराबरको जुत्ता–चप्पल निर्यात भएको छ ।
जबकि, सोही अवधिमा २ अर्ब ९ करोड ५५ लाख मूल्यबराबरको जुत्ता–चप्पल आयात गरिएको छ । आव ०७६/७७ मा ५ अर्ब ५५ करोडको जुत्ता–चप्पल आयात गरिँदा ७५ करोडको मात्र जुत्ता–चप्पल निर्यात भएको देखिन्छ । आव ०७४/७५ मा भारतमा मात्रै १ अर्ब २४ करोड ७६ लाखको जुत्ता–चप्पल निर्यात भएको थियो । पछिल्लो समय जुत्ता–चप्पल निर्यात घट्दै गइरहेको देखिन्छ ।