![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/bidhya2019-04-24.jpeg)
जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६)मा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेलायतले निम्ता दिएको छ । कोभिड–१९ का कारण रोकिएको सम्मेलन आगामी १५–२६ कात्तिकमा बेलायतको ग्लाजगो सहरमा हुन लागेको छ ।
बेलायतले यस सम्मेलनमा राष्ट्रप्रमुखस्तरको सहभागिताका लागि नेपालसँग अनुरोध गरेको छ । ‘बेलायतमा कात्तिकमा हुने सम्मेलनमा सकभर राष्ट्रपतिको उपस्थिति होस् भन्ने बेलायतले चाहेको छ,’ राष्ट्रपति कार्यालय स्रोतले नयाँ पत्रिकासँग भन्यो । नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले यही साता राष्ट्रपतिसँग यसबारे छलफल गरेकी छिन् ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूसहित भएको छलफलमा राष्ट्रपति भण्डारीले यसका लागि आफू सकारात्मक रहेको बताएकी छिन् । नेपालले त्यसअघि नै जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सगरमाथा संवादको आयोजना गर्ने तयारी गरेको छ ।