१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १० शनिबार ०९:०२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पुलिसको पहिलो जित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १० शनिबार ०९:०२:००

नेपाली पुलिस क्लबले महिला राष्ट्रिय फुटबल लिगमा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा पुलिसले उदयपुरको चौदण्डी नगरपालिकालाई ६–० को फराकिलो अन्तरले हराएको हो । पुलिसको यो दोस्रो खेल हो । पुलिसको सानदार जितमा रेखा पौडेल र सिर्जना खड्काले दुई–दुई गोल गरेका थिए । पुलिस प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो । जितसँगै पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ । पुलिस शीर्ष स्थानमा छ । एपिएफ तीन अंकका साथ दोस्रो स्थानमा छ । 

चौदण्डीले महिला राष्ट्रिय लिगमा हारबाट यात्रा सुरु गरेको छ । पुलिसका लागि अमृता जैसी तथा निर्मला विकले एक–एक गोल गरे । खेलको २७औँ मिनेटसम्म अनुभवी टोली चौदण्डीले बलियो पुुलिसलाई रोकेको थियो । तर, खेलको २८औँ मिनेटमा रेखाले पुलिसलाई १–० को अग्रता दिलाइन् । पुलिसले अग्रता गोल गरेसँगै खेलमा पकड जमायो । निरन्तर रूपमा पुलिसले चौदण्डीको रक्षापंक्ति तोड्दै गयो । खेलको ४१औँ मिनेटमा अमृताले पु्लिसलाई २–० को अग्रता दिलाइन् । खेलको ४५औँ मिनेटमा सिर्जनाले पुलिसको अग्रता ३–० सम्म पुर्‍याइन् । 

अधिकांश समय बल पोसेसन बनाएको पुलिसले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्‍यो । पहिलो हाफको इन्जुरी समयमा पुलिसले थप एक गोल गर्दा चौदण्डी ४–० ले पछि परिसकेको थियो । यसपटक निर्मलाले गोल गरिन् । दोस्रो हाफमा चौदण्डीले आक्रामकभन्दा पनि रक्षापंक्ति रणनीति अपनाएको थियो । जसका कारण पुलिसले मध्यान्तरपछि पहिलो हाफको जस्तो प्रदर्शन गर्न सकेन । मध्यान्तरपछि पुलिसले केवल दुई गोल थप्यो । 

दोस्रो हाफमा चौदण्डीले पुलिसका खेलाडीलाई गोल गर्न खुला अवसर दिएनन् । पुलिसका खेलाडी भने बारम्बार चौदण्डीको डि–बक्सभित्र प्रवेश गरे पनि खेलको ८९औँ मिनेटमा मात्र गोल गरेको थियो । रेखाले व्यक्तिगत दुई गोल गर्दा पुलिसले ५–० को अग्रता बनायो । खेलको अन्तिम इन्जुरी समयमा पुलिसले आफ्नो जित ६–० को जित पक्का गर्दा सिर्जनाले व्यक्तिगत दोस्रो गोल थपिन् । पुलिसका प्रशिक्षक सञ्जीव जोशीले चौदण्डीविरुद्धको खेलमा खेलाडीहरूबीचको तोलमेल मिलेको बताएका छन् । यसैगरी चौदण्डीका प्रशिक्षक दीपक थापाले पुलिससँगको प्रतिस्पर्धामा अनुभव कम भएको जनाए ।