१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ माघ ८ बिहीबार १९:३३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुरक्षा घेरामा ओली समूहको युवा भेला 

Read Time : > 1 मिनेट
२०७७ माघ ८ बिहीबार १९:३३:००

सप्तरीमा तनावैतनावबीच प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पक्षले राजविराजस्थित रंगशालामा बिहीबार ‘बृहत् युवा भेला तथा प्रशिक्षण कार्यक्रम’ गरेको छ । कार्यक्रममा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, केन्द्रीय सदस्यद्वय सुखराम यादव र जगदीश साह, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतलगायतले सम्बोधन गरेका छन् । 

उनीहरूले ओलीले मधेससहित सिंगो देशको पक्षमा काम गर्दा विरोधीहरू आत्तिएको दाबी गरेका छन् । ओलीले बाध्य भएर प्रतिनिधिसभा विघटन गरेको र चुनावमा जाने निर्णय लोकतान्त्रिक र संवैधानिक भएको उनीहरूको जिकिर छ ।

ओलीपक्षीय राष्ट्रिय युवा संघ नेपाल सप्तरीले जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम गर्ने तय भएको थियो । तर, ओली कदमको विरोध गरिरहेका नेकपाका दाहाल–माधव नेपाल पक्षका नौ युवा नेतालाई प्रहरीले नियन्त्रणमा लिएपछि राजविराजमा तनाव बढेको थियो । 

राजविराजस्थित रंगशालामा भएको कार्यक्रममा सयौँका संख्याका सुरक्षाकर्मी परिचालन गरिएको थियो । सभाका वरिपरि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएका थिए । कार्यक्रममा सहभागीहरूसमेत भयभित देखिन्थे ।

प्रचण्ड–माधव समूहका नौजना पक्राउपछि रिहा
ओली समूहको राजविराजमा मोटरसाइकल ¥याली र प्रशिक्षण कार्यक्रम बिथोल्न सक्ने भन्दै प्रहरीले सप्तरीबाट प्रचण्ड–माधव समूहका नौजना कार्यकर्तालाई बिहीबार पक्राउ गरेको थियो । सदरमुकाम राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गरिरहेका उनीहरूलाई त्यहीँबाट पक्राउ गरिएको थियो । 
प्रचण्ड–माधव समूहका नेता महेश यादवका अनुसार प्रहरीले छेदी रजक (विमल), विनोद यादव, मुकेशकुमार यादव, राजु जैसवाल, छोटु यादव, बलराम यादव र प्रेम यादवलगायतलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई कार्यक्रम सकिएपछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी भुवनेश्वरप्रसाद साहले बताए । 
 

अन्तिम समयमा कार्यक्रम गर्ने सभाहल रद्द 
झडप हुने सम्भावना बढेपछि जिल्ला समन्वय समितिले सभा हल नदिने सूचना जारी गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले राष्ट्रिय युवा संघ नेपाल सप्तरी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा हुने कार्यक्रम गर्न नदिइने जानकारी गराएका थिए । 

जिससका प्रमुख प्रभाकरले युवा भेला अन्तरक्रिया कार्यक्रमको सन्दर्भमा जिल्ला समन्वय समितिको सभाहलमा हुने कार्यक्रम दुवै पक्षबाट विवाद हुने सम्भावना देखिएकोले कुनै पनि पक्षलाई नदिने सूचना जारी गरेका थिए । उक्त सूचनाको बोधार्थ गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सप्तरी र राष्ट्रिय युवा संघ नेपाल सप्तरीलाई पठाइएको थियो । 

रूपनीमा जसपाका युवा कार्यकर्ताद्वारा कालोझण्डा प्रदर्शन
ओलीको समर्थनमा उनीपक्षीय युवाले कञ्चनरूप नगरपालिकाबाट निकालेको मोटरसाइकल ¥याली रूपनीमा पुगेपछि जनता समाजवादी पार्टीका युवा कार्यकर्ताले कालोझण्डा देखाएका थिए । सप्तरी कञ्चनरूप नगरपालिकाबाट नेकपा युवा इन्चार्ज महेश बस्नेतको नेतृत्वमा सदरमुकाम राजविराजसम्मका लागि निकालिएको ¥याली रूपनी चौकमा पुग्नसाथ जसपाका युवाहरूले कालोझण्डा देखाएका हुन् ।