हिल्सा–सिमकोट खण्डअन्तर्गत हेप्का खोलाको पुल निर्माणमा खटिएका कामदारले ज्याला नपाएको गुनासो गर्न थालेका छन् । ०७६ साल भदौ २७ गतेबाट नियमित रूपमा काममा खटिएका कामदारले डेढ वर्षसम्म ज्याला नपाएको गुनासो गरेका छन् ।
सिमकोट गाउँपालिका– ७ र नाम्खा गाउँपालिका– १ मा पर्ने हेप्का खोलाको पुल निर्माणमा खटिएका कामदारले ठेकेदारबाट डेढ वर्षदेखि ज्याला नपाएको गुनासो गर्दै आएका छन् । ०७४ साल साउन ६ गते सम्झौता भएर ०७६ साल साउन १५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको सपना धुलिखेल जेभीका प्रतिनिधि तेजबहादुर महतले हिल्सा–सिमकोट योजना कार्यालयसँग सम्झौता गरेका छन् ।
HSRP÷३३७३२०–४/०७३/०७४–०१४ नम्बर ठेक्का रहेको यो पुल निर्माणमा खटिएका कामदारले हालसम्म करिब १९ लाख रुपैयाँ रकम नपाएको काममा खटिएका कामदार प्रमुख खुसीराम थारूले गुनासो गरे । पुल निर्माण गर्ने क्रममा कामदारहरूलाई पहिलोपटक पेस्की रकम दिन भनिए तापनि ठेकेदारको लापरबाहीका कारण हालसम्म पनि काम गरेको रकम नपाएको थारूले गुनासो गरेका छन् ।
काम गरेको पैसा नआउँदा होटेल तथा पसलका साहुसँग क्रण गरेर गुजारा चलाउनुपरेको उनको दुखेसो छ । हेप्का खोलाको पुल निर्माण गर्ने कामदारहरू १२ जना कैलाली जिल्लाका छन् । पटकपटक ठेकेदार र हिल्सा सिमकोट सडक योजना कार्यालयलाई हार गुहार गर्दासमेत कुनै कुराको सुनुवाइ नभएको कामदार थारूले बताए । दुईवटा पुलको जिम्मा लिएका ठेकेदार नै सम्पर्कविहीन भएर बस्न थालेको उनले बताए ।
पुल निर्माणका लागि अर्थ मन्त्रायालमा १० करोड बजेट माग भएको हिल्सा सिमकोट सडक योजना कार्यालय हुम्ला प्रमुख बेलबहादुर नेपालीले बताए । पुल निर्माण हुदा पेस्की रकम लिएपछि ठेकेदारले कामदार दिनुपर्छ प्रमुख नेपालीको भनाइ छ । पुल २५ मिटर लम्बाइ १४/३३ मिटर उचाइ र आठ मिटर चौडाइको पुलमा हिल्सा सिमकोट कार्यालयसँग सपना धुलिखेल जेविका प्रतिनिधिले ११ करोड दुई लाख ९० हजार पाँच सय ४७ रुपैयाँ २२ पैसामा सम्झौता भएको छ ।