मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ माघ ३ शनिबार १६:०४:००
Read Time : > 2 मिनेट
फिचर

निर्वाचन परिणामको पर्खाइ : युगान्डामा ३५ वर्षदेखि शासन गरिरहेका राष्ट्रपति मुसेभेनीविरुद्ध ३८ वर्षे पपस्टार

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ माघ ३ शनिबार १६:०४:००

अफ्रिकी देश युगान्डामा लामो समयदेखि शासन गर्दै आइरहेका राष्ट्रपति योवेरी मुसेभेनी अर्काे कार्यकालका लागि पनि निर्वाचित हुने सम्भावना छ । बिहीबार सम्पन्न आमनिर्वाचनको प्रारम्भिक परिणाममा उनले स्पष्ट अग्रता लिए पनि उनको सम्भावना उच्च देखिएको हो ।

मुसेभेनीले स्पष्ट अग्रता लिएपछि प्रतिद्वन्द्वी उम्मेदवारले निर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । तर, युगान्डाको निर्वाचन आयोगले आरोपको खण्डन गरेको छ । राष्ट्रपति पदका अर्का उमेदवार बोबी वाइनले यस्तो आरोप लगाएका हुन । उनी यहाँका पपस्टार पनि हुन् । उनलाई राष्ट्रपति पदका लागि बलियो दाबेदारका रूपमा हेरिएको थियो । निर्वाचन पर्यवेक्षकहरूले भने धाँधलीको आशंका गरेका छन् । तीन दिनसम्म सबै इन्टरनेट सेवा बन्द गरिएकाले यकिन गर्न नसकिए पनि धाँधली भएको आशंका उब्जाएको पर्यवेक्षकहरूको भनाइ छ । निर्वाचनको अन्तिम नतिजा आइबारसम्म आइसक्ने अपेक्षा गरिएको छ । निर्वाचनको क्रममा विभिन्न ठाउँमा भएको झडपमा परी एक दर्जनको हाराहारीमा मृत्यु भएको छ ।

राष्ट्रपति मुसेभेनीले पछिल्लो ३५ वर्षदेखि युगान्डामा शासन गर्दै आइरहेका छन् । ७६ वर्षीय उनी छैटौँपटक देशको राष्ट्रपति बन्ने तयारीमा छन् । उनी देशको स्थायित्वका लागि आफूले उम्मेदवारी दिएको दाबी गर्छन् । 

स्टेजमा बोबी वाइन नाम पाएका पपस्टार रोबर्ट क्यागुलान्यी भने युवा पुस्ताको नेतृत्व गरेको तर्क गर्छन् । युगान्डालाई विश्वकै कान्छा मान्छेहरूको देशमध्येको मानिन्छ, जसको मध्य उमेर १६ वर्ष रहेको छ ।

शुक्रबार निर्वाचनको नतिजा सार्वजनिक हुन थालेपछि बोबीले युगान्डाका सेनाले आफ्नो घर घेर्दैै खान्तलासी गरेको जनाएका छन् । उनको भनाइको सार्वजनिक पुष्टि भने भएको छैन । ‘मेरो घरमा प्रवेश गर्ने सेनाका कोही पनि सदस्यले हामीलाई केही जानकारी दिएनन् । हामी साँच्चिकै एउटा समस्यामा छौँ’, उनले ट्विटरमा लेखेका छन् ।

सरकारका प्रवक्ताले भने बोबी वाइनको आरोपको खण्डन गरेका छन् । सरकारी अधिकारीले बबी वाइनले सहानुभूति बटुल्न घटनालाई नाटकीय रूपमा प्रचार गरिरहेको जनाएका छन् । ‘यो समय बोबी वाइन देशका लागि साँच्चिकै महŒवपूर्ण व्यक्ति छन् । उनलाई बचाइराख्नु हाम्रो कर्तव्य हो’, सरकारका प्रवक्ता डोन वान्यामाले भनेका छन् ।

यस्तो छ पछिल्लो नतिजा ?
प्रारम्भिक नतिजाअनुसार तीन भागको दुई भाग निर्वाचन क्षेत्रमा मुसेभेनीले ६२ प्रतिशत स्थानमा जित हात पारेका छन् । निर्वाचन आयोगले जनाएअनुसार मात्रै ३० प्रतिशत स्थानमा बोबी वाइनको अग्रता छ ।

निर्वाचन आयोगका प्रमुख सिमोन व्याबाकमाले निर्वाचन निकै शान्तिपूर्ण भएको जनाएका छन् । उनले निर्वाचनमा धाँधली भएको भनी लगाइएको आरोपमा प्रमाण पेस गर्न अनुरोध गरेका छन् । बोबी वाइनले केही स्थानमा आफ्नो प्रतिनिधिकै अपहरण गरिएको आरोप लगाएका थिए । 

राष्ट्रपति मुसेभेनीले इन्टरनेट सेवा बन्द गराएर धाँधली गरेको आरोप विपक्षी दलका उमेदवारले लगाएका छन् । इन्टरनेट सुविधा नहुँदा उमेदवारहरूले मतदातालाई भोट माग्न म्यासेजसमेत पठाउन पाएनन् । ‘हामीमध्ये धेरैको, मेरो र मेरी श्रीमतीसम्मको मोबाइल फोन स्विचअफ गराइएको थियो । अवैधानिक तरिकाबाट फोनको कनेक्सन बन्द गराइएको थियो’, बोबी वाइनले भनेका छन्, ‘इन्टरनेट सेवा सुरु भएपछि हामीमाथि भएको सबै गलत क्रियाकलापको भिडियो सार्वजनिक गर्नेछौँ ।’

निर्वाचन अधिकृतहरूले भने जम्मा दुई मतदान केन्द्रमा समस्या देखिएको जनाएका छन् । ती स्थानमा मतदान बन्द गरिएको उनीहरूको भनाइ छ । राष्ट्रपति मुसेभेनीका प्रवक्ता वान्यामाले बोबी वाइनको आरोपको थप खण्डन गरेका छन् । ‘उनी आफ्नो अपेक्षासम्म पुग्न सकेनन्’, उनले भनेका छन्, ‘अब उनीसँग कुनै बहाना छैन । उनलाई युगान्डाका जनताले अझै केही समय कुर्नू भन्ने सन्देश दिएका छन् । हामीले उनलाई प्रमाण पेस गर्न भनेका छौँ । तर, उनीसँग त्यस्तो कुनै प्रमाण छैन ।’

राजधानी काम्पलामा अहिले सुरक्षा अवस्था निकै बलियो बनाइएको छ । सेना र प्रहरीले गस्ती गरिरहेका छन् । युरोपियन युनियन, संयुक्त राष्ट्रसंघलगायत धेरै मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरूले युगान्डामा धाँधलीरहित निर्वाचन हुनुपर्नेमा आवाज उठाएका थिए ।
यद्यपि, युगान्डाको निर्वाचनको पर्यवेक्षण गर्न अफ्रिकी युनियन मिसनभन्दा अरू कुनै संस्था पुगेका छैनन् । युगान्डालाई महŒवपूर्ण सहयोग गर्दै आइरहेको अमेरिकाले आफ्नो टोलीलाई त्यहाँ पठाउन अस्वीकार गरेको थियो ।

मुसेभेनी को हुन् ?
मुसेभेली सशस्त्र युद्धमार्फत शक्तिमा पुगेका नेता हुन् । उनले सन् १९८६ मा भएको सशस्त्र युद्धको नेतृत्व गरेका थिए । उनी नेसनल रेसिस्टेन्स मुभमेन्टका नेता हुन् । उनलाई युगान्डाका धेरै जनताले देशमा शान्ति ल्याउने व्यक्तिका रूपमा बुझ्छन् ।

बोबी वाइन को हुन् ?
युगान्डाको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति मुसेभेलीबाहेक १० जनामध्ये ३८ वर्षीय बोबी वाइनलाई बलियो उमेदवार मानिएको छ । पपस्टार वाइन नेसनल युनिटी प्लाटफर्म नामको दल खोलेर राजनीतिमा होमिएका हुन् । उनले स्वास्थ्य सेवा, शिक्षा, स्वच्छ खानेपानीलगायत क्षेत्रको नारा लिएर अघि आएका छन् । 

युगान्डाको निर्वाचन
मिति : १४ जनवरी ०२१
मतदाता : एक करोड ८१ लाख
राष्ट्रपतिको उमेदवारः ११ जना (एकजना मात्रै महिला उम्मेदवार)