१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २१ मंगलबार
  • Sunday, 22 September, 2024
युवराज भट्टराई
२o७७ पौष २१ मंगलबार १o:१४:oo
Read Time : > 7 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कसरी दोहोरिरहन्छन् सत्तामा डन किहोटेहरू ?

बहस

Read Time : > 7 मिनेट
युवराज भट्टराई
नयाँ पत्रिका
२o७७ पौष २१ मंगलबार १o:१४:oo

जबसम्म हावी भइरहन्छ दलाल पुँजीवाद, उत्पादित भइरहन्छन् असंख्य सान्चो पान्जाहरू र खडा गरिन्छन् सत्तामा डन किहोटेहरू

मिगेल डे सेरभान्तेको बहुचर्चित उपन्यास छ, ‘डन किहोटे डेला माचा’ । यसको प्रमुख पात्र भद्र र बौद्धिक अधबैँसे अलन्सो क्विकानो प्राचीन घोडचडी योद्धा (नाइट) का वीरताका स्वैरकाल्पनिक किंवदन्ती पढ्ने गर्छ । ती योद्धाहरूले राक्षस मारेका, भूतप्रेतसँग लडेका र साम्राज्य जितेका रुमानी कथामा ऊ यसरी डुब्छ कि अब ऊ काल्पनिकी र यथार्थबीचको भेद नछुट्याउने तहसम्म पुग्छ । अन्ततः संसारलाई दुष्टात्माबाट मुक्त गर्ने त्यो वीर योद्धा आफू नै भएको भ्रम उसमा पैदा हुन्छ । नाइटको जस्तै आफ्नै लागि एउटा नाम पनि जुराउँछ– ‘डन किहोटे डेला माचा’ । घोडचडीले पहिरने हेल्मेटलगायत शरीरभरि कवच भिर्छ । तवेलाबाट हाडछाला मात्र बाँकी रहेको घोडा झिक्छ, त्यसको पनि नाम राख्छ– रोसिनान्ते । गाउँकै एउटी अग्ली केटीलाई महारानी कल्पन्छ, नाम दिन्छ– डुल्सिनिया डेल तोबोसो । 

आफैँ नाइट भइसकेपछि कम्तीमा एउटा सहयोगी वा भरौटे त चाहियो । नभन्दै बाटोमा एकजना होचो तथा मोटो मान्छे भेट्छ, उसलाई पनि नाम दिन्छ– ‘सान्चो पान्जा’ । आफू वीर योद्धा भएको परिचय दिँदै उसले जित्ने एउटा सानो राज्य नै दिने प्रलोभनमा सान्चो पान्जालाई काममा लगाउँछ । कथित नाइटको ‘बिजारे’ पारा देख्दा नपात्याइहाल्ने पनि कुनै कारण हुन्न । लोभिएर सान्चो पान्जा एउटा गधामा चढेर डन किहोटे डेला माचाको पछि लाग्छ । र, सुरु हुन्छ किहोटेको कथित साहसिक यात्रा । बाटोमा लस्करै विन्ड मिलहरू देखा पर्छन् । तर, डन किहोटेले तिनलाई पनि भ्रममा दुष्टात्मा वा प्रेत देख्छ, मिलको पंखालाई प्रेतको हात देख्छ र ठूलो हुंकारसहित एक्कासि जाइलाग्छ । ‘विन्ड मिल हो प्रेत होइन’ भन्दै सान्चो पान्जा किहोटेलाई रोक्ने निरर्थक प्रयास गर्छ । तत्कालै विन्ड मिलको पंखा चल्छ र किहोटे नमज्जाले पछारिन्छ । उसकै आक्रमणका कारण प्रेतात्मा विन्ड मिलमा रूपान्तरण भएको भन्दै आफैँलाई सान्त्वना दिन्छ । सान्चो पान्जा अक्क न बक्क पर्छ । उसलाई शंका छ कि उसको मालिकको मगज खुस्किसकेको छ । 

यद्यपि, ऊ प्रतिप्रश्न गरिरहन्न, उसलाई किहोटेले जित्ने एउटा राज्य पाउने प्रलोभन जो छ । दौलतको लोभ पनि छ । अर्को ठाउँ किहोटेले भेडाको बथानलाई दुस्मनको सेना देख्छ र तरबार झिकेर जाइलाग्छ । अझ घोडामा चढेका अरू कोही देख्नै हुन्न, दुस्मन सम्झन्छ र गर्जंदै झम्टन्छ । र, आफैँ भक्कु धुलाइ खान्छ । उसको शुष्क शरीर उसले नै पहिरिएको फलामे कवच धान्न सक्दैन, लडेको क्विकानोलाई सान्चो पान्जाले उठाइदिनुपर्छ । धेरै ठाउँका सबै लफडा सान्चो पान्जाले समाल्छ । कतै ऊसँग खानलाई तातो खोले हुन्न, तर कतै राजाको रवाफमा सिक्का फाल्दै हिँड्छ । कहिले उसकी काल्पनिक महारानीलाई लामो चिठी लेख्न सान्चो पान्जालाई अह्राउँछ । ऊ पनि बेनामे ठेगानामा महारानीको नाममा पार्सल पठाउँछ । यस्तै गर्दै कथित डन किहोटे डेला माचा र उसको सहयोगी सान्चो पान्जाले सिंगो स्पेनको यात्रा तय गर्छन् र अन्ततः हजार हन्डर खाएर लखतरान पर्दै घर फर्कन्छन् । 

सेक्सपियरकालीन सेरभान्तेको यो उपन्यास पाश्चात्य साहित्यकै पहिलो आधुनिक उपन्यास मानिन्छ । प्राचीन वीर योद्धा र राक्षसबीचका युद्धका किंवदन्तीहरू त्यसवेला हराइसकेका हुन्छन् । तर, तिनै किंवदन्तीमा फसेर एउटा मान्छे कसरी भ्रमैभ्रममा कथित योद्धा भएर बाँच्न सक्छ भन्ने यसले बडो हास्यरससहित पस्केको छ । जतिसुकै रोचक किन नहोस्, यो उपन्यास एकदमै कपोलकल्पित र अवास्तविक लाग्छ । तर आज स्पेनमा ‘डन किहोटे डेला माचा’ लेखिएको चार शताब्दीपछि हाम्रो संघीय गणतान्त्रिक मुलुकमा हामी स्वयं तीन–तीन वर्षसम्म ‘डन किहोटे’द्वारा शासित भइसकेपछि अब निश्चय नै यो उपन्यास, यसका पात्रहरू र तिनले गरेका क्रियाकलाप कत्ति पनि अवास्तविक र स्वैरकल्पित लाग्दैनन् । बरु छक्क त यसमा परिन्छ कि आफू स्वयं भ्रममा बाँच्ने ‘डन किहोटे’ले कसरी आज पनि यो सिंगो मुलुक, मुलुकवासी र राज्यका सम्पूर्ण अंग–प्रत्यंगमाथि भ्रमकै खेती गरेर यो संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमाथि नै कुठाराघात गर्न सक्छ ? 

आफू स्वयं भ्रममा बाँच्ने ‘डन किहोटे’ले कसरी आज पनि यो सिंगो मुलुक, मुलुकवासी र राज्यका सम्पूर्ण अंग–प्रत्यंगमाथि भ्रमकै खेती गरेर यो संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमाथि नै कुठाराघात गर्न सक्छ ?

त्यसो त सुरुदेखि नै हाम्रो डन किहोटेलाई संघीयता मन पर्दैनथ्यो, लोकतन्त्र र गणतन्त्र मन पर्दैनथ्यो । धर्मनिरपेक्षता र समावेशिता पनि कहिल्यै मन पर्दैनथ्यो । तर, सशस्त्र युद्धसहितको जनआन्दोलनले मुलुकलाई र उनलाई त्यही दिशातिर डोर्‍याइदियो । त्यतिवेलासम्म उनी गुमनाम थिए । तर, जसै क्विकानोलाई किंवदन्तीका योद्धा पढेर ठूलो योद्धा ‘डन किहोटे’ बन्ने हुटहुटी पलायो, यिनमा पनि भ्रमित इतिहासमा बाँचेका तानाशाहको भूत चढ्यो, पृथ्वीनारायणको हावाले छोयो, जंगबहादुरको हावाले छोयो, महेन्द्रको भूत सवार भयो । मुलुकको सबैभन्दा बिकाउको सस्तो वस्तु त राष्ट्रियताको ढोंग पो हो भन्ने कुराले छोयो । कम्युनिस्ट नाममा अलिकति महेन्द्रपथीय राष्ट्रवाद घोलेपछि अलिकति प्रगतिशील भनाउँदा र मण्डले चरित्रवाला सबैको भोट सोहोरियो । यस प्रक्रियामा पार्टी एकीकरण गर्दै फेरि अर्का वास्तविक युद्ध लडेका अर्का ‘डन किहोटे’ स्वयं उनको सान्चो पान्जा भएर निस्के । यति भइसकेपछि उनी रातारात एक पाखण्ड ‘डन किहोटे’ मात्र बनेर उदाएनन्, सर्वेसर्वा तानाशाह बन्ने लहडमा निस्के । सिंगो मुलुकले भ्रममा परेर एउटा सामान्य विवेक नभई सनक देखाउने पात्रलाई वास्तविक ‘डन किहोटे’ सम्झियो । यिनै किहोटेको पछिल्लो सनकको परिणाम हो, संसद् विघटन । 

त्यसो त यिनी वास्तविक ‘डन किहोटे’ होइनन् भन्ने छनक यिनका सुरुवाती रवैया, रमिता र पाखण्डले पहिल्यै दिइसकेको थियो । उपन्यासको ‘डन किहोटे’ वास्तविक योद्धाको जस्तो भयानक डायलग बोल्छ । यिनी पनि त्यस्तै डायलग मार्छन्– ‘पानीजहाज चल्छ’ ‘ग्यासपाइप घर–घर पुग्छ’, ‘कोही भोकले मर्दैन’ ‘सबको खल्ती–खल्तीमा पैसा हालिदिन्छु’ ‘कम्बल नपाएर कोही मर्दैन’ ‘भ्रष्टचारीको मुखै हेर्दिनँ’ कति हो कति ! तर, स्वयं शतप्रतिशत पाखण्डी भइसकेपछि यी सबै ‘महावाणी’ रमिता मात्रै बन्न पुग्छन् । उदाहरणका लागि अहिलेसम्म हाम्रा डन किहोटे जतिपटक पनि सम्बोधनका नाममा टेलिभिजनको पर्दामा देखा परे, त्यति नै पटक सिंगो मुलुकवासीले त्यसलाई एउटा सस्तो कमेडीभन्दा अधिक अरू केहीको रूपमा लिएनन् । ठ्याक्कै उपन्यासको डन किहोटे यसै गर्छ । ऊ जो–जसलाई पनि दुस्मन सम्झेर ठूलो गर्जनसहित तरबार झिकेर जाइलाग्छ । यस्तो वेला सबै त्रसित र भयभीत हुनुपर्ने हो, तर सबै गलल्ल हाँस्छन् ।

त्यसो त यी दुवै डन किहोटेबीचको प्रमुख समानता भनेकै दुवै मनोरोगी पनि हुन् । उपन्यासको किहोटेसँग पारानाइड पर्सनालिटी डिसअर्डर छ । हाम्रो किहोटेमा यो डिसअर्डर कत्तिको छ, आकलन गर्ने काम मनोविश्लेषकको हो । त्यसो त संविधानले नै व्यवस्था नगरेको, जुन प्रकारले डन किहोटेले संसद् विघटन गरेका छन्, यसले आफैँमा उनको मानसिक अवस्थामै शंका पैदा गरिदिएको छ ।

तर, स्मरणीय यो छ कि यी पाखण्ड रातारात डन किहोटे बनेर उदाउनुमा यिनको भन्दा विशेष हात सान्चो पान्जाहरूको छ । जसरी उपन्यासको सान्चो पान्जा कुनै टापु पाउने प्रलोभनमा मगज खुस्किएको किहोटेलाई मालिक मानेर पछि लागेको छ, त्यसैगरी यो दलाल पुँजीवादी व्यवस्थामा निहित व्यक्तिगत स्वार्थ र आर्थिक प्रलोभनको पछि लाग्ने असंख्य सान्जो पान्जाहरूले नै हाम्रो डन किहोटेलाई खडा गरेका हुन् । तिनले नै यहाँसम्म डोहोर्‍याएका हुन् । सान्चो पान्जो त्यो चरित्र हो, जसलाई असल–खराब, सत्य–झुट अनि विचारधाराको पनि कुनै मतलब हुन्न । मतलब हुन्छ त निहित स्वार्थको । सानो चिजमा लोभिएर उनीहरू जोसुकै पाखण्डलाई पनि महानायक मान्न वा करार गर्न उद्वेलित हुन्छन् ।

उपन्यासका डन किहोटे र सान्चो पान्जा एकदमै निरीह पात्र हुन् । भद्र व्यक्ति अलन्सो क्विकानोको आदर्श पात्र नाइट आफैँमा लोककल्याणकारीका लागि लड्ने योद्धा हो, भलै उसलाई कसैले पत्याइदिन्न । तर, हाम्रो किहोटे त्यसको ठीक विपरीत इतिहासका खराब पात्रबाट मात्रै प्रेरित छैनन्, उनको नियत पनि एकदमै घृणित छ । त्यसैले उपन्यासका किहोटेलाई यस आलेखमा खराब बिम्बको रूपमा प्रयोग गर्नु कता–कता तिनीमाथि अन्याय गर्नु पनि हो । तर, किहोटेलाई कसैले वीर योद्धाको रूपमा पत्याइदिँदैन र ठूलो दुर्घटना हुन पाउँदैन । मात्र यी पात्रले हन्डर खानुपर्छ । तर, यस्ता पात्रलाई साँच्चिकै ‘डन किहोटे’ मानिदिने हो भने के होला ? परिणाम अहिले हामीमाझ ताजा छ । 

आधुनिक सान्चो पान्जाहरू आफैँ यो दलाल पुँजीवादी व्यवस्थाका बाइप्रडक्ट हुन् । चाकडीको भजन गाएर दुनो सोझ्याउने यही तप्काले दलाल संसदीय व्यवस्थामा यस्ता पाखण्ड ‘डन किहोटे’लाई खडा गर्दै इमानदार वर्गमाथि आजसम्म कुठाराघात गर्दै आएको छ ।

उपन्यासको डन किहोटेसँग एक मात्र सान्चो पान्जा छ । तर, हाम्रो किहोटेसँग छन्– असंख्य सान्चो पान्जाहरू । ती तलदेखि माथिसम्म छन् । चुनावमा मासुभात र रक्सीमा लोभिनेदेखि राजदूत, महाप्रबन्धकलगायत पदको पछि दौडनेसम्म छन् । सान्जो पान्जा वकिल, पत्रकार, प्राध्यापक र चिकित्सकहरू छन् । ठेकेदार र तस्करहरू छन् । कर्मचारी र व्यवसायीहरू छन् । दलाल र माफियाहरू छन् । प्रलोभनमा परेर इमान जमान बेच्ने आधुनिक सान्चो पान्जाहरू आफैँ यो दलाल पुँजीवादी व्यवस्थाका बाइप्रडक्ट हुन् । चाकडीको भजन गाएर दुनो सोझ्याउने यही तप्काले दलाल संसदीय व्यवस्थामा यस्ता पाखण्ड ‘डन किहोटे’लाई खडा गर्दै इमानदार वर्गमाथि आजसम्म कुठाराघात गर्दै आएका छन् ।

सान्चो पान्जाहरूको भूमिका हाम्रो डन किहोटेले राम्ररी बुझेका छन् । त्यसैले त सम्भव भएसम्म सबैतिर आफ्ना आसेपासे नियुक्त गरेका छन् । राज्यका अंगमाथि नियन्त्रण गरेका छन् । उनको समर्थनमा ट्विटरमा अश्लील गालीसहित उत्रनेलाई उनले कुनै विभागको प्रमुख नै बनाइदिएका छन् । कतिसम्म भने राष्ट्रपतिको पदमा समेत उनकै सान्चो पान्जा छ, जसकारण उनको असंवैधानिक संसद् विघटन पनि सम्भव भइदियो । अब हेर्न बाँकी छ– न्यायालयमा उनका सान्चो पान्जाहरूको उपस्थिति कस्तो छ ? त्यसो त नेपाली राजनीतिमा उदाएका उनी एक्लो कथित डन किहोटे होइनन् । प्रमुख प्रतिपक्षी दलमा समेत चार–चारपटक प्रधानमन्त्री भइसकेका अर्का पनि कथित ‘डन किहोटे’ छन्, हामीसँग । पहिल्यै एकपटक संसद् विघटन गरेर राजाको पोल्टोमा सुम्पिसकेका यी ‘डेला माचा’ यो संसद् विघटनपश्चात् फेरि प्रधानमन्त्री बन्ने ध्याउन्नमा ज्योतिषकोमा धाउँदै होलान् । व

र्तमान प्रतिगमन, जनमतमाथिको घोर अपमान तथा संविधानमाथिकै निर्मम प्रहारको विरुद्ध डटेर उत्रनुको साटो आगामी बेटुंगोको चुनावको तयारी गर्ने फर्मान जारी गरिसकेका छन्, उनले । उनी पहिल्यै वास्तविक डन किहोटे नभएको जगजाहेर छ । अहिलेका सत्तासीन ‘डन किहोटे’को अकर्मण्यताका कारण यो दलाल संसदीय व्यवस्थाको अर्को चुनावमा प्रतिपक्षी डन किहोटेलाई फाइदा पुग्नेछ, जो जतिसुकै लायक÷नालायक किन नहोस् । त्यसमाथि ‘डेम्रोक्र्याट’ कहलिएका यो झुन्डमा पनि पर्याप्त सान्चो पान्जाहरू छँदै छन् । त्यसो त प्रतिपक्षमा मात्रै होइन, सत्तासीन पार्टीको अर्को खेमाभित्र पनि तीन–तीनजना डन किहोटेहरू छन् । आफ्ना सान्चो पान्जाहरू बटुलेर उनीहरू संसद् पुनस्र्थापनाका लागि सडक तताइरहेका छन् । तिनमा पनि जिम्मेवारीभन्दा सत्तास्वार्थको विकार ज्यादा गनाइरहेको छ ।

भर्खरै संविधानविद् भीमार्जुन आचार्यले कुल गरेर नेपालमा तीस लाख राजनीतिक पिठलग्गु भएकै कारण मुलुकको यो दुर्गति भएको बताएका थिए । अहिलेसम्मको नेपालको संसदीय व्यवस्था यिनै सान्चो पान्जाहरूकै कारण पटक–पटक फेरिएर दोहोरिएर यिनै कथित ‘डन किहोटे’हरूको रमिता देखाउने क्रीडास्थल बनेको छ । यो विषम घडीमा संसद् पुनस्र्थापना एक मात्र पहिलो सर्त त हुन सक्ला, तर हामीसँग अहिले अर्को संगीन प्रश्न तेर्सिएको छ । एउटा कथित ‘डन किहोटे’ले सनकको भरमा चाहेको बखत जनमतलाई नै दुत्कार्दै भंग गरेर नग्न नृत्य पस्कने अखडा बन्ने यही व्यवस्था ब्युँझ्याउन हामीले किन मरिहत्ते गर्ने ? अर्को डन किहोटेलाई त्यहाँ पठाउन हामीले किन रगत र पसिना बगाउने ? के हामी अर्को उत्तम विकल्प खोज्न सक्दैनौँ ?

यो प्रस्ट छ, तीसौँ लाख सान्चो पान्जाहरूले पालैपालो आफूअनुकूलका डन किहोटे सत्तामा खडा गरेर निरीहमाथि शासन लादिरहेका छन्, राज्यको दोहन गरिरहेका छन् । कहाँबाट उत्पादन भइरहेका छन् त यी साना–ठूला सान्चो पान्जाहरू ? यो दलाल पुँजीवाद नै सान्चो पान्जाहरू उत्पादन गर्ने मुख्य कारखाना वा मेसिन हो । दलाल संसदीय व्यवस्था आफैँमा दलाल पुँजीवादको धमिराले निलिसकेको छ । दलाल पुँजीवाद आफैँमा एउटा ठूलो फोहोरको डंगुर हो भने आधुनिक सान्चो पान्जाहरू त्यसमा भन्किने झिँगा हुन् । अहिले यही झिँगाले संसदीय व्यवस्थामा ओलीरूपी लार्भा पैदा गरेको छ र व्यवस्था नै कुहिएर डुङडुङी गनाएको छ ।

जबसम्म हावी भइरहन्छ मुलुकमा दलाल पुँजीवाद, उत्पादित भइरहन्छन् असंख्य सान्चो पान्जाहरू र खडा गरिन्छन् सत्तामा ओलीरूपी डन किहोटेहरू, तिनले देखाइरहनेछन् सत्तामा पाखण्डी रमिता, दोहन गरिरहनेछन् राज्य । त्यसैले यथास्थितिमा यो संसदीय व्यवस्थाको पुनर्स्थापनाले मात्र रोकिनेछैन, ‘डन किहोटे’हरूको उदय । तिनलाई रोक्नु छ भने सर्वप्रथम खुस्काउनुपर्छ, दलाल पुँजीवादको हर–नसो । यही व्यवस्थाअन्तर्गत पनि राज्य र समाजलाई समाजवादउन्मुख नीति अख्तियार गर्दै दलाल पुँजीवादरूपी मेसिनका पार्टपुर्जा बिस्तारै खुस्काउँदै लाने र अन्ततः निष्क्रिय पार्ने एउटा झिनो आशा त जीवितै थियो । तर, वर्तमान डन किहोटे र यिनका आधुनिक सान्चो पान्जाहरू दलाल पुँजीवाद र दलाल संसदीय व्यवस्थाको सबैभन्दा ठूला मतियार भएर निस्केका छन्, जसबाट परिवर्तन असम्भव छ । त्यसैले रोक्नु छ भने ‘डन किहोटे’लाई, मास्नु छ सान्चो पान्जाहरू । भत्काउनु छ दलाल पुँजीवादका संम्पूर्ण संरचनाहरू र यसका लागि चाहिएको छ– नयाँ संगठन र नयाँ विचार बोकेका वास्तविक नयाँ जुझारु योद्धाहरू !