मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ पौष २ मंगलबार १३:o७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म केही औद्योगिक क्षेत्रमा बिजुली कटौती हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ पौष २ मंगलबार १३:o७:oo

४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी बिजुली माग हुने साँझको पिक समयमा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने भएको छ ।

हिउँदयाम सुरु भएसँगै खोला तथा नदीहरूमा पानी घट्दा देशभित्रका नदी प्रवाही आरओआर जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमताभन्दा एकतिहाइ घट्ने, तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट बिजुली आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नुपर्नेछ । चिसोका कारण यही समयमा बिजुलीको माग बढ्ने, तर नेपालको विद्युत् प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेको जलविद्युत् आयोजनाहरूको उत्पादन घट्ने अवस्था छ । हिउँदयामको बिजुली माग र आपूर्ति व्यवस्थापन गर्न यो समयमा भारतबाट आयात गर्नुपर्दछ ।

यस वर्ष सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । कार्यकारी निर्देशक घिसिङले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण माथिल्लो तामाकोशीका संरचनामा क्षति पुगेको थियो । आउँदो पुस १० गतेभित्र बिजुली उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मत भइरहेको छ । बिजुली माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयमा चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई आउँदो चैत २ गते (१५ मार्च २०२५) सम्म ढल्केबर–मुजफ्फपुर ४ सय केभी क्रसबोर्डर प्रसारणलाइनमार्फत ६ सय मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारणलाइनबाट ५४ मेगावाट गरी दैनिक रूपमा ६५४ मेगावाटसम्म बिजुली आयात अनुमति दिएको छ ।

तर, पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने बिजुली आयात गर्न नपाउने व्यवस्था छ । त्यसपछि ०८१ चैत ३ देखि ०८२ असार १६ गते (१६ मार्च–३० जुन २०२५) सम्म सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ । कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयमा चार घण्टा भारतबाट बिजुली आयात गर्नसमेत नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएका छन् ।

घिसिङले भने, ‘पिक समयमा आयात अनुमति पाएका छैनौँ, माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो, माथिल्लो तामाकोशीको मर्मत तीव्र गतिमा भइरहेको छ, आयोजना नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत् केही कटौती गर्नुपर्ने अवस्था छ ।’

गएको शुक्रबार बिहान ढल्केबर–नवलपुर १३२ केभी प्रसारणलाइनको तार (कन्डक्टर) चुँडिँदा ढल्केबरपश्चिमका बारा र पर्सा औद्योगिक करिडोरमा विद्युत् आपूर्ति प्रभावित भएको थियो । त्यो लाइनको मर्मत गरी सोमबार दिउँसोदेखि सञ्चालनमा ल्याइएपछि विद्युत् आपूर्ति नियमित भएको छ । यसैगरी, दर्चुलाको चमेलियादेखि कैलालीको अत्तरियासम्मको १३२ केभी प्रसारणलाइनअन्तर्गत बैतडी खोचलेक भन्ने ठाउँमा रुख ढलेर एउटा सर्किटमा क्षति पुगेको छ । त्यो लाइनको मर्मत भइरहेको छ ।