‘बोल्सेनारो, ट्रम्प र मोदी हाम्रो युगकै खराब नेता हुन्’ ठ्याक्कै वर्षदिन पहिला श्रद्धेय गुरु अरुण गुप्तोले राखेको गुनासो थियो, यो । प्रसंग अमेजनमा लागिरहेको डढेलोको थियो र सँगसँगै भइरहेको अमेजन रेन फरेस्टमा आश्रित आदिवासीको संरचनात्मक हत्याको थियो । र, ठीक त्यतिवेला ट्रम्पप्रशासित अमेरिकामा श्वेत राष्ट्रवादको जगजगी थियो भने मुस्लिमलाई अलगीकरण गर्न मोदीले राज्यशक्ति दुरुपयोग गर्दै संसारकै ठूलो कहलिने लोकतन्त्रकै उपहास गरिरहेका थिए । यीमध्ये एक विसंगत पात्र ट्रम्पको त बहिर्गमन भइसकेको छ । तर, वास्तवमा नव–उदारवादी लोकतन्त्रको प्रयोग अब बहुसंख्यकले अल्पसंख्यकको दमन र कत्लेआम गर्न नै हो भन्ने नजिर यी केही विसंगत पात्रले स्थापित गरिसकेका छन् ।
नवउदारवादी व्यवस्थामा उदाएका यी तीन मात्र अनुदार पात्र होइनन् । यिनको पछि म्यानमारकी सुकीदेखि लिएर टर्कीका एर्दोगानसम्म उदाएका छन् । विसंगतिकै हिसाबमा सम्भवतः विगत झन्डै तीन वर्षदेखि हामी स्वयं सबैभन्दा संकीर्ण र अनुदार पात्रद्वारा शासित भइरहेका छौँ । र, यसले एकपटक फेरि विश्वकै नवउदारवादी व्यवस्थामाथि नै सन्देह गर्ने स्थिति पैदा गरिदिएको छ, लोकतन्त्रमाथि नै आममानिसको विश्वास धर्मराएको छ ।
गुप्तो सरको गुनासोले १२–१३ वर्षअघिका उनको कक्षाकोठाको स्मृतितिर धकेलिदियो, जहाँ हामी उनीबाट विशेषतः उत्तरआधुनिक र नवइतिहासवादका ज्ञान लिने गथ्र्यौं । फुको, डेरिडा, रोला बार्थ, लियोटार्ड र हावरमासहरू हाम्रो पहिलो रोजाइमा पर्थे । ६० र ७० को दशकमा पश्चिममा देखिएका यी सिद्धान्त हामीलाई प्रिय लाग्थे । प्रिय नलागुन् पनि किन, यी सिद्धान्तकै आडमा टेकेर नवउदारवादी व्यवस्थाभित्रै पनि समाज रूपान्तरण गरेर विभेदरहित भविष्य निर्माण गर्न सकिन्छ भन्ने हाम्रो एउटा स्वैरकल्पना थियो । त्यसका लागि सैद्धान्तिक दृष्किोणबाट पनि केही स्पष्ट मानक थिए ।
२०औँ शताब्दीको अन्त्यतिर देखिएका र प्रचलित भएका केही खास सिद्धान्त र ऐतिहासिक परिघटनाले पनि यही नै बताउँथ्यो । ज्याक डेरिडाको विनिर्माणीय केन्द्र भञ्जनले जब केन्द्र र किनाराबीचको असन्तुलित सम्बन्धमाथि धावा बोल्यो, हामीलाई लाग्यो, अब संसारबाट सबै किसिमका उँचो–निचो विभेदले टाप कस्नेछ । अब सीमान्तले सबै किसिमका केन्द्रीय मानकलाई हल्लाइदिनेछ ।
त्यसैगरी, मिचेल फुकोको नव–इतिहासवादले शक्ति र सामथ्र्य माथिकासँग मात्र हुँदैन, तल्लो तप्कासँग पनि हुन्छ, शक्ति माथिबाट तल मात्र लादिन्न, तलबाट माथि पनि लादिन्छ भन्दै गर्दा लागेको थियो कि अबको राज्य हिजोको जस्तो निरंकुश र स्वेच्छाचारी बनिरहन सक्दैन । त्यति मात्र होइन, फुकोले त सबाल्टर्न, उत्तर औपनिवेशिक, सांस्कृतिक अध्ययन, नव–इतिहासवादी नारीवाद, गे र लेस्बियन स्टडिजजस्ता कैयौँ सीमान्तीकृत वर्ग र समुदायका आवाज मुखरित गर्ने थुप्रै प्रगतिशील सिद्धान्तका ढोका खोलिदिएका थिए । यी सिद्धान्त आफैँमा विभेदरहित भविष्यको कल्पना गर्न पर्याप्त थिए ।
विसंगत पात्रहरूका लागि लोकतन्त्र र गणतन्त्रको औचित्य अमेजनमा ग्वाजाजाराको हत्या गर्नु, भारतमा मुस्लिमलाई अलगीकरण गर्नु, बर्मामा रोहिंग्याको कत्लेआम गर्नु र नेपालमा झनै इतिहासदेखि नै बहिष्करणमा पारिएकाको अझ हुर्मत लिनु र दमन गर्नु भएको छ
अर्कोतिर, विश्वव्यापीकरण हामीले आत्मसात् गरिरहेका थियौँ । आममानिस विश्वको जुनसुकै कुनामा गएर काम गर्ने वातावरण बनेको थियो । र, हामीलाई लागेको थियो, अब परम्परागत अन्धो नश्लवाद र राष्ट्रवादको ढोंग स्वस्फूर्त खत्तम भएर जानेछ । अझ अर्को पाटो ६० को दशकयता कैयौँ उपनिवेश स्वतन्त्र बनेका थिए भने अघिकांश मुलुकमा प्रजातन्त्र आएको वा पुनर्बहाली भएको थियो । मतलव, हामीलाई लागेको थियो, शक्ति अब आमजनतामा आएको छ । नभन्दै अहिले एकाध अपवाद छाडेर लगभग सबैजसो मुलुकमा शक्ति आमनागरिकको मतपत्रमा छ । र, लाग्यो अब विश्वकै भविष्य सुन्दर छ र विभेदरहित छ ।
तर अहँ, परिणाम हामीले सोचेभन्दा ठीक उल्टो निस्कियो । २१औँ शताब्दीको यो दोस्रो दशकमै नव–उदारवादी विश्वले सिर्जेको सबैभन्दा कुरूप र नग्न नृत्य हेर्न हाम्रा आँखा अभ्यस्त भइसकेका छन् । र, यो नग्न नृत्य हाम्रा सरकार र राष्ट्रप्रमुखले छ्यापछ्याप्ती देखाइरहेका छन् । समग्रमा भन्नुपर्दा यी तमाम विसंगत पात्रको मुख्य विशेषता या समानता भनेकै सीमान्तीकृत र अल्पसंख्यकमाथिको वक्रदृष्टि नै हो ।
भलै एक मुख्य विसंगत पात्र डोनाल्ड ट्रम्प अब राजनीतिक स्टेजबाट बडो मुस्किलले बाहिरिएका छन् । तर, उनले मलजल गरेको नश्लवाद भने अमेरिकामा अझै लामो समय रहिरहनेछ भन्ने कुरो त उनले पाएको मतले देखाइसकेको छ । उनको शासनकालमा अश्वेत, आप्रवासी, महिला, लैंगिक अल्पसंख्यक र यहुदी सबैजसो बहिष्करणमा पारिए । श्वेत राष्ट्रवादी जगजगी आकासियो, जसको नेतृत्व राष्ट्रपति स्वयंले निभाए । अल्पसंख्यकमाथिको आक्रमणमा वृद्धि भयो । एक अध्यनअनुसार, अमेरिकामा मात्रै २०१८–०१९ मा ६ हजार सात सय ६८ वटा यहुदीविरोधी अतिवादी आक्रमण भएका थिए ।
अघिल्लो चुनावी अभियान सुरु गरेसँगै उनले आफ्ना समर्थकलाई खुल्लमखुला हिंसामा उत्रन अभिप्रेरित गरेका थिए । उनकै प्रभावमा जेम्स एलेक्स जेफर्सनजस्ता जातीय अतिवादीहरू पटक–पटक जातीय हत्यामा उत्रिएका थिए । एल पासोमा अन्धाधुन्ध गोली हानेर २२ जनाको हत्या गर्ने प्याट्रिक कुसिक ट्रम्पकै अनुयायी थिए । ट्रम्पको मुस्लिमविरोधी ट्विटसँगै मुस्लिमविरुद्धको सांघातिक आक्रमण पनि आकासिने गरेको थियो ।
ट्रम्पको शैलीलाई लिएर डारोन एसमुग्लुसम्मका विज्ञले फासिस्टको संज्ञा दिन भ्याएका थिए । तर, यिनै फासिस्टको लोकप्रियता अमेरिकामा कत्रो छ भन्ने त यिनले पछिल्लो चुनावको मतपरिणाममा देखाइसकेका छन्, भलै उनले चुनाव हारेका छन् । यस अर्थमा त्यहाँको नश्लीय अतिवाद अझै परास्त भने भइसकेको छैन, जसले फेरि पनि जुनसुकै वेला टाउको उठाउन सक्छ ।
ब्राजिलका राष्ट्रपति जइर बोल्सेनारोले झन्डै दुई वर्षको कार्यकाल सकाउँदै छन् । दोस्रो वर्षको कार्यकाल मुख्यतया उनले पनि ट्रम्पले झैँ कोभिड–१९ को बेवास्ता र विश्व स्वास्थ्य संगठनसँगको दुस्मनी गरेरै बिताए भने अघिल्लो वर्ष उनले निम्त्याएका पर्यावरण विनाश, अमेजनको डढेलो र आदिवासीको सिलसिलेवार कत्लेआम नै प्रमुख समाचार बनिरह्यो । उनले अमेजनलाई आर्थिक उपार्जनको साधन बनाउने नीति अख्तियार गर्नासाथ अमेजन जंगल विनाशतर्फ मात्रै बढेन कि सँगसँगै त्यहाँ आश्रित आदिवासीको संरचनात्मक नरसंहार पनि आकासियो ।
ब्राजिलियन आदिवासी अभियन्ता सोनिया बोने ग्वाजाजाराले भनेकी छिन्, ‘अब एक थोपा पनि आदिवासी रगत नचुहियोस्, राष्ट्रपतिको डिस्कोर्सले आदिवासी नरसंहारलाई वैधानिकता दिएको छ ।’ त्यसो त उनी ट्रम्पभन्दा बढी स्त्रीद्वेषी छन्, निरीह आदिवासीप्रति आक्रामक छन्, आमनागरिकका आधारभूत आवश्यकताप्रति उदासीन छन् । यद्यपि, खोक्रो समृद्धिको नाराकै भरमा उनी पनि सत्तासीन छन् । र, निःसन्देह उनको समृद्धि अमेजनको इकोसाइड र आदिवासीको जेनोसाइड गर्दै युरोपियन श्वेत नश्लको पृष्ठपोषण गर्नु नै हो र जो उनका खास मतदाता हुन् ।
सम्भवतः आफ्ना मुलुकका अल्पसंख्यकमाथिको सबैभन्दा कुदृष्टि ढाल्ले सरकार प्रमुख हुन्– भारतका नरेन्द्र दामोदर दास मोदी । झुट, फरेब र मुस्लिम अल्पसंख्यकलाई अलगकीरण गरेर हिन्दू राष्ट्रवाद जगाउने एजेन्डासहित उदाएका उनी हरतरहले भारतबाट सिंगो मुस्लिम समुदायलाई दमन गर्न चाहन्छन्, पाखा लगाउन चाहन्छन् र अनागरिक करार गर्न अभ्यस्त छन् ।
गुजरात काण्डदेखि सत्तारोहण र पछिल्लो नागरिकता संशोधन विधेयक यसकै सिलसिला हुन् । बहुसंख्यक हिन्दू अतिवादीको समर्थनमा सत्तामा रहनु र मुस्लिममाथि दमन गर्नु उनको एक मात्र ध्येय हो । विश्वकै ठूलो लोकतन्त्र कहलिएको भारतमा उनको रवैयाले भन्छ, अब लोकतन्त्रको औचित्य भनेकै बहुसंख्यकको मत बटुलेर अल्पसंख्यकको कत्लेआम गर्नु हो । लोकतन्त्रले कसरी सीमान्तीकृतहरूको कत्लेआम गर्दै छ भन्ने अर्को ज्वलन्त उदाहरण भनेको बर्मामा भइरहेको रोहिंग्याको नरसंहार र विस्थापन पनि हो ।
अहिलेको नवउदारवादी लोकतन्त्रमा एकदमै अनुदार र दक्षिणपन्थी नेत्तृत्व विश्वभर हावी भइरहेका छन् । यिनै विसंगत नेताहरूको बिगबिगी छ र निश्चय नै विगत तीन वर्षदेखि हामी झन् डरलाग्दा विसंगत पात्रद्वारा शासित छौँ । हाम्रा यी विसंगत पात्र अहिले हरसम्भव सशस्त्र युद्व र व्यापक जनआन्दोलनद्वारा प्राप्त सबै किसिमका आमनागरिकका उपलब्धिलाई धुलिसात गर्न लागिपरेका छन् ।
शासकीय अक्षमता त छँदै छ, उनी बेसरम बन्दै एकपछि अर्को पश्चगामी कदम चाल्न अभ्यासरत छन् । र, सबैभन्दा टीठलाग्दो कुरा यो छ कि यी तमाम अकर्मण्यताका लागि उनी कति पनि जवाफदेही भइरहनु पर्दैन, उल्टो उनी दुईतिहाइ बहुमतको दम्भ ओकलेर जसो गरे पनि हुन्छ भन्ने कुतर्क पेस गरिरहन्छन् ।
ओली सरकारको शासकीय अक्षमता, झुटको खेती, खुला र नीतिगत भ्रष्टाचारका फेहरिस्त यो सानो आलेखमा प्रस्तुत गर्न सम्भव छैन, जुन आफैँमा जगजाहेर पनि छँदै छ । कोभिड–१९ महामारी पहिला नै हामी वाइड बडी, यती काण्ड, सेक्युरिटी प्रेस खरिद प्रक्रिया काण्डलगायतका दर्जनौँ काण्डसँग साक्षात्कार भइसकेका थियौँ ।
सडकमा आममानिस रोग र भोकले मरिरहँदा चोक–चोकमा बकम्फुसे समृद्धिको नारासहितका शासकका पोस्टर देख्दा लाग्छ, यो मुलुकमा ह्यामलेटको भूत जागेजस्तो स्वर्गीय महेन्द्रको प्रेतात्मा भड्किरहेको छ र यो अब नोटमा फोटो छाप्न उद्वेलित छ
वास्तवमा सरकार सुरुदेखि नै दालाल, भ्रष्ट र माफियाको नग्न नृत्य गर्ने अखडा बनिसकेको थियो । तर, पाखण्डको हद कतिसम्म थियो भने भ्रष्टचारविरुद्धको शून्य सहनशीलता अर्थात् ‘भ्रष्टचारीको मुखै हेर्दिनँ’ भन्ने ओलीको मोटो थियो । तर, नीतिगत भ्रष्टाचारको सिलसिलाका अलावा खुल्लमखुला सञ्चारमन्त्रीको कमिसन टेप मात्रै बाहिरिएन, कोभिड महामारीको स्वास्थ्य सामग्री खरिद घोटालामा समेत सरकार खुद मुछियो । एकातिर प्रधानमन्त्री खानका लागि काम गर्न पर्दैन, सरकारले दिन्छ भन्छन्, अर्कोतिर सडकपेटीमा नागरिक भोकले मर्दै छन्, आत्महत्या गर्दै छन् । यद्यपि, ओली सरकारलाई ‘रामराज्य’को झुट फलाक्न कति पनि लाज र सरम लाग्दैन ।
उनको विसंगति हेर्न उनको कुशासनसम्म पुगिरहनु पर्दैन, मात्र ‘मपाईं’ प्रवृत्ति हेरे पुग्छ । वर्णमालाको अक्षर राम्रो ‘म’ सम्भवतः उनको सबैभन्दा प्रिय अक्षर हो । त्यसैले वाक्यैपिच्छे उनी ‘म’ र ‘मेरो सरकार’ भनिरहन्छन् । वास्तवमा यो सरकार शम्भु सदा, सूर्यबहादुर तामाङ र भोककै कारण छोराछोरीसहित आत्महत्या गर्न विवश सत्ता नेपालीको भोटले सिर्जेको सरकार हो । तर, यति बुझ्न पनि ओलीले ढिला गरिसकेका छन् । उनको रवैयाले भन्छ– यो सरकार उनको बाबुको बपौती हो या ससुरालीको दाइजो ।
उनको उदय आफैँमा एउटा विसंगति थियो । सस्तो लोकप्रियताका लागि ओली राष्ट्रवादको खोल ओढेर आए । मधेसविरोधी र पहिचानविरोधी पहाडे खस आर्यनको आवरण निर्माण गरे । यसले एउटा चुनावमा उनलाई सफल त बनायो, तर दुर्भाग्य उनले आफैँलाई राजा महेन्द्र सम्झने कुचेष्टा गरिहाले ! उनको मपाईंत्व यसैको परिणाम हो । तर, महेन्द्र कति सही र कति बेठीक थिए, त्यो छुट्याउनतिर पनि उनी लागेनन् । सडकमा आममानिस रोग र भोकले मरिरहँदा चोक–चोकमा बकम्फुसे समृद्धिको नारासहितका उनका पोस्टर देख्दा लाग्यो, यो मुलुकमा ह्यामलेटको भूत जागेजस्तै स्वर्गीय महेन्द्रको प्रेतात्मा भड्किरहेको छ र यो अब नोटमा फोटो छाप्न उद्वेलित छ ।
०४६ सालपछि नै हामीसँग संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्र थियो । तर, आमसीमान्तीकृत वर्ग, समुदाय, सम्प्रदाय, भाषा–भाषी तथा उत्पीडितहरू बहिष्करणमा थिए । तिनको पहिचान नामेट पारिएको थियो । यसको केन्द्रमा भने सामन्तवाद थियो, जसको मियो राजतन्त्र थियो । यही व्यवस्था अन्त्य गर्न र पहिचानसहितको सहभागितामूलक लोकतान्त्रिक गणतन्त्रका लागि जनयुद्धदेखि व्यापक जनआन्दोलनसम्म गर्नुपरेको थियो ।
अहिलेको संविधान त्यसकै उपज हो । तर, यही सशस्त्र संघर्ष, जनआन्दोलन र संविधान तथा यसका मर्मविपरीत यी सबै न्यूनतम उपलब्धिप्रति एकदमै अनुदार व्यक्तिलाई हामीले सत्ता सुम्पिएका छौँ र त्यो व्यक्ति हरसम्भव पहिचान, संघीयता, गणतन्त्र र सबै उपलब्धिमाथि प्रहार गर्न राज्यका सबै शक्ति दुरुपयोग गरिरहेको छ । योभन्दा ठूलो विसंगति अरू के हुन सक्छ ?
समग्रमा ओलीतन्त्र र प्रवृत्ति संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मात्र होइन, कम्युनिस्ट आन्दोलनकै एउटा ऐजेरु हो । नेकपाले यो क्यान्सर खुर्केर फाल्ने कुरामा अझै सन्देह नै छ । किनकि, यो आफैँमा एउटा दलालको झुण्डमा परिणत भइसकेको छ । हो, ओलीदेखि मोदीसम्म, ट्रम्पदेखि बोल्सेनारोसम्म हाम्रो युगका विसंगत शासकहरू हुन् । अक्सफोर्ड पास आउट सुकी पनि कहाँ कम कि छिन् र, नपत्याए रोहिंग्याको नरसंहार हेरे पुग्छ ।
तर दुःखको कुरा, यिनीहरू पातालबाट फुत्त निस्किएका दैत्य होइनन्, न त मेरी सेलीले सिर्जेको फ्राङ्केसटाइन नै हुन् । यी त हामीले मत दिएर बनाएका ‘राजनेता’ पो हुन् त ! सोचनीय पक्ष यो छ कि हामीले कसरी यिनलाई सत्ताको चाबी सुम्पिन पुग्यौँ । अर्थात्, यो नवउदारवादी व्यवस्थाभित्र कसरी यस्ता एकदमै अनुदार र संकीर्ण नेताहरू उदाउन पुगे ? जसका लागि लोकतन्त्र र गणतन्त्रको औचित्य अमेजनमा ग्वाजाजाराको हत्या गर्नु, भारतमा मुस्लिमलाई अलगीकरण गर्नु, बर्मामा रोहिंग्याको कत्लेआम गर्नु र नेपालमा झनै इतिहासदेखि नै बहिष्करणमा पारिएकाको अझ हुर्मत लिने र दमन गर्नु भएको छ ।
राज्य किन चाहिन्छ ? सरकार किन चाहिन्छ ? न्यायालय किन चाहिन्छ ? यसको जवाफ सटिक छ– ‘निमुखा र निम्जाहरूको अधिकार सुनिश्चित गर्न ।’ तर, अहिलेका यी पात्रहरूले बहुसंख्यकको मत बटुलेर उत्पीडितहरूको संरचनात्मक हिंसा र बहिष्करण गर्न राज्यसत्ताको दुरुपयोग गरिरहेका छन् । लोकतन्त्रको उपहास गरेका छन् । र, यो एकदमै बीभत्स छ । हो, गुप्तो सरहरूले अक्सफोर्ड, हार्वर्ड, जेएनयू, टियू कहीँ कतै उत्पीडितको दमन गर्नुपर्छ भनेर सिकाएनन् ।
उदारवादी र समानतामूलक समाजकै पृष्ठपोषण गरिरहे । तर, त्यो ज्ञानको ठीक उल्टो आज लोकतन्त्रभित्रै एकदमै अनुदार शासकहरू उदाएका छन्, जसले यो व्यवस्थामाथि नै ठूलो सन्देह पैदा गरेको छ । ठीक छ, यिनको चार–पाँच वर्षे कार्यकाल कुरेर हामी अर्को उदार नेत्तृत्व चुन्ने थियौँ । तर, यो लगभग असम्भव हुन पुगेको छ, किनभने यिनले छाडेका नकारात्मकताका डोबहरूले हामीलाई अझै केही दशकसम्म लखेट्ने निश्चित छ ।
जबसम्म विश्वविद्यालयको विभेदरहित समाजको परिकल्पना आममानिसको माझ पुग्दैन, यीभन्दा अझ पाखण्ड र विसंगत पात्रहरू निर्वाचित भएर जानेछन् । र, यसो हुनुको सबैभन्दा जिम्मेवार तप्का कोही छ भने त्यो एन्टोनियो ग्राम्सीदेखि एडवार्ड सइदसम्मले भन्दै आएको राज्य र समाजका सत्ताइतरका बौद्धिक कहलिएका वर्ग र मिडिया नै हुन् । तिनको मौनता वा आवाजले पक्कै केही फरक भने पार्नेछ ।