मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १४ बिहीबार
  • Tuesday, 17 December, 2024
युवराज भट्टराई
२o७८ असोज १४ बिहीबार ११:३७:oo
Read Time : > 7 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बाघको बानी बदलिँदै त छैन ?

Read Time : > 7 मिनेट
युवराज भट्टराई
नयाँ पत्रिका
२o७८ असोज १४ बिहीबार ११:३७:oo

शुक्लाफाँटा छोडेर अन्य सबै निकुञ्जभित्र पोथीको संख्या तुलनात्मक रूपमा उच्च छ । आगामी दिनमा सबै निकुञ्जमा बाघको घनत्व र आन्तरिक प्रतिस्पर्धा उच्च हुने सम्भावना त छँदैछ, थप बाघ–मानव द्वन्द्वको सिर्जना हुने खतरा पनि उत्तिकै छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा मानव–हिम चितुवा द्वन्द्व, मध्यपहाडी क्षेत्रमा बाँदर–मानव तथा चितुवा–मानव द्वन्द्व तथा तराईका अधिकांश क्षेत्रमा हात्ती–मानव द्वन्द्व नेपालको पछिल्लो समयका खास मानव–वन्यजन्तु द्वन्द्वका उदाहरण हुन् । तर, यो वर्ष यी सबै द्वन्द्वलाई बाँके र बर्दियाको बाघ आतंकले छायामा पारिदियो । गत सेप्टेम्बर यता मात्रै बाँके र बर्दियाका बाघले दर्जनभन्दा बढी सर्वसाधारणको सिकार गरिसकेको छ । दुई सम्भावित नरभक्षी बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइए पनि बाघको आक्रमण भने रोकिएको छैन ।

अरू पनि बाघहरू त्यहाँ नरभक्षी छन् भन्ने तथ्य त बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका फरक–फरक ठाउँमा बाघले यसै वर्ष गरेको मानिसका सिकारबाट प्रस्ट हुन्छ । अर्को कुरा, बर्दियाको पछिल्लो बढ्दो बाघ आतंकले अशक्त बाघले मात्रै सजिलो आहाराका लागि मानिसलाई निसाना बनाउने गर्छ भन्ने परम्परागत नरभक्षीको भाष्यमाथि नै शंका उब्जाएको छ । त्यहाँ बाघ नरभक्षी भएर निस्कनुका सम्भावित कारणहरू खोतल्नुअघि सर्वप्रथम त मानिस बाघको स्वाभाविक आहार हो वा होइन, त्यसको पनि चर्चा गर्नु अनिवार्य छ ।

मानिस बाघको स्वाभाविक सिकार हो वा होइन ?
प्रसिद्ध नरभक्षी बाघ सिकारी तथा संरक्षणकर्मी जिम कुर्बेले ‘विशाल हृदय र अदम्य साहस बोकेको एउटा भद्र व्यक्ति’ भनी बाघलाई परिभाषित गरेका छन् । यो एकान्तप्रेमी हुन्छ र एक्लै बस्छ । कुर्बेका अनुसार जंगलमा गइरहने हरेक व्यक्तिलाई बाघले सूक्ष्मसँग तलदेखि माथिसम्म नियाल्ने गर्छ । तर, केही गर्दैन, ऊ आफ्नै बाटो लाग्छ । फर्केर एक टक पनि हेर्दैन । 

कुर्बेले जस्तै आधुनिक बाघ संरक्षणकर्मी र बाघविज्ञहरूले पनि बाघलाई भद्र जनावरको रूपमा लिएका छन् । यिनका अनुसार मान्छे बाघको प्राकृतिक आहारा होइन । उनीहरू विशेषतः प्राकृतिक सिकार गर्न असमर्थ हँुदा सजिलो आहाराका रूपमा मान्छेको सिकार गर्छन् । नभन्दै नेपाललगायत उत्तराखण्डका खास–खास नरभक्षीको प्रवृत्तिले यो कुरा पुष्टि गर्छ । 

थाहा पाएसम्म अहिलेसम्मकै कुख्यात नरभक्षी चम्पावत बघिनी हो । नेपालकै कञ्चनपुरको यो बघिनीले नेपालमा २०० जनाभन्दा बढी मान्छे खाएको थियो । नेपाली सेनाद्वारा लखेटिएपछि ऊ भारतको कुमाउको चम्पावत सरेको थियो । सन् १९०७ मा मारिनुअघि उसले थप २३६ कुमाउवासीलाई खाइसकेको थियो ।

सन् १९७२ मा १० महिनाको अवधिमा बैतडी नरभक्षीले १०० भन्दा अधिक मानिसको सिकार ग¥यो । मुख्यतः यसले केटाकेटी ओसारेको थियो । स्थानीयले घाइते बाघ भनेर चिन्ने यसलाई नेपाल सरकारले भारततिर लखेटेन, बरु दक्ष सिकारी परिचालन गरेर मारिदियो । चम्पावतजस्तै यो पनि अपरिपक्व सिकारीको गोलीबाट घाइते थियोे । र, नरभक्षी भएको थियो । 

त्यसो त हेमन्त मिश्रले ‘डार्ट’ गरेर १९८८ मा जाउलाखेल पठाएको जोगी पोथी बाघ वृद्ध र अशक्त भएर नरभक्षी बनेको थियो । मिश्रले नै चिडियाखाना पठाएको चितवनकै ‘बांगे’ भाले अर्को बाघसँग जुधेर घाइते बनेको थियो र नरभक्षी भएको थियो । तर, चितवनकै ‘भिम्ले नरभक्षी’ एकदमै स्वस्थ थियो । बाघविद्हरू यसले सानैमा आमाद्वारा नरभक्षी हुन सिकेको आशंका गर्छन् । तर, आमाद्वारा सिकेर नरभक्षी हुने कुरालाई जिम कुर्बेले भने नकारेका छन् ।

उत्तराखण्ड र नेपालको अनुभवले भन्छ कि मानिस बाघको स्वाभाविक आहारा होइन । दुम्सीद्वारा कलिलैमा नराम्ररी घाइते मुक्तेश्वर नरभक्षीको अनुभवले यही भन्छ । एउटा आँखा पनि गुमाएको र नराम्ररी घाइते भएको मुक्तेश्वर बाक्लो घाँसमा लुकेर घाउ चाटिरहेको थियो । यतिकैमा त्यहाँ घाँस काट्न एउटी महिला आइपुग्छिन् । मुक्तेश्वरले एकै पन्जामा तिनलाई मार्छ र शव त्यतिकै छोडेर अलिक पर सर्छ । 

दुई दिनपछि एउटा मान्छे दाउरा काट्न त्यहीँ आइपुग्छ । गर्मीले कपडा खोलेर दाउरा काट्न लागेको दाउरेलाई मुक्तेश्वरले झम्टन्छ, ढाडमा चोट बोक्दै दाउरे ढल्छ । कुर्बेका अनुसार ढाडबाट रगत बगेको देखेपछि भोकले रन्थनिएको मुक्तेश्वरले भोक मेटाउने विकल्पको रूपमा लिन्छ र अलिकति मासु खान्छ । एक दिनपछि फेरि आफ्नो तेस्रो सिकार अर्काे मान्छेलाई बनाउछ र नामुद नरभक्षी भएर निस्कन्छ । 

बाघविद् डा. भीम गुरुङले पनि बाघ नरभक्षी हुनुमा वृद्ध एवं अशक्त भएर प्राकृतिक आहार सिकार गर्न नसक्नु र जंगलमा पर्याप्त आहारा प्रजातिको अभाव हुनुलाई बाघ नरभक्षी हुनुका प्रमुख कारण औँल्याएका छन् । उनका अनुसार बाघको पहिलो मानव आक्रमण आकस्मिक हुने गर्छ । 

हेमन्त मिश्रदेखि कुर्बेसम्म सबै बाघविज्ञ मानिस बाघको स्वाभाविक सिकार नभएको निष्कर्ष निकाल्छन् । यद्यपि, भारतकै सुन्दरवनका बाघहरूले यो तर्कको खण्डन गरिदिएका छन् । सुन्दरवनलाई संसारकै अत्यधिक नरभक्षी बाघ भएको क्षेत्र मानिन्छ । त्यहाँ बिल्कुलै स्वस्थ बाघहरू पनि नरभक्षी छन् । यिनका लागि मानिस पनि स्वाभाविक आहारामा पर्छ । सुन्दरवन बंगालको खाडीसँग जोडिएको छ ।

कहिलेकाहीँ एउटै बाघले २०० वर्गकिलोमिटर क्षेत्र ओगट्न सक्छ । चितवन र बर्दियामा प्रत्येक १०० वर्गकिलोमिटरमा तीनदेखि पाँचसम्म बाघ देखिन्छन् । यस्तो लाग्छ, बर्दिया र चितवनमा एकदमै साँघुरो क्षेत्रमा बाघहरू जकडिएका छन् । तर पनि बर्दियाको तुलनामा अहिले चितवनमा देखिएको मानव–बाघ कम द्वन्द्वको कारणचाहिँ २०१३ यता चितवनमा बाघको संख्यामा गिरावट र बर्दियामा दुई गुणा वृद्धि नै हो ।
 

इतिहासदेखि नै सामुद्रिक आँधीले सताइरहने क्षेत्र हो, यो । प्राकृतिक विपत्ति आइरहने हुँदा इतिहासदेखि नै अकालमा मृत्यु हुने मानिसहरूको शव यस क्षेत्रभित्र यत्रतत्र छरिएको हुन्थ्यो । यिनै मानिसको शवमा पल्किएका सुन्दरवनका बाघले मानिसलाई पनि स्वाभाविक आहाराको रूपमा लिएको बाघविद्हरू तर्क गर्छन् । 

त्यसो त भियतनाम युद्धमा जंगलमा यत्रतत्र छरिएका मानव शवसँग पल्किएर थुप्रै बाघहरू नरभक्षी भएर निस्किएका थिए । दोस्रो विश्वयुद्धको बर्माको लडाइँमा पनि ब्रिटिस र जापानी सेनाको शवमा पल्किएर बाघहरू नरभक्षी बनेका थिए । युद्ध सकिएपछि तिनले स्थानीय गाउँलेहरूलाई आतंकित पारेका थिए । बाघविज्ञका अनुसार वास्तवमा बाघहरू मान्छेको मासुको स्वादमा पल्किएरै नरभक्षी भएका भने होइनन्, बरु शव खाइसकेपछि मानिससँगको डर हराउँछ र मान्छेलाई सामान्य आहाराको रूपमा लिन्छन् । 

जहाँसम्म सुन्दरवनका बाघका कुरा छ, डा. हब्रे हेन्ड्रिकले त्यहाँको नुनिलो पानीले गर्दा कलेजो र मिर्गौलामा असर परेको कारण तिनीहरू आक्रामक भएको निष्कर्ष निकालेका छन् । जे भए पनि सुन्दरवन र भियतनाममा जस्तो नेपालमा शव ग्रहण गरेर बाघ नरभक्षी हुने सम्भावना आजसम्म देखिएको थिएन । 

बाँके र बर्दियामा बाघको स्थिति 
पछिल्लो समय बाँके र बर्दियाको नेपालमा बाघको संख्या वृद्धिमा उल्लेख्य योगदान रहेको छ । पिटर्सबर्ग सम्मेलनपश्चात् नेपालले ५५० वर्गकिलोमिटर क्षेत्रफल भएको बाँके राष्ट्रिय निकुञ्जको घोषणा गर्‍यो । बर्दिया राष्ट्रिय निकुञ्जसँग बाँके पनि जोडिँदा १५१८ वर्गकिलोमिटर क्षेत्रफलको नयाँ बाघ क्षेत्रको निर्माण भयो । सन् २०१८ को गणनाअनुसार बाँके (२१) र बर्दिया (८७) गरी कुल १०८ बाघ यस क्षेत्रभित्र छन् । बाँकेलाई नयाँ निकुञ्ज बनाइएपछि त्यहाँ बाघको संख्या चार वर्षमा पाँच गुणा वृद्धि भएको छ ।

२०१३ मा बाँकेमा तीनदेखि सात बाघ मात्रै थिए भने बर्दियामा जम्मा ५० बाघ मात्र थिए । झन्डै दुई गुणा वृद्धि हुँदै अहिले त्यहाँ बाघको संख्या ८७ पुगिसकेको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा गरी २०१३ देखि २०१८ सम्मको पाँच वर्षको अवधिमा बाघको संख्या १९ प्रतिशत वृद्धि हुँदा बाँके र बर्दियामा मात्र १०० प्रतिशतले वृद्धि भएको देखिन्छ । त्यहाँ जंगल थपिएको थिएन, मात्र भएको जंगललाई राष्ट्रिय निकुञ्जमा बदलिएको थियो । क्षेत्र विस्तार भएपछि त्यहाँ मानवीय ‘एन्थ्रोपोजेनिक’ व्यवधानमा कमी आयो, र बाघ पनि त्यही क्षेत्रमा केन्द्रित भए । फलस्वरूप बाघको संख्या मात्र चार वर्षमा पाँच गुणाले वृद्धि भयो ।

जे–जसरी होस्, बर्दियामा बाघको संख्या बढेको छ, यो खुसीको कुरा हो । तर, यो वृद्धि आफैँमा कम चुनैतीपूर्ण भने छैन । बाघको संख्या उल्लेख्य वृद्धि हुँदा वन्यजन्तु संरक्षणविद् नेहा सिन्हाले गार्जियनलाई भनेकी थिइन्–संरक्षण क्षेत्रभित्र बाघ उल्लेख्य संख्यामा जन्मिएर हुर्किएका छन् । तर, यो संख्यालाई यथास्थितिमा राख्ने हो भने तिनलाई फैलन र आफ्नो इलाका बनाउन दिनुपर्छ । हरेक वयस्क बाघको आफ्नो छुट्टै इलाका हुन्छ । 

क्षेत्र साँघुरो भएमा बाघहरू एक–आपसमा जुध्छन् र विस्थापित बाघ मानव इलाकामा प्रवेश गर्दा बाघ–मानव द्वन्द्वको अवस्था सिर्जना हुन सक्छ । यति मात्र होइन, नराम्ररी घाइते भएका बाघहरू प्राकृतिक वासस्थानमा प्राकृतिक सिकार गर्न असमर्थ हुँदा सहज सिकारका लागि ढुकेर मान्छेहरूलाई आहारा बनाउन सक्छन् ।

त्यस्तै, बाघको संख्या निर्धारणको सबभन्दा महत्वपूर्ण कुरा यसको आहारा प्रजातिको अवस्था पनि हो । २०१३ को तुलनामा नेपालका पाँचै निकुञ्जमा आहारा प्रजातिको घनत्वमा नगन्य ह्रास आएको छ । २०१७ को बाढीले चितवन र २०१५ को बाढीले बर्दियामा वन्यजन्तुहरूमा ठूलो क्षति पुर्‍याएको थियो । सर्वेक्षण प्रतिवेदनले यही प्राकृतिक विपत्तिलाई आहारा प्रजातिको ह्रासको एउटा कारण मानेको थियो भने जाडो मौसममा कैद गरिएका तस्बिरमा ‘पुअर भिजिबिलिटी’का कारण साना आहारा प्रजाति नदेखिएको तर्क पनि अघि सारेको थियो । क्षेत्रगत हिसाबले हेर्दा बर्दियामा आहारा प्रजातिको घनत्व पनि ठीकै छ ।

बर्दियामा प्रत्येक १०० वर्गकिलोमिटरभित्र चारदेखि पाँच बाघ अँटाएका छन् भने चितवनमा तीनदेखि चार बाघ । बर्दियामा प्रत्येक एक वर्गकिलोमिटरभित्र ७७ र चितवनमा ७० आहारा प्रजाति छन् । एउटा वयस्क बाघलाई वर्षमा ३० देखि ५० किलोसम्मका कम्तीमा ६० आहारा प्रजाति चाहिन्छ । डमरुका आमाहरूलाई अझ बढी चाहिन्छ । यसरी हेर्दा आहारा प्रजाति र बाघको संख्या दुवै सापेक्ष नै देखिन्छ । 

कहिलेकाहीँ एउटै बाघले २०० वर्गकिलोमिटर क्षेत्र ओगट्न सक्छ । चितवन र बर्दियामा प्रत्येक १०० वर्गकिलोमिटरमा तीनदेखि पाँचसम्म बाघ देखिन्छन् । यी निकुञ्जको बाघको भारवहन क्षमता कति हुन सक्ला ? यो पनि अर्को महŒवपूर्ण विषय हो । यस्तो लाग्छ, बर्दिया र चितवनमा एकदमै साँघुरो क्षेत्रमा बाघहरू जकडिएका छन् । तर पनि बर्दियाको तुलनामा अहिले चितवनमा देखिएको कम मानव–बाघ द्वन्द्वको कारणचाहिँ २०१३ यता चितवनमा बाघको संख्यामा गिरावट र बर्दियामा भएको दुई गुणा वृद्धि नै हो ।

पछिल्लो सर्वेक्षणअनुसार पर्सामा पाँच भाले १० पोथी, चितवनमा ३० भाले ५० पोथी, बाँकेमा ६ भाले १० पोथी, बर्दियामा २८ भाले ४२ पोथी र शुक्लाफाँटामा नौ भाले ६ पोथी देखिन्छन् (यो ट्र्यापिङमा छुट्टिएका वयस्क बाघको संख्या हो । यो भनेको कुल बाघको लगभग ८९ प्रतिशत हो ।) शुक्लाफाँटा छोडेर अन्य सबै निकुञ्जभित्र पोथीको संख्या तुलनात्मक रूपमा उच्च छ । यसको अर्थ आगामी दिनमा उल्लेख्य मात्रामा डमरुहरू जन्मने सम्भावना छ । यसले गर्दा सबै निकुञ्जमा बाघको घनत्व र आन्तरिक प्रतिस्पर्धा आगामी वर्षहरूमा उच्च हुने सम्भावना त छँदैछ, थप बाघ–मानव द्वन्द्वको सिर्जना हुने खतरा पनि उत्तिकै छ ।

के बाघ नबढुन् त ? होइन, बाघ बढ्नुपर्छ, बढाउनुपर्छ । चोरी सिकार नियन्त्रणले मात्र बाघ बढ्दैन । त्यसो हो भने चितवनमा यसरी बाघ घट्ने थिएन । पछिल्लो नेपाल र भारतको बाघ वृद्धिको अनुभवले भन्छ, बाघ बढाउन तिनलाई फैलन दिनुपर्छ । फैलनका लागि अनुकूल वातावरणसहितको क्षेत्र चाहिन्छ । एउटा क्षेत्रबाट अर्कोतिर सर्न सक्ने आवश्यक करिडोरहरू चाहिन्छन् । भारतले मुख्यतः क्षेत्र विस्तार गरेर चार वर्षमा ३३ प्रतिशतको वृद्धि ल्याएको हो । नेपालको १९ प्रतिशतको वृद्धि पनि पर्सामा कोर क्षेत्रको वृद्धि र बाँकेको नयाँ क्षेत्र विस्तार प्रमुख कारण हुन् । 

बाघले बानी बदलेमा के होला ?
बाघविद्, संरक्षणकर्मी र बाघप्रेमीहरूको एउटै निचोड छ– मानिस बाघको स्वाभाविक आहारा होइन । तर, इतिहासले यस्तो भन्दैन । माइकल ब्राइटले आफ्नो पुस्तक ‘म्यान इटर’ मा भारतमा मात्र पछिल्लो ४०० वर्षमा १० लाखभन्दा बढी मानिस बाघको सिकार भएको आकलन गरेका छन् । सामान्यतः बाघले मान्छे मार्दैन, किन ? किन मान्छे बाघको आहाराभित्र परेन ? अहिलेसम्मको एउटा विश्वसनीय तर्क स्टेफन मिल्सले दिएका छन् । उनका अनुसार एक मिटर अग्लो र तीन मिटर लामो शरीर भएको बाघले उभिएको मान्छेलाई पाँच मिटर अग्लो भयंकरको राक्षस जस्तो देख्छ र आक्रमण गर्न हिचकिचाउँछ । बाघले प्रायः बसेका, कुप्री परेका वा काम गर्दै गरेका मानिसलाई निसाना बनाउँछ । मिल्सका अनुसार अरू नै जनावर हुन सक्छ भनेर झुक्किएर यस्तो आक्रमण हुने गर्छ । 

मिल्सको तर्क त्यति सान्दर्भिक भने देखिँदैन । अर्थात्, मान्छेको उचाइ देखेर बाघ डराएको होइन । अघिल्लो वर्ष जिम कुर्बे राष्ट्रिय निकुञ्जमा ६ महिनाको अवधिमा दर्जन बढी हात्तीहरू बाघको सिकार भए । हुर्किसकेको हात्ती बाघको आहारा होइन । न त बाघसँग सिकार गर्न सिंहको जस्तो ‘बटालियन’ नै हुन्छ । सायद स्वाभाविक सिकारको अभावले हुन सक्छ, त्यहाँ बाघ हात्तीमाथि जाइलागेका । यसको अर्थ मान्छेको उचाइ देखेर मात्रै चाहिँ बाघ मान्छेसँग डराउँदैन । 

इभोलुसनले बिस्तारै प्राणीहरूमा शारीरिक र मानसिक परिवर्तन मात्र ल्याउँदैन, बरु यसले समयअनुसार सबैलाई गतिलो पाठ पनि सिकाएको हुन्छ । सिकार युगदेखि नै प्रायजसो जंगली जनावरहरू मान्छेसँग तर्किए । बाघ पनि तर्कियो । यो भनेको त्यस जातिको ‘सर्भाइबल स्ट्राटेजी’ पनि हो । एउटा अध्ययनअनुसार वन्यजन्तु संरक्षण ऐन ल्याएर सिकारमा कमी आएपछि वन्यजन्तुहरू मान्छेप्रति झन् आक्रामक बन्दै गएका छन् । अर्थात्, बाघलाई मान्छेसँगको डर हराउँदै गएको छ ।

यो विशेषतः हात्तीमा गरिएको अनुसन्धान हो । बाघले पनि मानिससँग हच्कन छोडेर मानिसलाई स्वाभाविक आहारको रूपमा लिन थालेमा के होला ? कतै बर्दियाका स्वस्थ बाघहरूकै आदत बदलिँदै त छैन ? मानिससँग उनीहरू हच्कन छोडे र निकुञ्जबाट विस्थापित बाघले सहज पुनर्वास नपाए अहिले देखिइरहेको मानव–बाघ द्वन्द्वको दायरा कहाँसम्म बढ्ला ?

(लेखक ‘पहाडी रिभर करिडोर क्षेत्रबाट कसरी बाघ हराए’ भन्ने विषयमा अनुसन्धानरत छन्)