Skip This
पलायनको जोखिममा नेपालका बाघ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
युवराज भट्टराई
२o८१ जेठ १५ मंगलबार o८:५२:oo
Read Time : > 7 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

पलायनको जोखिममा नेपालका बाघ

Read Time : > 7 मिनेट
युवराज भट्टराई
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार o८:५२:oo

हाम्रोमा प्राकृतिक/भौगोलिक विविधता असीमित छ, तर संरक्षित क्षेत्र एकदमै न्यून । प्रायजसो आरक्षण उच्च पहाडी र हिमाली क्षेत्रमा छन् । शिवपुरी–नागार्जुन  राष्ट्रिय निकुञ्ज छोड्ने हो भने अरू एउटा पनि संरक्षण क्षेत्र मध्यपहाडी क्षेत्रमा पर्दैनन् ।

सन् २०१० को बाघ पाइने १३ मुलुकले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्‍याउने महत्वाकांक्षी लक्ष्यसहितको पिटर्सबर्ग घोषणापत्रमा हस्ताक्षर गरेका थिए । सन् २००९ मा नेपालमा पाटेबाघको संख्या १२१ थियो । तसर्थ, पिटर्सबर्ग घोषणाअनुसार नेपालले २०२२ सम्ममा यो संख्या दोब्बर अर्थात् २४४ पुर्‍याउनुपर्नेछ । नेपालले प्रत्येक चार–चार वर्षमा बाघ र यसको आहाराको सर्वेक्षण गर्दै आएको छ । यसबीच, सन् २०१३ मा नेपालमा बाघको संख्या बढेर १९८ पुग्यो । सन् २०१८ को सर्भेलाई मान्दा गणनामा बाघको संख्या २३५ पुगिसकेको छ । अब सात बाघको खाँचो छ र तीन वर्ष बितिसकेको छ । 

छिमेकी मुलुक भारतले पनि बाघ संरक्षणमा अकल्पनीय परिणाम निकालेको छ । सन् २०१४ मा भारतमा कुल २,२२६ बाघ थिए, सन् २०१८ मा त्यो संख्या बढेर २,९६७ पुगेको छ । नेपालमा पछिल्लो चार वर्षमा १९ प्रतिशतले बाघको संख्या बढ्दा भारतमा ३३ प्रतिशतले वृद्धि भएको छ । यो परिणामले बाघ संरक्षणमा ठूलो आशा पलाएको छ ।भारतमा बाघको क्षमता कति होला ? सन् १८७५ देखि १९२५ सम्मको ५० वर्षको अवधिमा ८० हजारजति बाघ मारिएको अनुमान गरिन्छ । राजा–रजौटा, सरकारी उच्च कर्मचारी, सिकारी र विदेशी प्रमुख पाहुनाहरूको उद्देश्य नै भारतमा बाघको सिकार गर्नु हुन्थ्यो । सन् १९६० को दशकमा त्यहाँ बाघको स्थिति यति दयनीय अवस्थामा पुग्यो कि अर्को शताब्दीमा बाघ देख्न नपाइने आकलन गरिएको थियो । 

सन् १९७२ मा इन्दिरा गान्धीले वन्यजन्तु संरक्षण ऐन ल्याइन् र कडाइका साथ लागू पनि गरिन् । स्वर्गीय राजा वीरेन्द्र र इन्दिरा गान्धी बाघ संरक्षणकर्मीहरूले नाम लिइरहने नेतृत्वमा पर्छन् । इन्दिरा गान्धीको अवसानसँगै बाघको अस्तित्व पनि संकटतिर धकेलिएको थियो । सन् २००६ मा आइपुग्दा भारतमा बाघको संख्या घटेर १,४११ मा सीमित हुन आइपुग्यो । विश्वभरबाट बाघ संरक्षणमा भारत उदासीन बनेको आरोप लाग्यो । लज्जाबोधले हुन सक्छ, पिटर्सबर्ग सम्मेलनमा भारतले अन्य देशहरूले जस्तो गतिलो उपस्थिति पनि जनाएन । यद्यपि, उनीहरू चुपचाप बसेनन् । परिणाम निकाल्न कुनै कसुर बाँकी राखेनन् । फलतः सन् २०१४ मा २,२२६ हुँदै सन् २०१८ मा बाघको संख्या बढेर २,९६७ पुगिसकेको छ । सन् २००९ बाट बाघको वृद्धिदर क्रमशः २०, ३० र ३३ प्रतिशतको बढ्दो क्रममा देखिएको छ । 

नेपाल–भारत दुवैतिर सन् २०१८ को सर्वेक्षण विश्वसनीय देखिन्छ । भारतमा मात्रै सर्वेक्षण कर्ताहरूले तीन लाख ८० हजार वर्गकिलोमिटर हिँडेरै सर्भे गरेका थिए । २६ हजार क्यामेराले तीन लाख ५० हजारभन्दा बढी फोटो खिचेका थिए । २,४६१ फरक–फरक बाघको त व्यक्तिगत फोटो नै खिचिएको थियो । यो भनेको कुल बाघको ८३ प्रतिशत हो । सन् २०१४ मा भने ६९ प्रतिशत बाघ मात्र फोटोमा ट्र्यापिङ भएका थिए । 

भारतले प्रान्तअनुसार नभई बाघका विशाल पाँच क्षेत्रहरू निर्धारण गरेको छ । शिवालिक शृंखला र गंगातटीय क्षेत्र, मध्य तथा पूर्वी तटीय क्षेत्र, पश्चिम तटीय क्षेत्र, पूर्वाेत्तर तथा ब्रह्मपुत्र क्षेत्र र सुन्दर वन क्षेत्रको आधारमा बाघको संख्या सार्वजनिक गरिएको छ । मध्यप्रदेश तथा पूर्वी तटीय क्षेत्रमा ३०८ बाट वृद्धि भएर ५२६ (७१ प्रतिशत) मा पुगेको छ । महाराष्ट्रआसपासमा १९० बाट ३१२ (६४ प्रतिशत वृद्धि) कर्नाटकआसपासमा ४०६ बाट ५२४ (२९ प्रतिशत)ले वृद्धि भएको छ । उत्तराखण्डआसपास अर्थात् गंगातटीय क्षेत्र तथा शिवालिक शृंखलामा ३४० बाट ३० प्रतिशतले बढेर ४४२ पुगेको छ । सुन्दरवनमा भने बाघ नगन्य रूपमा मात्रै बढेका छन्् । 

सन् १९९४ मार्च २८ मा टाइम्सले एसियाबाट केही वर्षमै बाघ लोप भइसक्ने घोषणा गरेको थियो । इन्डिया टुडे, एसिया विकले पनि २०औँ शताब्दीको अन्त्यसम्ममा पाटेबाघको अस्तित्व नै समाप्त भइसक्ने आकलन गरेका थिए । यस्तो परिस्थितिमा नेपालले सन् २००९–२०१८ सम्ममा बाघको संख्या दोब्बर बनाउनु साँच्चै असम्भव थियो । बाघ संरक्षणविद् डा. हेमन्त मिश्रको शब्द सापट लिएर भन्नुपर्दा– ‘दैनिक एक डलरभन्दा न्यून आय हुने आममानिसहरूको सागरमाझ थोरै मात्र बाघ बचेका छन् । अर्काेतिर, उत्तरतिरको चीन संसारको सबैभन्दा ठूलो बाघको अवैधानिक बजार हो ।’ 

मिश्रका अनुसार चीनमा बाघको एक पाउन्ड हड्डीको नै १,४००–३,००० डलर पर्न आउँछ । बाघको छालाको ११,७६०–२१,८६० पर्न आउँछ । इन्भाइरोन्मेन्टल इन्भेस्टिमेन्ट एजेन्सीका अनुसार चीनको अवैधानिक बजारमा एउटा वयस्क बाघका अवशेषहरूको लगभग ८० हजार अमेरिकी डलरसम्म आउँछ (बोन्स अफ टाइगर) । दक्षिण एसियाको चरम गरिबी र चीनको कालाबजार नेपालको बाघ संरक्षणका सबभन्दा ठूला व्यवधान हुन् । यस्तो विषम परिस्थितिमा नेपाल र भारतले बाघ संरक्षणको क्षेत्रमा पाएको सफलता अभूतपूर्ण छ ।छिमेकी मुलुक भारतको भूमिका र प्रगतिले बाघ संरक्षणमा विशेष महत्व राख्छ । किनकि, सन् २०१४ मा भारतमा २,२२६ मात्रै बाघ थिए । जुन विश्वको बाघको दुईतिहाइ संख्या हो । भारतमा ५० बाघ संरक्षण क्षेत्र तोकिएका थिए, जसले भारतको कुल भूभागको २.२ प्रतिशत क्षेत्रफल ओगट्छ । यसकारण पनि भारतमा बाघको संख्यामा वृद्धि वा ह्रासले विश्वभर हलचल पैदा गर्छ । उदाहरणका लागि सन् २००४ को ‘सारिस्का सक’ हेरौँ । 

भारतको एउटा पुरानो टाइगर रिजर्भ ‘सारिस्का टाइगर रिजर्भ’मा सन् २००४ मा एउटा पनि बाघ थिएन । सारिस्काबाट बाघ पहिल्यै लोप भइसकेको थियो । यसले संसारभरका बाघ संरक्षणकर्मी र अन्तर्राष्ट्रिय संघसंस्थाको ध्यान मात्र खिचेन, बाघ संरक्षणमा यतिका वर्ष गरिएको लगानी, प्रयत्न र समयको खिल्ली पनि उडायो । त्यसपछि, रान्थाम्बोरेकी महारानी ‘मछली’का दुई छोरीलाई सारिस्कामा स्थानान्तरण गरियो । राम्रो प्रजनन क्षमताको ‘जिन’ बोकेका मछलीका छोरीहरूले सन् २०१४ मा नै सारस्किामा बाघको संख्या १६ पु¥याइसकेका छन् (टाइगर फायर) । 

राष्ट्रिय जनावर बाघ भए पनि भारतले केही हदसम्म ‘पिटर्सबर्ग टाइगर समिट’लाई समेत निराश तुल्याएको थियो । यो सम्मेलनमा नेपाललगायत रसिया, चीन, लाओस, बंगलादेशले भने उच्च प्राथमिकता दिँदै प्रधानमन्त्रीलाई नै प्रतिनिधित्व गर्न पठाएका थिए । अन्य मुलुकले मन्त्रीस्तरीय प्रतिनिधि पठाएका थिए । भारत आफैँले भने तुलनात्मक रूपमा तल्लो तहको प्रतिनिधित्व पठाएको थियो । जसकारण दोब्बर बाघ पुर्‍याउने महत्वाकांक्षी लक्ष्यको सुरुवातमै शंका उत्पन्न गराएको थियो । 

बाघको संख्या बढेको छ, खुसीको कुरा हो । तर, अबको समय कम चुनौतीपूर्ण छैन । वन्यजन्तु संरक्षणविद् नेहा सिन्हाले सन् २०१८ मै गार्जियनलाई भनेकी थिइन्, ‘संरक्षण क्षेत्रभित्र बाघ उल्लेख्य रूपमा जन्मिएर हुर्किएका छन् । तर, यो संख्यालाई यथास्थितिमा राख्ने हो भने तिनलाई फैलन र आफ्नो इलाका बनाउन दिनुपर्छ ।’ हरेक वयस्क बाघको आफ्नो छुट्टै इलाका हुन्छ । कहिलेकाहीँ त एउटै बाघले २०० वर्गकिलोमिटर क्षेत्र ओगट्छ । क्षेत्र साँघुरो भएमा बाघहरू एकआपसमा जुध्छन् र विस्थापित बाघ मानव इलाकामा प्रवेश गर्दा बाघ–मानव द्वन्द्वको अवस्था सिर्जना हुन सक्छ । 

अहिले नेपालको बर्दियामा देखिएको खास समस्या नै यही हो । बाघलाई यहाँ फैलने ठाउँ छैन । तर, भारतको हकमा तत्कालै यस्तो समस्या नआउन सक्छ, किनकि सम्भावित बाघ क्षेत्रको १० प्रतिशत क्षेत्रभित्र मात्र भारतमा बाघ छन् । चाहेको अवस्थामा अरू १० गुणा बढी क्षेत्रमा उसले बाघ विस्तार गर्न सक्छ । भारतमा मात्रै बाघको सम्भावित क्षेत्र तीन लाख वर्गकिलोमिटर छ । भारतले यो बाघ वृद्धिको परिणाम त्यत्तिकै निकालेको होइन । उसले सन् २०१४ मा ६९२ रहेको बाघ संरक्षण क्षेत्र २०१८ मा ८८० पुर्‍याइसकेको छ । यही समयमा सामुदायिक संरक्षण क्षेत्र पनि ५० बाट बढाएर एक सय पुर्‍याइसकेको छ । 

नेपालले निकुञ्जभित्र मानवीय हस्तक्षेप गर्ने अनि थप बाघ क्षेत्र विस्तार नगर्ने र भारतले शिवालिक शृंखला एवं गंगातटीय क्षेत्रमा बाघ क्षेत्रहरू यही अनुपातमा विस्तार गर्ने अवस्थामा निश्चय नै नेपालका बाघहरू आगामी दिनमा भारततिरै सोहोरिनेछन् । नेपालका बाघ संरक्षणका खास चुनौतीहरू हिजोबाट होइन, अब सुरु हुँदै छन् । 

यद्यपि, अहिले पनि भारतमा ५५ प्रतिशत बाघ मात्रै प्राकृतिक रूपमा मर्छन् । २२ प्रतिशत त चोरी–सिकारीबाट मारिन्छन् भने बाँकी १७ प्रतिशत जुधेर र ७ प्रतिशत रेल, गाडीको ठक्करबाट मारिन्छन् । चोरी–सिकारी, ठूला निर्माण कार्य, मानव वन्यजन्तु द्वन्द्वजस्ता थुप्रै चुनौती बाघ संरक्षणको क्षेत्रमा विद्यमान छन् ।  हामीले ३०–४० वर्षपछि फर्केर हेर्ने हो भने नेपालको मध्यपहाडी शृंखला पनि बाघको प्रमुख क्षेत्रै थिए । अहिले त बाघहरू ‘ताल’ एरियाको पाँच निकुञ्जभित्र सीमित भइसकेका छन् । ३०–४० वर्षअघि मध्यपहाडी क्षेत्रमा पूर्वदेखि पश्चिमसम्मै बाघको बिगबिगी थियो । १०–१५ वर्षअघिसम्म बाघ यदाकदा देखिन्थे । अहिले लगभग सबैजसो पहाडी क्षेत्रबाट पाटेबाघ हराइसकेको देखिन्छ । पहिलो त बाघसम्बन्धी शोधहरू निकुञ्जमा केन्द्रित भए । यस्तोमा ‘पहाडमा पनि बाघ पाइन्छ र ?’ 

‘त्यो त चितुवा होला ?’ भन्ने प्रश्न जानकार व्यक्तिबाटै पनि आउनु अस्वाभाविक होइन । तर, चार हजार मिटरमाथिसम्म पाटेबाघ विचरण गर्ने गरेको रेकर्ड छ । थुप्रै पहाडी भूभागमा १०–१५ वर्षअघिसम्म आक्कलझुक्कल बाघ देखिएको पाइएको छ । कसरी अकस्मात् पहाडी क्षेत्रबाट बाघ विस्थापित भए भन्ने आधिकारिक अनुसन्धान त छैन, यद्यपि एन्थ्रोपोजेनिक हस्तक्षेप र वन विनाश एउटा प्रमुख कारण हुन सक्छ । चोरी–सिकारको बिगबिगीमा निकुञ्जभित्रकै बाघको अस्तित्व संकटमा परेको समय निकुञ्जबाहिर निर्जन पहाडी क्षेत्रका बाघहरू सकिनु कुनै नौलो पनि होइन ।

नेपालका राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा बाघको संख्या वृद्धि हुनुको कुनै ठोस कारण पुष्टि हुन सक्दैन । यसमा थुप्रै कुराले प्रभाव पारेको हुन सक्छ । हुन सक्छ, त्यहाँ जन्मदर पनि उच्च भएको होला । यद्यपि, चुरे र पहाडी क्षेत्रबाट बिस्तारै विस्थापित बाघहरू निकुञ्ज र आरक्षणतिर केन्द्रीकृत भएको सम्भावनालाई नकार्न वा बेवास्ता गर्न मिल्दैन । सन् २००९–२०१४ मा निकुञ्जभित्र ६३ प्रतिशतले बाघ बढेका थिए । यो वृद्धि कसरी सम्भव भयो भन्ने हामीसँग चित्तबुझ्दो शोध छैन । 

अर्को, नेपालमा अहिले बाघ तराईको पनि मध्य र पश्चिमका दुई वन्यजन्तु आरक्षण र तीन राष्ट्रिय निकुञ्जमा सीमित छ । विगत ५० वर्षयता तराईको जनघनत्व असीमित ढंगबाट बढिरहेको छ । यहाँ वनपैदावरको दोहन पनि अत्यधिक भयो । यसको सीधा असर बाघको भविष्यसँग जोडिएको छ । तराईमा सम्भावित बाघ क्षेत्र विस्तार अब असम्भवप्रायः छ । 
बसाइँसराइका कारण पहाडी क्षेत्रहरू दिन–प्रतिदिन निर्जन बन्दै छन् । कृषि र वन पैदावरमाथिको निर्भरता पनि बिस्तारै घट्दै छ । तसर्थ, फेरि मध्यपहाडका जंगलहरूलाई पनि बाघको गन्तव्य बनाउन सकिएला कि ? केही हदसम्म भुटानबाट पनि पाठ सिक्न सकिन्छ । भुटानमा पछिल्लोपटक सन् २०१४ को गणनाअनुसार १०३ बाघ छन् । रमाइलो पक्ष भुटानमा बाघ समुद्र सतहको १०० मिटरमाथिदेखि ४,००० मिटर उचाइसम्म विचरण गर्छन् । भुटानमा ७२ प्रतिशत भूभाग जंगलले ढाकेको छ, ५१.४ प्रतिशत भूभाग त संरक्षित क्षेत्रले नै ओगटेको छ । थोरै संख्यामा भए पनि भुटानका बाघ संसारकै सुरक्षित बाघमा गनिन्छन् । मानवीय व्यवधानको कमीले पनि निर्जन भुटानी पहाडहरूमा स्वस्फूर्तसँग बाघ बाँचेका छन् ।

हाम्रोमा प्राकृतिक/भौगोलिक विविधता असीमित छ । तर, संरक्षित क्षेत्र एकदमै न्यून छन् । प्रायजसो आरक्षणहरू उच्च पहाडी र हिमाली क्षेत्रमा छन् । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज छोड्ने हो भने एउटा पनि संरक्षण क्षेत्र मध्यपहाडी क्षेत्रमा पर्दैनन् । तराई ल्यान्ड आर्कका पाँचै संरक्षण क्षेत्रले राम्रोसँग चारकोसे÷चुरे र महाभारत छुँदैनन् । चारकोसे झाडी तहसनहस पारिसकेपछि पूर्व–पश्चिम, चुरे–तराईबीचको ‘बायोलोजिकल करिडोर’ पूर्णतः ध्वंस भइसकेको छ । कोसी, गण्डकी र कर्णाली नदी करिडोर पनि पहाड र तराईबीचको बायोलोजिकल करिडोर हुन त सक्थे, तर पहाडी क्षेत्रमा संरक्षण क्षेत्रको अभाव तथा नदी करिडोरबाट विस्तारित सडक र मानवीय बस्तीका कारण अब यो पनि सम्भव देखिँदैन । यस्तो विषम परिस्थितिमा संसारकै सबैभन्दा सकसपूर्ण अवस्था नेपालका बाघको छ । खासमा भन्नुपर्दा एउटा साँघुरो इलाकामा बाघहरू जकडिएका छन् ।

बाघको वृद्धिले हामी उत्साहित छौँ । भारतीय प्रधानमन्त्रीले अघिल्लो वर्षको बाघ दिवसमा सार्वजनिक तथ्यांक हेरेर ट्विट गर्न भ्याए– ‘भारत बाघको लागि सबैभन्दा सुरक्षित देश भएको छ ।’ तर, पर्यावरण सन्तुलन ट्विट गरेजस्तो सजिलो कहाँ छ र ? भारत सरकारले निर्माण गरिरहेको युरेनियम प्लान्टले सिंगो मध्य/दक्षिण भारतभर कति धेरै पर्यावरणीय असन्तुलन निम्त्याउने हो ? परिणाम भोग्न बाँकी नै छ । निश्चय नै यसले बाघ, आहारा प्रजाति र हात्तीलगायत ‘बिग इकोलोजिकल इन्जिनियर’को अस्तित्वमा एकपटक फेरि नराम्ररी धावा बोल्नेछ ।

बाघलाई अलिकति पनि मानवीय हस्तक्षेप मन पर्दैन । त्यसैले नेपालका ‘कोर’ निकुञ्ज क्षेत्रभित्र ९८ प्रतिशत भूभागमा बाघ भरिएका छन् । हल्काफुल्का मानवीय प्रभाव भएका निकुञ्ज क्षेत्रभित्र ६८ प्रतिशत भूभागमा मात्रै बाघ विचरण गर्छन् । यसबाट प्रस्ट हुन्छ, नेपालले निकुञ्जभित्र मानवीय हस्तक्षेप गर्ने अनि थप बाघ क्षेत्र विस्तार नगर्ने र भारतले शिवालिक शृंखला एवं गंगातटीय क्षेत्रमा बाघ क्षेत्रहरू यही अनुपातमा विस्तार गर्ने अवस्थामा निश्चय नै नेपालका बाघहरू आगामी दिनमा भारततिरै सोहोरिनेछन् । यसर्थ, नेपालका बाघ संरक्षणका खास चुनौतीहरू हिजोबाट होइन, अब सुरु हुँदै छन् । 

‘यति धेरै लगानी गर्दा पनि बाघ संरक्षण हुँदैन भने यसलाई प्राकृतिक वासस्थानमै लोप हुन दिऊँ । मलाई लाग्छ, अबको १५ वर्षपछि बाघ लोप भइसक्नेछ । यो आफैँमा एउटा इभोलुसनको पाटो हो’, प्रसिद्ध बेलायती वन्यजन्तुकर्मी क्रिस पेकम्यानले भने जस्तो बाघ संरक्षणलाई बेवास्ता गर्न पनि सकिन्थो । र, हामीले उसको वासस्थान र आहारालाई नमासेको भए, उसको हाड र छालाको व्यापार नगरेको भए यो ‘विशाल हृदयसहित अदम्य साहस बोकेको एउटा भद्र मान्छे’ (जिम कुर्बे)लाई कहिल्यै हाम्रो संरक्षणको खाँचो पनि पर्ने थिएन ।
(लेखक ‘पहाडी रिभर करिडोर क्षेत्रबाट कसरी बाघ हराए’ भन्ने विषयमा अनुसन्धानरत छन्)

ad
ad