केही समयअघि भ्रमणको सिलसिलामा संखुवासभाको भोटखोला गाउँपालिका पुगेको थिए । त्यो भोटे समुदायमा भोटे भएका थुप्रै गैर–भोटे भेटिए । लगत्तै वनस्पति तथा जीवविज्ञ कमल मादेन सरले हिमाल खबर पत्रिकामा ‘लिङबो अर्थात् लिम्बू भोटे’ लेखै लेख्नुभयो ।
त्यस्तै, मेरो भेट गोरखा अजिरकोट गाउँपालिकाका बबिन गुरुङसँग भयो, जसको बाजे, हजुरबा, हजुरआमा तामाङ मूलकी हुन् । उनीचाहिँ नामको पछाडि गुरुङ लेख्छन् । लाग्यो, यो भूगोल (देश)को कुना–कन्दरा, लेक–बेँसीमा बसोवास गरिरहेका उत्पीडित, पिछडिएका सम्पूर्ण आदिवासी जनजातिका बारेमा अध्ययन अनुसन्धान गर्नैपर्छ । देशमा छरिएर रहेका विभिन्न जनजाति, आदिवासी, सीमान्तकृत र लोपोन्मुख जातिकोे संवद्र्धन र विकासविना राष्ट्रको विकास सम्भव छैन ।
जात वंशानुगत, जन्मजात आउने कुरा हो । आर्जन गरिने विषय होइन । जबकि, थर परिवर्तन संसारभर कुनै न कुनै रूपमा भइरहेकै हुन्छ । हामीकहाँ विवाहपछि महिलाले श्रीमान्को थर ग्रहण गर्ने प्रचलन छ । तर, एउटा जातिले अर्को जातिको थर ग्रहणको विषय भने सामान्य परिघटना होइन । यही कारण जात फेरेर तामाङबाट गुरुङ बनेकाहरूको अध्ययनले मलाई आकर्षित गर्यो ।
यसरी जात नै फेर्नुपर्ने अवस्था किन र कसरी आयो होला ? जात नै फेरिसकेपछि सामाजिक, आर्थिक, सांस्कृतिक आयामहरूमा ती जात फेरेका गैर–गुरुङहरूले कस्तो प्रभाव र समस्या बेहोरे होलान् ? आदिमकालदेखि नै तामाङ काठमाडौं उपत्यकाको वरिपरिका भूभागमा बसेर काठमाडौंलाई चाहिने डोको, नाम्लो, भकारी, चित्रा, कुचो, दाउरा, काठ, बख्खु, कलिलो निगुरो, टुसा, च्याउ, तरकारी र खसीबोकासमेत खेपेको इतिहास सजीवै छ । परिश्रमी, हँसिला, रसिला तर सोझासाझा ठानेर राणा सरकारको जमानामा दरबारभित्र र बाहिर भारी बोक्न र निम्न तहको काम गर्ने ठाउँमा मात्र प्रयोग गरिने जात हो, तामाङ (डोरबहादुर विस्ट, २०५९) ।
किन भरिया र पिपा मात्र ? : विचारणीय छ, किन यतिका तामाङ गुरुङ बन्न बाध्य भए ? रणबहादुर र गिर्वाणयुद्धका पालामा दुईपटक सैनिक विद्रोह गरेकाले तामाङहरूलाई सेनामा पिपा पदमा मात्र भर्ना गर्न थालियो । (जनकलाल शर्मा, २०५२) साथै, अधिकांश तामाङ काठमाडौं खाल्डोको वरिपरिका जिल्ला (नुवाकोट, धादिङ, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, मकवानपुर)मा बहुसंख्यक रूपमा बसोवास गर्ने भएकाले शासकवर्गले यो जातिलाई सधैँ शंकाको दृष्टिले हेरे ।
यिनलाई सेनामा सामेल गरेर हातहतियार दियो भने मौका पारेर राज्यसत्ता आफ्नो हातमा पार्न सक्छन् भन्ने डरले तामाङहरूलाई सैनिक सेवादेखि टाढा राख्ने नीति अवलम्बन गरियो (तामाङ, हिमाल, २०५०) । राणाशासनकालको अन्त्यसम्म तामाङ जनजातिलाई सरकारी जंगी तथा निजामती सेवामा प्रवेश नै थिएन । अन्य समुदायलाई जस्तो विदेशी सेनामा भर्ती जाने छुट पनि दिइएन ।
हिन्दू शासक वर्गले तामाङहरूलाई अलिक टाढा राख्ने अर्को एउटा कारण थियो– गुरुङ र मगरहरूले परापूर्वकालदेखि चल्दै आएको गाईगोरुको मासु खाने चलन हिन्दू शासकहरूको संगतमा कटौती गर्दै लगे, तर तामाङहरूले यो चलनमा त्यति बन्देज गरेनन् । परिणामतः उनीहरू शासकवर्गको प्रिय पात्र बन्नबाट चुके । तीनको शारीरिक क्षमतालाई शासकले पिपा र भारी बोक्नेमा मात्रै उपयोग गरे, दबाएर राखे ।
समयक्रमसँगै पहाडी भेकका थुप्रै तामाङसँग आफूसित भाषा र चालचलन मिल्ने गुरुङको थर लेखाएर सेनामा भर्ती हुनेबाहेक अरू कुनै उपाय रहेन । थुप्रै तामाङ आफ्नो नामको पछाडि गुरुङ थर झुन्ड्याएर भर्ती हुन पुगे । इतिहास खोतल्दा थाहा पाइन्छ– गुरुङहरू पृथ्वीनारायण शाहको सेना हुँदै भारतीय र ब्रिटिस सेनामा भर्ती हुन पुगेका थिए ।
पहिलो र दोस्रो विश्वयुद्धका दौरान थुप्रै गुरुङ योद्धाले भिक्टोरिया क्रस जितेर वीरताको उच्चतम सम्मान पनि हासिल गरे । राई, लिम्बू र मगरहरूझैँ गुरुङहरूले पनि वीरताको इतिहास रचे । फलस्वरूप भारतीय र ब्रिटिस सेनामा गुरुङको विशेष महत्व र स्थान रहन गयो ।
तामाङ र गुरुङहरूको भाषा तथा अन्य रीतिरिवाजमा धेरै समानता भएर होला केही इतिहासकार यी दुई जात केही शताब्दीअघि मात्र छुटेका हुन् भन्छन् । बबिन गुरुङका अनुसार अजिरकोट गाउँपालिकामा मात्रै तामाङबाट गुरुङ बनेका लगभग २०० घरधुरी छन् ।
शासकको विभेदकारी नीतिका कारण पीडित तामाङहरूको एक मात्र लक्ष्य गुरुङ बनेर भर्ती भई आफ्नो पेट पाल्नु भयो । अचेल तामाङहरूमा सांस्कृतिक जागरण आएको छ । उनीहरू आफ्नो पुरानो पहिचान लिएरै बाँच्न चाहन्छन् । गोर्खा, लमजुङ, कास्की, तनहुँतिरका करिब दुई हजारभन्दा बेसी गुरुङले तामाङ बन्न पाऊँ भनेर नेपाल तामाङ घेदुङ केन्द्रीय समितिमा पत्र लेखेका थिए (प्रदीप थापामगर, को हुन् जात फेर्नेहरू, पृष्ठ ४२) ।
यस विषयमा नेपाल तामाङ घेदुङले २०५४ बैसाख २२ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई तामाङहरूले जाति र थरको प्रचलन सम्बन्धमा एउटा ज्ञापनपत्रसमेत बुझाइएको थियो । तामाङ घेदुङ केन्द्रीय सचिवालयको तर्फबाट पनि विगतमा जात फेरेका तामाङहरूले आफ्नो जातिमा फर्किंदा विनाकुनै कानुनी अड्चन जात सच्याउन पाउने व्यवस्था मिलाइदिन प्रधानमन्त्रीसित अनुरोध गरेका थिए ।
तामाङ विद्रोह : तामाङ विद्रोहअघि विभिन्न समयमा नेपाल–भोटबीच युद्ध भएको थियो । रणबहादुर शाहको पालामा (१९९१—१९९३) नेपाल र भोटबीच लडाइँ हुँदा भोटले चिनियाँ सम्राटको फौजी सहयोग लिएका थिए । चिनियाँ फौज, केरुङबाट त्रिशूलीको किनारैकिनार नुवाकोट हुँदै काठमाडौंको पाँचमाने भञ्ज्याङ काटी जितपुरफेदी आइपुग्यो ।
काठमाडौं पनि दुस्मनको हातमा पर्न लागेपछि नेपालका राजाले चीनको बादशाहलाई पञ्चवर्षीय सौगात बुझाउने सर्तमा भोटसँग बेत्रावती सन्धि गरी युद्ध साम्य पारे । युद्ध समाप्त भएपछि नेपालका शासकले उक्त युद्धमा चिनियाँ फौजले नेपालमाथि आक्रमण गर्दा त्यस क्षेत्रमा बसोवास गर्ने बौद्धमार्गी तामाङले सरकारलाई सहयोग नगरेको आरोपमा २०० तामाङ चेलीलाई अपहरण गरी तिब्बतमा बेच्ने र ५०० केटाहरूलाई पक्रेर शिवपुरीको उत्तरतिर ल्याई एकै खाडलमा मारेर पुरे (परशुराम तामाङ, २०५१, ५७) र तामाङका किपटहरू खोसी काजीहरूलाई बिर्ता दिइयो ।
भोट–नेपाल युद्धपछि तमाङले नेपाल सरकारको दमन र अन्याय झेल्नुपर्यो । त्यसका विरुद्ध १९९३ को जेठ–साउनमा तामाङले विद्रोह गरे । राज्यले ठूलो संख्यामा तामाङको हत्या गर्यो । हजारौँ तामाङ घरगाउँ छोड्न बाध्य भए । यस्ता थुप्रै कारणले तमाङ थर–जात बदल्न बाध्य बनेका थिए ।
राजा जयस्थिति मल्लले सुरु गरेको वर्णव्यवस्था राजा सुरेन्द्रविक्रमको पालामा थप व्यवस्थित बन्यो । नेपालमा मल्लहरूले जातप्रथा भित्र्याए पनि नेपालभरि लागू गर्नेमा शाह र राणाहरू नै भए । १९१० मा प्रम जंगबहादुर राणाले मुलुकी ऐन बनाएर यो प्रथालाई कडाइका साथ लागू गरे । जुन नितान्त जातीय कानुन थियो ।
यसले तामाङ, सुनुवार, राई, लिम्बूजस्ता आदिवासी जनजातिलाई समेत शूद्रको श्रेणीमा राख्यो । पश्चिमका मगर र गुरुङ पनि अपवाद रहेनन् । मुलुकी ऐनले यिनलाई पानी चल्ने र नचल्ने दुई भागमा बाँडिदियो । पानी नचल्नेमा हिन्दू–आर्य जातिकै दमाई, कामी, सार्कीहरू रहे ।
पानी चल्नेमा सबै मतवाली परे । मतवाली पनि मासिने मतवाली (दास बनाउन तथा जिउ मास्न सकिने) र नमासिने मतवाली (दास बनाउन तथा जिउ मास्न नहुने) मा बाँडिए (मुलुकी ऐन १९१०) । अधिकांश मतवाली मासिने वर्गमा पर्दथे, तर शासक वर्गप्रति बफादारी देखाउन सक्नेहरू नमासिने स्तरमा उन्नति गरिए ।
तामाङलगायत केही जातिको सभ्यता नै लोप हुने अवस्था आउनुको पहिलो कारण हिन्दू राज्यको दमन र हिन्दूकरण नै हो । दोस्रोचाहिँ, दमनले काम ग¥यो । दमन हुँदा पलायन भएर मूलधारे संस्कृति स्वीकार गर्ने अवस्था भयो । तामाङ विद्रोहपछि थुप्रै तामाङले थर फेरेको यही कारण हो ।
हुन त, जातीय घुसपैठले गुरुङ समाजमा पनि गडबडी उत्पन्न गरेको छ । यस तथ्यलाई प्रदीप थापामगरले आफ्नो किताब ‘को हुन् जात फेर्नेहरू’मा प्रस्ट पारेका छन्– थुप्रै नेवार, तामाङ, दुरा, थकाली, कामी, दमाई र सार्की ब्रिटिस गोर्खा र भारतीय फौजमा थापा र गुरुङ लेखाएर भर्ती हुन पुगे । आफ्नो जातको आहुति दिएकाहरू, जो आफ्नो वास्तविक पहिचानमा आउन चाहन्छन्, तिनलाई बाटो खोलिदिनु राज्यको दायित्व हुन आउँछ । यो विषयमा बहस गर्नु अपरिहार्य भएको छ ।