विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस)ले परीक्षा स्थगित गरेको छ ।
छात्रावासमा रहेका २९ विद्यार्थीमा कोरोना देखिएको छ । क्याम्पसको छात्रावासमा बस्ने ८२ विद्यार्थीको स्वाब परीक्षणका लागि पठाएकोमा २९ जनामा कोरोना देखिएको क्याम्पस प्रमुख डा.नारायण न्यौपानेले बताए ।
संक्रमण देखिएका विद्यार्थीमध्ये १८ जना छात्रालाई नमुना सामुदायिक अस्पतालको आइसोलेसन र ११ छात्रलाई क्याम्पसकै आइसोलेसनमा राखिएको छ ।
त्रिभुवन विश्वविद्यालयको तालिकाअनुसार, यस क्याम्पसमा पनि २४ मंसिरदेखि परीक्षा सुरु भएको थियो । केही दिनअघि दुईजना विद्यार्थीमा कोरोना देखिएपछि क्याम्पसमा चलिरहेको परीक्षा ३ देखि ६ पुससम्म स्थगित गरिएको थियो ।
अहिले थप विद्यार्थीमा संक्रमण पुष्टि भएपछि सबै परीक्षा स्थगित गर्ने निर्णय गरिएको क्याम्पस प्रमुख डा. न्यौपानेले बताए ।
क्याम्पसमा बिएससिएजीको चौथो र छैटौँ सेमेस्टरको परीक्षा चलिरहेको थियो । दुवै सेमेस्टरमा दुई सयजना विद्यार्थी छन् ।
शिक्षकमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द
कालिकोटको रास्कोट नगरपालिकाका एकजना शिक्षकमा कोरोना संक्रमण देखिएपछि पठनपाठन बन्द गरिएको छ ।
रास्कोट नगरपालिका–२ को मोतीराम माध्यमिक विद्यालयका एकजना शिक्षकलाई कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो ।
शिक्षकमा कोरोना संक्रमण देखिएका कारणले नगरपालिकाभित्रका सबै विद्यालय एक साताका लागि बन्द गरिएको नगर उपमेयर मिमसरा बमले बताइन् ।
विद्यालयका शिक्षकमा कोरोना देखिएको, विद्यार्थी तथा समुदायमा संक्रमण नफैलियोस् भनेर विद्यालय बन्द गरिएको उपमेयर बमले बताइन् । लामो समयदेखि बन्द रहेका विद्यालय मंसिरको अन्तिम हप्ताबाट सञ्चालनमा आएका थिए । रास्कोट नगरपालिकामा यसभन्दा अघि ३५ जनामा कोरोना संक्रमण देखिएको थियो ।