१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २८ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर २८ आइतबार १५:o८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले पैसा नदिए कडा आन्दोलन गर्ने उखु किसानको चेतावनी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर २८ आइतबार १५:o८:oo

उखु मिलले भुक्तानी नदिएपछि सर्लाहीका उखु किसानले आन्दोलन सुरु गरेका छन् । 

चिनी उद्योगबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान काठमाडौं आएर आज (आइतबार) देखि आन्दोलन सुरु गरेका हुन् ।

पहिलो चरणमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने र सरकारले आफूहरूलाई पैसा नदिलाए कडा आन्दोलन गर्ने चेतावनीसमेत किसानले दिएका छन् ।

उखु किसान संघर्ष समिति, सर्लाहीका संरक्षक राकेश मिश्रले यसपटक किसानको पूरै पैसा नपाउँदासम्म आन्दोलन नरोकिने बताए ।

संरक्षक मिश्रले तिहारअगाडि उद्योगमन्त्री लेखराज भट्टलाई भेट गरी स्मरण पत्र बुझाएर छठ पर्वसम्म भुक्तानी दिलाइदिन माग गरे पनि पैसा नआएकाले आफूहरू काठमाडौं आएर आन्दोलन गर्न बाध्य भएको बताए । 

मन्त्रालयले उद्योगीहरूको सम्पर्कमा छौँ भन्ने, तर किसानलाई रकम भुक्तानी गराउन नसक्ने भएकाले सरकार र उद्योगीबीच मिलेमतो भएको हुन सक्ने आशंका पनि किसानको छ ।

यसअघि किसान कात्तिक २३ गते मिल सञ्चालकबाट उखुको रकम भुक्तानी गराउन माग गर्दै काठमाडौं आएका थिए ।

किसानहरूले ०७६ पुस १८ गते मन्त्रालयको उपस्थितिमा किसान र उद्योगीबीच भएको समझदारी कार्यान्वयन नभएको भन्दै उद्योगमन्त्री भट्टको ध्यानाकर्षण गराएका थिए ।

गत वर्ष भएको सम्झौतामा नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्यबमोजिम उखु किसानहरूको सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीहरूले ०७६ माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने उल्लेख छ । 

त्यसैले पनि सरकारले नै उखुको भुक्तानी दिलाउने जिम्मेवारी लिएर पनि दिलाउन नसकेको भन्दै यसपटक किसानले निर्णयक आन्दोलन गर्ने बताएका छन् । उखु किसानहरूले उद्योगीहरूबाट करिब ९० करोड रुपैयाँ उठाउन बाँकी रहेको बताएका छन् ।