१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २८ आइतबार
  • Sunday, 29 September, 2024
एजेन्सी
२o७७ मङ्सिर २८ आइतबार १४:१३:oo
Read Time : > 1 मिनेट
फिचर

नाइजेरियाको एउटा स्कुलमा भएको आक्रमणपछि सयौँ विद्यार्थी सम्पर्कविहीन

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o७७ मङ्सिर २८ आइतबार १४:१३:oo

नाइजेरियाको एउटा विद्यालयमा भएको आक्रमणपछि सयौँ विद्यार्थी हराएका छन् । उनीहरूमध्ये धेरै विद्यार्थी अपहरणमा परेको आशंका गरिएको छ । आक्रमणकारीहरूको नियन्त्रणबाट भाग्न सफल भएका केही विद्यार्थी अभिभावकको सम्पर्कमा आएका छन् ।

मोटरसाइकलमा आएका केही बन्दुकधारीले नाइजेरियाको एउटा सरकारी विद्यालयमा आक्रमण गरेका थिए । उनीहरूले नाइजेरियाको काट्सिनास्थित स्कुलमा आक्रमण गरेका हुन्, जहाँ आठ सयभन्दा बढी विद्यार्थी रहेको जनाइएको छ । उनीहरूले विद्यालयभित्र प्रवेश गरी अन्धधुन्ध गोली चलाएका थिए । त्यसपछि स्कुलभित्र रहेका विद्यार्थीबीच भागदौड मच्चिएको थियो ।

काट्सिना नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीको गृह क्षेत्र हो । राष्ट्रपति बुहारी बिदामा गृह क्षेत्र आएकै वेला शुक्रबार यो आक्रमण भएको छ । राष्ट्रपति बुहारीले घटनाको निन्दा गरेका छन् । ‘म यो घटनाको कडा शब्दमा भत्र्सना गर्दछु । विद्यालयमा पढ्दै गरेका निर्दाेष विद्यार्थीमाथि यो आक्रमण भएको छ,’ राष्ट्रपति बुहारीले विज्ञप्तिमार्फत भनेका छन्, ‘चाँडै नै सबै ठीक हुनेछ । म सबैका लागि प्रार्थना गर्न चाहन्छु ।’

उनले विद्यालयबाट कति विद्यार्थी हराइरहेको भन्नेबारे खोजी गर्न पनि निर्देशन दिएका छन् । विद्यालयबाट कति विद्यार्थी अपहरणमा परेको वा उनीहरूको अवस्था कस्तो छ भन्नेबारे अझै स्पष्ट भएको छैन । यद्यपि, अहिलेसम्म कोही विद्यार्थी घाइते भएको वा मृत्यु भएको समाचार पनि आएको छैन । 

शनिबार सेनाले आक्रमणकारी लुकेर बसेको ठाउँ फेला पारेको जनाएको थियो । सेनासँगको दोहोरो गोली हानाहानपछि आक्रमणकारीहरू त्यहाँबाट भागेको सेनाले जनाएको छ ।

बन्दुकधारीहरूले आक्रमणमा परेको उक्त विद्यालयको नजिक बस्ने स्थानीयलाई उद्धृत गर्दै बिबिसीले तयार पारेको समाचारमा शुक्रबार दोहोरो गोली चलेको आवाज सुनेको र आधा घन्टासम्म निरन्तर चलिरहेको जनाइएको छ ।

सुरक्षाकर्मी पुग्नुअघि विद्यालयका सुरक्षागार्डले आक्रमणकारीहरूलाई अवरोध गर्ने प्रयास गरेका थिए । उनीहरूको प्रयासपछि केही विद्यार्थी विद्यालयको बार नाघेर भाग्न सफल भएका थिए । शनिबार त्यहाँको प्रहरीले विज्ञप्तिमार्फत जनाएअनुसार दोहोरो गोली हानाहानपछि केही आक्रमणकारी पछि हटेको र त्यसपछि केही विद्यार्थी विद्यालयको बार नाघेर भाग्न सफल भएको जनाइएको छ ।

आक्रमणकारीको नियन्त्रणबाट भागेका झन्डै दुई सय विद्यार्थी घर फर्किएका छन् । केही स्थानीयले धेरै विद्यार्थीलाई आक्रमणकारीले उनीहरूसँगै लिएर गएको देखेको बताएका छन् । गोली हानाहानमा एकजना प्रहरी घाइते भएका छन् । उनलाई अस्पतालमा भर्ना गरिएको छ ।

धेरै स्थानीयले शनिबार हराइरहेका विद्यार्थी खोजी गर्न प्रहरीलाई सहयोग गरेका थिए । ‘विद्यालय सुनसान भएको छ । सबै विद्यार्थी निकालिएको छ,’ प्रत्यक्षदर्शी दुरा अब्दुल्लाहले भनेका छन् । उक्त घटनापछि काट्सिना सहरको सबै बोर्डिङ स्कुल बन्द गरिएको छ ।

नाइजेरियाको अर्काे सहरमा यो घटना हुनुभन्दा दुई दिनअघि मात्रै एकजना स्थानीय नेतासहित २० जना अपहरणमा परेका थिए । त्यसलगत्तै यो घटना भएको छ । नाइजेरियामा सन् २०१४ मा बोकोहरामले दुई सय ७० जना छात्रालाई विद्यालयबाट अपहण गरेको थियो । बोकोहरामले चिबुक सहरको एउटा विद्यालयबाट उनीहरूलाई अपहरण गरेको थियो । विद्यालयमाथिको यो आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । 

नाइजेरियाको बलियो विद्रोही बोकोहरामले पनि यो आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । यद्यपि, यो क्षेत्रलाई बोकोहरामको क्षेत्र मानिँदैन ।