नागढुंगा सुरुङ खन्ने (होल खोप्ने) काम १० पुसदेखि थालिने भएको छ । अहिले सुरुङ खन्नुपूर्व ‘सेट’ गर्नुपर्ने ढोकाको चौकोस आकारको स्टिलको पोर्टल फ्रेम ल्याउने काम भइरहेको नागढुंगा सुरुङमार्गका निमित्त आयोजना प्रमुख नरेशमान शाक्यले बताए । ‘पोर्टल फ्रेम सेट गर्न १० दिन लाग्छ, त्यसअनुसार १० पुसदेखि सुरुङ गर्न थाल्नेछौँ,’ उनले भने ।
यसअघि २४ कात्तिकदेखि सुरुङ खन्ने काम थाल्ले योजना भए पनि स्टिलको पोर्टल फ्रेम आइपुग्न ढिला भएकाले सुरुङ खन्ने काम पछाडि धकेलिएको थियो । शाक्यका अनुसार पोर्टल फ्रेम तयारीका लागि अर्डर दिएको कम्पनीका कर्मचारी कोरोना संक्रमित हुँदा ढिलाइ हुन पुगेको हो ।
काठमाडौंको बलम्बुबाट थालनी भई धादिङको सिस्ने खोलामा निस्किने सुरुङमार्गको शिलान्यास गरेको वर्ष दिन नाघिसकेको छ । गत वर्ष प्रधानमन्त्री केपी ओलीले आयोजनाको शिलान्यास गरेका थिए । सुरुङ र सडक गरी कुल ५ दशमलव १३ किलोमिटर लामो आयोजनामा तीन लेनको सुरुङमार्ग हुनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् भने बाहिरिने सवारीसाधन एक लेनबाट जानेछन् । यस मार्गमा सुरुङको कुल लम्बाइ २ दशमलव ६ सय ८८ किमि र सडकको लम्बाइ २ दशमलव ४५ किमि हुनेछ ।
आयोजना कार्यालयका अनुसार अहिले सुरुङ खन्नेबाहेकका काम भइरहेका छन् । विशेष गरी सुरुङ खन्नुपूर्व गर्नुपर्ने कामलाई गति दिएको छ । अहिले सुरुङमार्गसम्मको साढे २ किलोमिटर पहुँचमार्ग निर्माण, सर्भिस सेन्टर निर्माण, स्लोप कटिङ र अन्य काम भइरहेको निमित्त आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । अहिले आयोजनास्थलमा २ सय ५० कामदार परिचालन गरिएको छ । त्यस्तै, जापानदेखि २५ जना सुरुङ निर्माणमा दक्ष कामदार काममा खटिएका छन् ।
आयोजना निर्माण कम्पनी जापानको हाज्मा आन्दो कर्पोरेसनसँग निर्माण सम्झौता हुँदा निर्माण थालिएको ४२ महिनामा सम्पन्न गर्ने भनिएको छ, त्यसैअनुसार ५ कात्तिक ०७६ मा उद्घाटन भएको थियो । त्यसअनुसार १२ महिना बितिसकेको छ । ‘अहिलेसम्म कार्ययोजनामा कुनै परिवर्तन भएको छैन । यसअनुसार अबको ३० महिनामा आयोजना सम्पन्न हुन्छ,’ निमित्त प्रमुख शाक्यले भने । सुरुङमार्ग निर्माणबारे ६ असोज ०७६ मा जापानको हाज्मा आन्दो कर्पोरेसनसँग ठेक्का सम्झौता भएको थियो ।
कोभिडका कारण आयोजना लागत थोरै बढ्ने सम्भावना रहेको आयोजना कार्यालयले जानकारी दिएको छ । जग्गा प्राप्तिसमेत गरेर अहिलेसम्म आयोजनाको लागत २२ अर्ब रुपैयाँ छ । जग्गा प्राप्तिबाहेक सुरुङमार्गको लागत रकम १६ अर्ब ६९ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ ।
निर्माणमा लाग्ने सबै रकम जापानी सहुलियत ऋण हो । सरकारले १० वर्षसम्म यसको ब्याज तिर्नुपर्दैन । त्यसपछि भने शून्य दशमलव ०१ प्रतिशतका दरले प्रतिवर्ष ब्याज भुक्तानी गर्नुपर्नेछ । ३० वर्षभित्र ऋण चुक्ता गरिसक्नुपर्नेछ । त्यस्तै, नेपाल सरकारले ५ अर्ब ५० करोड रुपैयाँ मुआब्जामा खर्च गरिसकेको छ ।