सालझन्डी–ढोरपाटनखण्ड आयोजनाको काम १४ वर्षमा ३० प्रतिशत मात्र सम्पन्न भएको छ। पहाडी जिल्लालाई तराईसँग जोड्नका लागि ०६७ देखि सुरु भएको आयोजनाको कामले गति लिन नसकेको हो।
रूपन्देहीको सालझन्डीबाट सुरु भएको सडकले पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ गरी पाँच जिल्लालाई जोडेको छ। नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने मुख्यमार्गका रूपमा रहेको यो खण्डको ट्र्याक खुलेदेखि स्तरोन्नति हुन नसकेको हो।
सालझन्डीबाट ढोरपाटनसम्म १९७ किलोमिटर लामो यो खण्डअन्तर्गत हालसम्म १८ किलाेमिटर मात्रै कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ। सोमध्ये रूपन्देहीमा ४.५ किलाेमिटर र अर्घाखाँचीमा १३.५ किलाेमिटर मात्रै सडक कालोपत्र भएको सालझन्डी–ढोरपाटन सडक आयोजना कार्यालयकी सूचना अधिकारी इन्जिनियर कृष्टिना थापाले जानकारी दिइन्। अहिले पाँचवटै जिल्लाका विभिन्न खण्डमा ग्राभेलिङसहित काम भइरहेका उनले बताइन्।
इन्जिनियर थापाका अनुसार बागलुङको बुर्तिबाङबाट फल्लेघरसम्मको २२ किलाेमिटर ग्राभेल हुँदै छ भने रूपन्देही र पाल्पाको खण्डअन्तर्गत कञ्चनखोलाबाट खुर्सानेसम्म १३.५ किलाेमिटर कालोपत्र भइरहेको छ। उनले पाल्पाको खुर्सानेबाट अर्घाखाँचीको पतौटसम्मको २२ किलाेमिटर सडक पनि कालोपत्र भइरहेको जानकारी दिइन्।
त्यस्तै, अर्घाखाँचीको माटेबाट भण्डारासम्म सात किलाेमिटर, गुल्मीको पुर्कोटदहबाट सिर्सेनीसम्मको १९ किलाेमिटर, सिर्सेनीबाट गुल्मीको अर्खबाङसम्मको ८.२ किलाेमिटरसडक कालोपत्र भइरहेको थापाले जानकारी दिइन्। अर्घाखाँचीमा १८, गुल्मी र बागलुङ सात–सात गरी ३२ किलाेमिटर सडक स्तरोन्नतिको काम अझै सुरु हुन नसकेको उनले जानकारी दिइन् । पर्याप्त बजेट नआउँदा आयोजनाको प्रगति कम भएको उनकाे भनाइ छ।
ट्र्याक खुलेको लामो समयसम्म सडक स्तरोन्नति नहुँदा ढोरपाटन पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नुपरेको ढोरपाटन– ९ का बमबहादुर सुनारले बताए। साँघुरो सडक, खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारीसाधन बिचबाटोमा बिग्रिने हुँदा अलपत्र पर्ने गरेका उनको भनाइ छ।
बर्खाको समय ठप्प हुने भन्दै हिउँदको समयमा पनि यातायातका साधन सहज रूपमा सञ्चालन हुन नसक्ने सुनारले बताए। ‘यो विकट ठाउँमा सडक आएपछि ठुलो राहत भए पनि लामो समयसम्म कालोपत्र नहुँदा यहाँका हजारौँ स्थानीय र पर्यटकले दुःख पाउँदै आएका छन्,’ उनले भने, ‘टाढाटाढाबाट पर्यटक ढोरपाटन घुम्न आउँछन्, तर बाटोको दुरवस्थाले गर्दा अर्कोपटक आउने योजना सायद बनाउँदैनन्।’