मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २ मंगलबार
  • Tuesday, 17 December, 2024
२o८१ पौष २ मंगलबार १५:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सबै तहका सरकार जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्छ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २ मंगलबार १५:५६:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरू जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन्। ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसमा अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतंकको पर्याय नभई रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमन्ड र तनाव नलिई सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए।

'नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नुपर्छ। नगर प्रहरी आउँदा जनता आफ्ना सरसामान हत्तपत्त लुकाएर कहाँ भाग्ने भन्ने आतंकमा रहनुपर्ने अवस्था हुनुहुँदैन।' प्रधानमन्त्री ओलीले भने, 'हामी जनताका सेवक हौँ। हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनुपर्छ। हामीभित्र घमण्ड पस्नुहुँदैन। तनाव लिने र दिने काम पनि गर्नुहुँदैन। हामीले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटामो तीव्रताका साथ अगाडि बढ्नुपर्छ।'

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फैलाइएकाप्रति सचेत हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारीवृद्धिका साथै थुप्रै ठुला उद्योगहरू सञ्चालनमा आएका बताए।

अहिलेको नाजुक अवस्थालाई सम्हालेर केही वर्षभित्र नेपाललाई माथि उठाउन सरकार दत्तचित्त भएर लागेको पनि बताए। उनले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र विसं २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको बताए। आफू पहिला प्रधानमन्त्री हुँदा नौ लाख मानिसलाई निरपेक्ष गरिबीको रेखाबाट तल झारिएको सन्दर्भ पनि प्रधानमन्त्री ओलीले स्मरण गरे।

विभिन्न क्षेत्रमा योगदानकर्तालाई महानगर गौरव सम्मानबाट पुरस्कृत गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले महानगरपालिकाको एकद्वार प्रणाली, विद्युतीय नक्सापास प्रणाली र फोहोर संकलनका लागि मोबाइल एप्सको शुभारम्भ गरे।