१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस
२०७७ मङ्सिर २० शनिबार १२:५७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा आन्दोलनरत किसानद्वारा भारत बन्दको घोषणा

Read Time : < 1 मिनेट
रासस
२०७७ मङ्सिर २० शनिबार १२:५७:००

भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना माग पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरि बन्दको आह्वान गरिएको उनीहरूले बताएका छन् ।

किसानहरूका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत भारत बन्दको आह्वान गरिएको जानकारी दिए । आफ्ना माग पूरा गर्नका लागि शनिबारको वार्तामा पनि सरकारले पर्याप्त लचकता नदेखाएमा देशभरि बन्द गराइने उनले बताए । 

कृषिसम्बन्धी नयाँ कानुनप्रति असन्तुष्टि जनाउँदै भारतमा केही समयदेखि किसानहरू देशव्यापी रूपमा आन्दोलित छन् । किसान नेता हर्भिन्डर सिंह लख्वाले भने, ‘हाम्रो बैठकले आफ्ना माग पूरा गर्न सरकारलाई दबाब दिनका लागि यही डिसेम्बर ८ तारिखका दिन भारत बन्दको आह्वान गर्ने निर्णय गरेको छ ।’ 

हालै ल्याइएका कृषिसम्बन्धी कानुन रद्द नगरिएमा देशव्यापी बन्दअन्तर्गत सबै सडकमा अवरोध गरिने उनले बताए । 

सरकारले ल्याएको कानुन लागू भएपछि किसानहरू थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मूल्य नपाउने दाबी आन्दोलनरत किसानहरूको छ । 

केही महिनाअगाडि नै पारित भएको कानुनप्रति किसानहरूले त्यतिवेलादेखि नै असन्तुष्टि जनाउँदै आए पनि आन्दोलन भने केही समयअगाडिदेखि मात्रै सुरु भएको हो । 

अहिले केन्द्रीय राजधानी नयाँदिल्लीलाई समेत प्रभावित पार्ने गरी आन्दोलन सुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ । 

आन्दोलन चर्किदै गएपछि सरकारले किसानहरूसँग पटक–पटक वार्ता पनि गरेको छ । तर, वार्ता परिणाममुखी हुन सकेको छैन ।