मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रमोद धिताल
२०७७ मङ्सिर १८ बिहीबार ०९:४२:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कम्युनिस्ट आन्दोलन र सांस्कृतिक पाखण्ड

Read Time : > 5 मिनेट
प्रमोद धिताल
२०७७ मङ्सिर १८ बिहीबार ०९:४२:००

कम्युनिस्ट आन्दोलनभित्र भाग्यवाद र साम्राज्यवादी भोगवादले जबर्जस्त घुसपैठ गरेको छ

 निरंकुश राजतन्त्रात्मक सामन्तवादी व्यवस्थाको अन्त्य भएर गणतन्त्रको स्थापना भएको डेढ दशक हुन थालिसक्यो । राजनीतिक परिवर्तनसँगै सामन्तवादी मूल्य, विचारधारा र अभ्यासमा परिवर्तन भयो कि भएन ? नयाँ सामाजिक व्यवस्थाको वकालत गर्ने पार्टी र सरकारको अभ्यासमा नयाँ संस्कृतिका लक्षण छन् कि छैनन् ? भाग्यवादी चिन्तनको ठाउँ वैज्ञानिक चिन्तनले लिन सक्यो कि सकेन ? यी गम्भीर सवाल हुन् । 

यी सवालका सकारात्मक उत्तर हामीले भेटिरहेका छैनौँ । मालिक र ठालुतन्त्रको रजगज चलेकै छ । यतिखेर पनि लैंगिक शोषण–उत्पीडन कायम छ । जातीय विभेद र उत्पीडन कायमै छ । राजा–रजौटा प्रवृत्तिले शासन गरेकै छ । चाकडी, नातावाद र भनसुनको संस्कृतिले जरो गाडेकै छ । सांस्कृतिक पछौटेपन यथावत् छ । भाग्यवादी सोच र चिन्तन व्यापक छ । वैज्ञानिक सोच र चिन्तनको धज्जी उडाउने काम भई नै रहेका छन् । नेपालको कम्युनिस्ट आन्दोलनभित्र सांस्कृतिक एजेन्डा सधैँभरि उपेक्षाको विषय बन्यो । अहिलेको सत्ताको चरित्र जे जस्तो देखिन्छ, त्यसले शोषकवर्गीय संस्कृतिको अन्त्य गरी उत्पीडित वर्गको पक्षमा वैज्ञानिक, समतामूलक र उन्नत संस्कृतिको निर्माण गर्ने संकेत देखिँदैन । बरु अहिले पनि ती सबै जनविरोधी, शोषणकारी र अवैज्ञानिक संंस्कृतिलाई निरन्तरता दिइरहेका छन् । कुरा समाजवाद–साम्यवादका छन्, व्यवस्था पुँजीवादी छ । 

विश्वका कम्युनिस्ट क्रान्तिका घटनालाई हेर्ने हो भने पनि सांस्कृतिक आन्दोलनको महत्व स्वतः प्रस्ट हुन्छ । चीनमा नयाँ जनवादी क्रान्तिपश्चात् पनि विचारधारात्मक वर्गसंघर्षको अन्त्य भएन । सर्वहारा र बुर्जुवा दुवै वर्ग आ–आफ्नो विश्वदृष्टिकोणअनुसार समाजलाई बदल्ने कोसिस क्रान्तिपश्चात् पनि गरी नै रहन्छन् । सन् १९६६ देखि माओको अगुवाइमा सञ्चालित ‘महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ वर्गसंघर्षकै निरन्तरता थियो । मानिसभित्र विद्यमान पुरानो चिन्तन, विचारधारा, आदत र व्यवहार परिवर्तनका लागि सुरु गरिएको त्यो एउटा ऐतिहासिक आन्दोलन थियो । त्यसका बाबजुद पनि चीनमा प्रतिक्रान्ति भयो । 

धेरैजसो मानिस कम्युनिस्ट पार्टी, आन्दोलन र राजनीतिको वरिपरि त आउँछन्, तर आजीवन गैरकम्युनिस्ट चिन्तन, संस्कृति र व्यवहारलाई पक्षपोषण गर्दै हिँडिरहन्छन् । एउटै व्यक्ति कम्युनिस्ट पार्टीको कार्यकर्ता पनि छ, धर्मको प्रचारक पनि उही छ । 
 

विगतका अनुभवबाट पाठ सिक्दै वैचारिक, सामाजिक र सांस्कृतिक एजेन्डाहरू दैनिक राजनीतिभित्रकै एजेन्डा हुन् भनेर नेपालको कम्युनिस्ट आन्दोलनले व्यवहारतः स्वीकार गर्न नसक्नु दुःखद कुरा हो । आन्दोलनका समस्या भनेको अन्ततः व्यक्ति नेतृत्व र कार्यदिशाकै समस्या हुन् । जसरी राज्यसत्ता र राजनीतिमा भएको परिवर्तनले पूरै संस्कृतिमा र मानिसको सोच्ने तौरतरिकामा परिवर्तन ल्याउँछ, त्यसरी नै संस्कृतिले पनि पूरै राजनीतिक–आर्थिक व्यवस्थामा परिवर्तनका लागि वातावरण तयार गर्ने काम गर्छ । शोषणकारी राज्यसत्ताको अन्त्यका लागि वातावरण तयार गर्ने कामको सुरुवात विचारधारात्मक आन्दोलनबाटै हुने हो । एउटा बिन्दुमा पुगेर त्यसले भौतिक संघर्षको रूप लिन्छ र आर्थिक–राजनीतिक–सामाजिक व्यवस्थामा परिवर्तन आउँछ । पुरानो विचारधारा र संस्कृतिका विरुद्धमा संघर्ष जारी राखिएन भने प्रतिक्रान्ति त्यहीँनेरबाट सुरु हुन्छ । तसर्थ, सांस्कृतिक आन्दोलन भनेको नयाँ मानव निर्माण गर्नका लागि निरन्तर चलाइराख्नुपर्ने आन्दोलन हो । 

धेरैजसो मानिस कम्युनिस्ट पार्टी, आन्दोलन र राजनीतिको वरिपरि त आउँछन्, तर आजीवन गैरकम्युनिस्ट चिन्तन, संस्कृति र व्यवहारलाई पक्षपोषण गर्दै हिँडिरहन्छन् । एउटै व्यक्ति कम्युनिस्ट पार्टीको कार्यकर्ता पनि छ, धर्मको प्रचारक पनि उही छ । एउटै व्यक्ति श्रमजीवी वर्गको सहयात्री र साम्राज्यवादी–उपभोक्तावादी संस्कृतिको अभ्यासकर्ता पनि छ । उही व्यक्ति महिला उत्पीडक पनि छ । उही अघि सरेर समाज रूपान्तरणको वकालत र जातीय विभेद एकसाथ गर्छ । सांस्कृतिक रूपान्तरणको बाटोमा यस्ता विरोधाभासको छेलोखेलो छ । एउटै आदर्शभित्र फरक–फरक दृष्टिकोणको अभ्यास भइरहेको छ । कम्युनिस्ट आन्दोलनभित्र भाग्यवाद र साम्राज्यवादी भोगवादले जबर्जस्त ढंगको घुसपैठ गरेको प्रमाण हो, यो । 

संंघर्षको स्वरूप जनताको स्तरबाट उठान गर्दै जानु, तर सिद्धान्तलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी स्तरबाट आमजनताको बीचमा प्रशिक्षित गर्दै जानु क्रान्तिकारीको दायित्व हो । संघर्षको स्वरूप मनोगत रूपमा आफ्नो स्तरबाट जनतामाथि थोपर्ने र सिद्धान्तको सवालमा आमजनताको वैचारिक–सांस्कृतिक स्तरमा झरेर सम्झौताको बाटो चल्ने उल्टो काम हुँदै आएको छ । यी दुवै गलत अभ्यास हुन् । श्रमजीवी वर्गको रूपान्तरणको समस्या भनेकै नेतृत्व तहको रूपान्तरणको समस्या हो । नेतृत्व कुरा समाजवादको गर्छ, अभ्यास सामन्तवादी र पुँजीवादी संस्कृतिको गर्छ । चिन्तन र व्यवहार कुनै पनि हिसाबले उसमा अनुकरण गर्न सकिने क्रान्तिकारी संस्कृतिका लक्षण छैनन् भने ऊ आमूल परिवर्तनकारी र श्रमजीवी संस्कृतिको अगुवा हुन सक्दैन । यस्तो नेतृत्व पंक्तिका कारण आमजनताको बीचमा आन्दोलन र विचारप्रति भ्रम मात्र सिर्जना हुन्छ । 

विचार, दर्शन, आचरण र विज्ञानको सवालमा खेलबाड चल्दैन । केवल इमानदारिता मात्र चल्छ । तर, यी प्रश्नलाई कूटनीतिक खेल र छलछामको विषय बनाउन खोज्दा कम्युनिस्ट आन्दोलन सांस्कृतिक आन्दोलनको अगुवा बन्न सकेन । जसको परिणाम यसले प्रतिक्रान्ति पनि आफूभित्रै बोकेर हिँडिरह्यो । फलस्वरूप, नेपालको कम्युनिस्ट आन्दोलनभित्र जुन गतिमा क्रान्तिकारी रूपान्तरणका घटना घटेका छन्, त्यसभन्दा तीव्र गतिमा प्रतिक्रान्ति भएका छन् । प्रतिक्रान्तिको आधारभूमि त समाजभित्र सुरुदेखि नै उपस्थित हुन्छ । त्यससँग लड्नका लागि नयाँ सांस्कृतिक आधार तयार गर्नुपर्ने हुन्छ । ठोस एवं नियमित कार्यक्रम नै तय गर्नुपर्ने हुन्छ । जब यसलाई भौतिक, कानुनी या प्रशासनिक ढंगले समाधान गर्न खोजिन्छ, त्यसले नै समस्या निम्त्याउँछ । तर, विडम्बनाको कुरा सांस्कृतिक रूपान्तरणको मुद्दालाई निरन्तर क्रान्तिको सिद्धान्तबाट अलग राखेर यान्त्रिक परिपाटीकै सिकार भएको छ, कम्युनिस्ट आन्दोलन । 

नेपालको कम्युनिस्ट आन्दोलनभित्र सांस्कृतिक रूपान्तरण चिन्तन, कर्म, आचरण र अभ्यासमा ढाल्ने प्रयत्न जति भयो, त्योभन्दा बढी पाण्डित्य र पाखण्ड प्रदर्शनको विषय बन्दै आएको छ । क्रान्तिको पहिलो निसाना आफू बन्नुपर्छ भन्दै पार्टी कार्यकर्तालाई घर छोड्न, सम्पत्ति पार्टीलाई बुझाउन, भौतिक सुविधा त्याग्न अपिल गर्र्ने नेतृत्व पंक्ति आफैँभित्र चाहिँ त्यो इमानदारिताको अभाव देखिन्छ । ‘विद्रोह गर्नु जनताको अधिकार हो’ भन्दै कार्यकर्तालाई विद्रोही बन्न, आलोचनात्मक बन्न र संघर्ष गर्न प्रेरित गर्ने नेतृत्व पंक्ति आफ्नै हकमा चाहिँ किन भाक्तिमार्गको अभ्यास गर्छ ? दुनियाँलाई विद्रोहको पाठ पढाउँदै हिँड्ने नेताहरू जब प्रश्न, आलोचना र विद्रोह आफैँप्रति लक्षित हुन्छ, त्यसप्रति उनीहरू सधैँ असहिष्णु किन हुन्छन् ? सर्वहाराकरण शब्दको विज्ञापन गर्दै रातारात बुर्जुवा वर्गको मतियारमा किन परिणत हुन्छन् ? चप्पल र झुपडीबाट सुरु भएको क्रान्तिकारी जीवनको यात्रा आलिशान महलवाला पुँजीपतिमा गएर कसरी टुंगिन्छ ? वर्गीय र समाज मुक्तिको ध्येयबाट सुरु हुने आन्दोलनहरू केही मुठ्ठीभर व्यक्तिलाई मालिक बनाउने ठाउँमा पुगेर किन टुंगिन्छन् ?

आजीवन क्रान्तिकारिताको वकालत गर्ने व्यक्ति जब प्रतिक्रियावादी सत्ताअन्तर्गतको सरकारमा सहभागी हुन्छ, उसलाई सदाकाल त्यही कुर्सी प्रिय किन लाग्छ ? समाज रूपान्तरणकारी आन्दोलनमा गरेको लगानी र त्यागको साँवा–ब्याज असुल्ने मानसिकता कति क्रान्तिकारी हो ? 

एक दशकअगाडि ‘सर्वहाराकृत’ भएर आन्दोलन र क्रान्तिमा होमिएको योद्धा ‘लाल बादशाह’ बनेर देखा पर्छ । अर्को एक दशकपछाडि सत्ता, शक्तिका बुर्जुवा अवसरहरूको पोखरीमा पौडिँदापौडिँदै जनविरोधी शासक बनेर उदाउँछ । त्यसपछि दुनियाँमा उपलब्ध सबै सुख, सुविधा, सत्ता र अवसर भोग गर्नबाट उसलाई कुनै तागतले रोक्न सक्दैन । सांस्कृतिक रूपान्तरणको आन्दोलन जीवनको एउटा कालखण्डमा उठान गर्ने, एउटा कालखण्डमा लागू गर्ने र अर्को कालखण्डमा त्याग्ने विषय होइन । 

जब नेतृत्व पंक्ति अवसरवादी हुन्छ, उसभित्र बुर्जुवा सौन्दर्यबोध हावी हुन्छ । आवश्यकताको आफूअनुकूल सिद्धान्त तयार गर्छ । रूपान्तरित हुन नसकेको आफ्नो बुर्जुवा दृष्टिकोण, सौन्दर्यबोध, व्यवहार र विचलनलाई वैधानिकता दिलाउन उनीहरूले अनेक तर्कको उत्पादन गर्छन् । अनि यही दिशामा सिंगो आन्दोलन र कार्यकर्ता पंक्तिलाई उन्मुख गराउँछन् । जसको परिणाम पूरै नेतृत्व, पार्र्टीपंक्ति, कार्यकर्ता उत्पीडित र श्रमजीवी वर्गबाट टाढा हुँदै जान्छन् र आन्दोलन अवसरवादी भासमा गएर सिद्धिन्छ । 

हाम्रो देशमा सबै ‘कम्युनिस्ट’ अगुवा नयाँ युगको क्रान्ति नयाँ ढंगले हुने कुराको दाबी गर्छन् । त्यसका लागि उनीहरू माक्र्स, लेनिन, माओ र स्टालिनकालीन चेतनाभन्दा माथि उठ्नुपर्ने तर्क पनि गर्छन् । निश्चय पनि समाज हिजोको ठाउँमा छैन । विचारलाई थप उन्नत बनाउनुपर्ने कुरामा दुईमत हुन सक्दैन । तर, के क्रान्तिकारी आदर्श, संस्कृति, नैतिकता र आचरणको हिसाबले विश्व कम्युनिस्ट आन्दोलनका ती धरोहरहरूको समकक्षमा राख्न मिल्ने हैसियतमा छन्, यतिखेरका ‘कम्युनिस्ट’ भनिएका अगुवाहरू ?

नयाँ युगको क्रान्तिका लागि विचार चेतनाभन्दा माथि उठ्नुपर्ने कुरा तर्कमा जति सत्य देखिन्छ, अन्तर्यमा त्यत्तिकै बनावटीपूर्ण पनि । बरु यो तर्क विचलनलाई वैधानिकता दिने राजनीतिक धुत्र्याइँ हो । आखिर नयाँ र उन्नत चेतना उच्च नैतिकता, वर्गसमर्पण र आचरणसँगै निर्माण हुँदै जाने कुरा हो । आजीवन क्रान्तिकारिताको वकालत गर्ने व्यक्ति जब प्रतिक्रियावादी सत्ताअन्तर्गतको सरकारमा सहभागी हुन्छ, उसलाई सदाकाल त्यही कुर्सी प्रिय किन लाग्छ ? समाज रूपान्तरणकारी आन्दोलनमा गरेको लगानी र त्यागको साँवा–ब्याज असुल्ने मानसिकता कति क्रान्तिकारी हो ? नयाँ पुस्ताका लागि यी सवाल समीक्षाका विषय बन्नैपर्छ । 

भौतिक रूपान्तरण सपाट र ठम्याउन सरल–सहज हुन्छ । तर, आत्मिक रूपान्तरणको प्रकृति धेरै सूक्ष्म हुन्छ । आत्मिक रूपान्तरणका लागि आत्मसंघर्षको जरुरत बेसी पर्छ । बाहिर छर्लंगै देखिने सामन्तवाद, अवसरवाद, उभोक्तावाद जति खतरनाक छ, त्योभन्दा झनै खतरनाक छ, नदेखिने गरी बसेको अवचेतन सांस्कृतिक सत्ताको आसन । त्यो सत्ताको विरुद्ध निरन्तर, अथक र योजनाबद्ध भिडन्त गर्दै जानु यतिखेरको आवश्यकता हो । कुनै बिन्दुमा गएर यो निकै उथलपुथलकारी, पीडादायी र छलाङमय पनि हुन्छ । जो वर्गसंघर्षकै एउटा रूप हो । सांस्कृतिक रूपान्तरण भनेकै सांस्कृतिक पुनर्जन्म हो । जसअन्तर्गत मानिसले आफूभित्रको पुरानो मानिसलाई भत्काउँछ र आफूलाई पुनर्जन्म दिन्छ । आफूसँगसँगै समाजलाई बदल्ने यात्रामा योभन्दा अर्को कुनै विकल्प छैन । यदि हामी स्व–रूपान्तरणको यो प्रक्रियामा आफैँप्रति निर्मम बन्न सकेनौँ भने हामीभित्र अपराजित भएर बसेको अवचेतन सांस्कृतिक सत्ताले अनुकूल छिद्र भेट्नेबित्तिकै जतिखेर पनि पराजित गर्न सक्छ । जसको सिकार आज नेपालको कम्युनिस्ट आन्दोलन हुन पुगेको छ ।