मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ पौष १९ शुक्रबार १५:२o:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

भर्चुअल रियालिटीमा छाउपडी प्रथा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार १५:२o:oo

सुदूरपश्चिमकी १३ वर्षे एक किशोरी पहिलोपटक महिनावारी भएपछि मन पर्ने गायकको सांगीतिक कार्यक्रममा जान पाइनन् । उनी आफैँ पनि गायनमा रुचि राख्ने भएकाले सांगीतिक कार्यक्रममा जानु उनका लागि ठुलो रहर थियो । महिनावारी भएपछि उनी छाउपडी प्रथाका कारण छाउगोठमा बस्न बाध्य भइन् । उनी एकाएक छाउगोठको अँध्यारो कोठामै सीमित भइन् ।

यसले उनलाई शारीरिकसँगै मानसिक रूपमा पनि विक्षिप्त बनायाे । किशोरीले छाउगोठमा अनुभव गरेको मनोभावनालाई दुई नेपाली किशोरले भर्चुअल रियालिटी (भिआर)मा उतार्ने भएका छन् । अमेरिकाको ड्रेक्सेल विश्वविद्यालयमा अध्ययनरत यी दुई विद्यार्थीले ‘एक गोठभित्रको आवाज’ शीर्षकमा चलचित्र निर्माण गर्न लागेका हुन् ।

‘चलचित्रमा छाउगोठमा ती किशोरीले भोेगेको शारीरिक र मानसिक संघर्षलाई देखाउँदै महिनावारीसँग सम्बन्धित सामाजिक कुरीतिबाट महिलाले भोग्नुपर्ने दुःख र पीडालाई उजागर हाम्रो विश्वास छ,’ प्रसन्न सुवेदीले भने । सुवेदी ड्रेक्सेल विश्वविद्यालयमा फिल्म स्टडिजमा चौथाे वर्षका विद्यार्थी हुन्। उनले विश्वविद्यालयका ‘प्रोजेक्ट वर्क’का रूपमा ड्रेक्सेलको वेस्टफाल कलेज अफ मिडिया आर्टस् एन्ड डिजाइनका विद्यार्थी प्रसिन श्रेष्ठसँग उक्त चलचित्र बनाउने निर्णय गरेका हुन् । हालै चलचित्रको कार्यकारी निर्माताका रूपमा अभिनेत्री सुरक्षा पन्त पनि जोडिएकी छिन् ।

कलेजका साथीहरू हेमन्ता अधिकारीलाई लेखन र मेधावी पण्डितलाई कथावाचकको जिम्मेवारी दिइएको छ । अमेरिकाका क्रिस सेल ध्वनि डिजाइनर छन् भने फोली आर्टिस्ट, म्याथु लेसी र भियतनामका टिन टा ‘कन्सेप्ट आर्टिस्ट’का रूपमा जोडिएका छन् । नेपालकै उत्सव चौधरी भिआर परामर्शदाताका रूपमा काम गरिरहेका छन् । सुवेदी भैरहवामा जन्मेर काठमाडौंमा हुर्केका हुन् भने श्रेष्ठ काठमाडौंमा जन्मे–हुर्केका हुन् । सुवेदी र श्रेष्ठले आफ्नो बाल्यकालमा छाउपडीको कुनै न कुनै रूपमा अभ्यास गरेको देखेका थिए । ठाउँ समाजमा महिनावारीको समयमा महिलाले पानी नछुने, खाना नपकाउने वा कुनै पुरुष आफन्तलाई नछुनेजस्ता अभ्यास उनीहरूले पनि बुझेका थिए ।

यस चलचित्रले मुख्य उद्देश्य छाउपडी प्रथाका कारण महिलाहरूले भोग्ने सामाजिक अपमान, हिंसा र अन्यायलाई दर्शकहरू माझ जीवन्त रूपमा प्रस्तुत गर्नु हो । आधुनिक प्रविधिको प्रयोगबाट महिलामाथिको शारीरिक, मानसिक र सामाजिक विभेदबारे जनचेतना फैलाउने यो परियोजना महिला अधिकार, प्रजनन स्वास्थ्य र लैंगिक समानताका लागि सशक्त कदम भएका सुवेदीको भनाइ छ ।

भर्चुअल रियालिटी (भिआर) प्रविधिको प्रयोग गरी दर्शकलाई छाउगोठभित्रको साँघुरो, अँध्यारो र असुरक्षित वातावरणको अनुभव गराउने लक्ष्य फिल्मले लिएको छ । ‘भिआर हेडसेट लगाएर दर्शकले तीन किशोरी पात्र बनेर छाउगोठको वातावरण महसुस गर्न सक्नेछन् । यो प्रविधिले परम्परागत ‘टुडी’ फिल्मभन्दा फरक अनुभव प्रदान गर्नेछ । भिआर प्रविधिले दर्शकलाई चारैतिरबाट दृश्य र आवाज अनुभव गर्न सक्ने बनाउँछ, जसले कथा अझ प्रभावकारी र वास्तविक बनाउँछ,’ प्रसिन श्रेष्ठले भने ।

चलचित्र वास्तविक घटनामा आधारित भई निर्माण गरिएकाले ग्रामीण जीवनका वास्तविक दृश्यहरू पनि समेटिनेछ । निर्देशक सुवेदीले भने, ‘भिआर प्रविधिले केवल कथा मात्रै देखाउँदैन, दर्शकलाई प्रत्यक्ष रूपमा घटनामा सहभागी गराउँछ । यसले सामाजिक अन्यायको अनुभवलाई अझ सजीव बनाउँछ ।’ फिल्म निर्माणका लागि सुवेदी र श्रेष्ठको टोलीले नेपालका सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा पुगेर अध्ययनसमेत गरिसकेका छन् । उनीहरूले कैलाली र डोटीका गाउँहरूमा एक हप्ता बिताएर छाउपडी प्रथाको वास्तविकता नजिकबाट बुझेको बताए ।

उनीहरूले मोहन्याल गाउँपालिका सोल्टा र बडिगाउँलगायतका क्षेत्रमा स्थानीय महिलाका साथै समुदायका अगुवा र स्वास्थ्यकर्मीसँग अन्तर्क्रिया गरिसकेका छन् । उनीहरूले राष्ट्रिय माध्यमिक विद्यालय श्रीपुर पाल्सा र त्रिवेणी माध्यमिक विद्यालय बडिगाउँका शिक्षक तथा विद्यार्थीसँग अन्तर्क्रिया गर्नुका साथै एकजना शिक्षकको समन्वयमा काम गरिरहेका छन्।

टोलीले छाउपडी प्रथासँग जोडिएको स्थानीय भाषा, संस्कृति, र संगीतलाई पनि चलचित्रमा समावेश गरेको छ । कैलालीको मोहन्याल गाउँपालिकामा पुगेको टोलीले देउडा भाका र ग्रामीण जनजीवनलाई उतार्ने प्रयास गरिएको जनाइएको छ । नेपालमा छाउपडी प्रथा कानुनतः प्रतिबन्धित छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार छाउपडीजस्तो प्रथामा संलग्न हुनेलाई तीन महिना कैद वा रु. तीन हजारसम्म जरिवाना वा दुवै सजाय तोकिएको छ ।

कानुनी व्यवस्थाका बाबजुद छाउपडी प्रथा अझै  गहिरो रूपमा प्रचलित छ । अशुद्ध मान्ने परम्पराका कारण उनीहरूलाई घरबाहिरका असुरक्षित झुपडीमा बस्न बाध्य पारिन्छ । यस्तो प्रथाले महिलालाई जनावरको आक्रमण, शारीरिक र मानसिक हिंसा तथा स्वास्थ्य जोखिमको उच्च सम्भावनामा पार्छ । चलचित्र निर्माणका लागि करिब २० हजार अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यसमध्ये ड्रेक्सेल विश्वविद्यालयले चार हजार अमेरिकी डलर सहयोग गरेको छ भने ‘गो फन्ड मी’ अभियानबाट हालसम्म करिब दुई हजार डलर संकलन गरिएको छ । निर्माण टोली थप आर्थिक स्रोत जुटाउन काम गरिरहेको छ ।

चलचित्रलाई विद्यालय, स्वास्थ्य सम्मेलन र फिल्म महोत्सवहरूमा प्रदर्शन गरी महिला अधिकार, प्रजनन स्वास्थ्य र लैंगिक समानताको सन्देश फैलाउने योजना निर्माण टोलीको छ । चलचित्रको भिआर संस्करण मेटाक्वेस्ट एपमा निःशुल्क उपलब्ध हुनेछ भने ‘नन–इन्टरएक्टिभ’ संस्करण युट्युब र अन्य प्लाटफर्महरूमा हेर्न सकिनेछ ।