मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ९ मंगलबार १२:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कक्षा १२ को परीक्षा आजबाट सुरु, चार लाख ३२ हजार परीक्षार्थी सहभागी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ९ मंगलबार १२:०६:००

कोरोना कहरकै बीच कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ ।

कोभिड– १९ संक्रमणको जोखिमका कारण गत वैशाखमा हुन नसकेको परीक्षा आजबाट सुरु भएको हो ।

परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थी सहभागी छन् ।  देशभर चार हजार एक सय पाँच विद्यालयमा परीक्षा केन्द्र तोकी परीक्षा सञ्चालन गरिएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले यसपटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । बोर्डका अनुसार थप ४० प्रतिशत अंक कक्षा ११ को नतिजाको मूल्यांकन गरेर र २० प्रतिशत अंक विद्यालयको आन्तरिक मूल्यांकनबाट जोडिनेछ । 

परीक्षा बिहान ८ बजेदेखि सञ्चालन गरिएकाे छ । यसपटक विद्यार्थीहरूले आफैँले पढेको विद्यालयमा परीक्षा दिन पाएका छन् । 

यस्तै, गाउँघरमा गएका विद्यार्थीहरूले भने आफूलाई पायक पर्ने स्थानमै रहेको परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था पनि गरिएको छ । 

राष्ट्रिय परीक्षा बोर्डका उपाध्यक्षसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सबै परीक्षा केन्द्रमा जनस्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन भएको बताए । 

यस्तै अनुगमनका क्रममा परीक्षा केन्द्रहरूमा परीक्षा बोर्डले जारी गरेको परीक्षा मापदण्डसमेत पालना भएको पाइएको सचिव मैनालीको भनाइ छ । 

परीक्षा केन्द्रहरूमा हेल्थ डेस्क राख्ने, सामाजिक दूरी कायम गर्ने, ज्वरो नाप्ने, साबुनपानीले हात धुन लगाउने, मास्क तथा फेससिल लगाउने, स्यानिटाइजरको प्रयोग गर्नेलगायतको व्यवस्था मिलाइएको छ । 

काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रहरूमा पुग्दा जनस्वास्थ्य मापदण्डका सम्पूर्ण मापदण्डहरू पूरा गरेको पाइएको छ । 

परीक्षामा विद्यार्थीले लेखिसकेपछि भिडभाड नगरीकन कापीलाई तोकिएको ठाउँमा राखेर बाहिर निस्कने व्यवस्था मिलाइएको पनि केन्द्राध्यक्षहरूले बताएका छन् ।

विजय मेमोरियल हाइस्कुलका प्रधानाध्यापक डिल्लीप्रसाद शर्माले कोरोनाको खतरालाई ध्यान दिएर मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरेको बताए । 

पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजारकी प्रधानाध्यापक रिता तिवारीले पनि अहिलेको विषम अवस्थालाई ध्यान दिएर आवश्यक सतर्कताका उपायहरू अपनाएर मात्र परीक्षा सञ्चालन गरेको बताइन् ।

एउटा परीक्षा कोठामा बढीमा २० जनासम्म विद्यार्थी राख्न पाउने व्यवस्था गरिएको छ । यस्तै, परीक्षार्थीहरू, केन्द्राध्यक्ष र निरीक्षकहरूले अनिवार्य मास्कको प्रयोग गरेका छन् । 

परीक्षामा कोही विद्यार्थी बिरामी परेमा छुट्टै कोठामा राखेर परीक्षा दिन पाउने व्यवस्था पनि विद्यालयहरूले गरेका छन् । 

परीक्षा सञ्चालनमा स्थानीय तहहरूले सहयोग गरिरहेका छन् । कक्षा १२ को परीक्षा यही १६ मंसिरमा सकिनेछ ।