मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर ९ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर ९ मंगलबार o२:२४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कक्षा १२ को प्रवेशपत्र नदिएपछि मोर्गन कलेजमा तनाव, विद्यार्थीले कलेजबाट कब्जामा लिएर बाँडे प्रवेशपत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर ९ मंगलबार o२:२४:oo

कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्र नदिएपछि काठमाडौंको बसुन्धरास्थित मोर्गन इन्टरनेसनल कलेजमा तनाव भएको छ । विद्यार्थीले कलेजबाट प्रवेशपत्र कब्जामा लिएर बाँडेका छन् । 

कक्षा १२ को परीक्षा मंगलबारदेखि सुरु हुँदै छ । त्यसका लागि प्रवेशपत्र लिन गएका विद्यार्थी र कलेज प्रशासनबीच तनाव भएको हो । शुल्क नदिएको भन्दै कलेजले प्रवेशपत्र दिन मानेको थिएन । बिहीबारदेखि सुरु भएको यो विवाद सोमबार तनावमा परिणत भएको हो । 

प्रवेशपत्र नपाएपछि कलेज पुगेका विद्यार्थी र अभिभावकले विरोध जनाएका थिए । केहीले कलेजमा ढुंगा पनि प्रहार गरेका थिए । उनीहरूले प्रिन्सिपलसँग दुर्व्यवहार गरेका छन् । बिहीबार तनाव उत्पन्न भएपछि प्रहरीले तीनजना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । शिक्षा मन्त्रालयको पहलमा कक्षा १२ को परीक्षा दिने तीनै विद्यार्थी धरौटीमा छुटेका छन् । 

शिक्षण शुल्क पहिले नै तिरिसकेका अभिभावकले अनावश्यक रकम मागेको गुनासो गरेका छन् । प्रवेशपत्र नदिएको र विद्यार्थी तथा अभिभावकसँग कलेज व्यवस्थापनले छलफल गर्नसमेत नखोजेपछि तनाव उत्पन्न भएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए । पढ्दा तोकिएको शुल्कबाहेक ६० हजारसम्म बढी रकम मागेको अभिभावक तथा विद्यार्थीको गुनासो आएको भण्डारीको भनाइ छ । परीक्षाका वेला प्रयोग हुने स्यानिटाइजरका लागि समेत ६ हजार मागेको विद्यार्थीले गुनासो गरेको उनले बताए । ‘व्यवस्थापनले कसैको कुरा नसुन्ने र मनपरी शुल्क असुल्न खोज्दा समस्या भयो,’ विवाद समाधानमा खटिएका अध्यक्ष भण्डारीले भने, ‘शुल्कको विषयमा तत्काल छानबिन हुनुपर्छ, सत्यतथ्य छानबिन गरेर बाहिर आउनुपर्छ, अन्यायमा परेकाले न्याय पाउनुपर्छ ।’

मोर्गन कलेजका अभिभावक तिलकबहादुर विष्टले कक्षा ११ र १२ मा गरी दुई वर्षमा ६ हजार तिर्नुपर्ने र अरू छात्रवृत्तिमा पढाउने गरी भर्ना गरेको भए पनि अहिले आएर ५६ हजार रुपैयाँ मागेको गुनासो गरे । ‘कक्षा ११ मा तीन हजार र १२ मा पढ्दा तीन हजार तिरियो, अहिलेसम्म केही पनि भनेको थिएन, प्रवेशपत्र लिन आउँदा ५६ हजार तिर्नुपर्छ भन्यो,’ अभिभावक विष्टले भने, ‘विद्यार्थी एक दिन अनुपस्थित हुँदा फोन आउने कलेजमा पैसा तिर्नु छ भनेर अहिलेसम्म एक कल आएको थिएन, प्रवेशपत्र लिन जाँदा छात्रवृत्तिमा पढेकालाई ५६ हजार तिर्नुपर्छ भन्यो ।’ प्रवेश परीक्षामा जिपिए ३.७ ल्याएपछि विज्ञान विषयमा छात्रवृत्ति दिएको उनको भनाइ छ । 

मोर्गन इन्टरनेसनल कलेजका प्रिन्सिपल दीपेन्द्र भण्डारीले अनावश्यक शुल्क लिएको भन्ने विद्यार्थी तथा अभिभावकको आरोप गलत भएको बताए । उनले उठाउन बाँकी भएको शुल्क मात्र मागेको दाबी गरे । 

शिक्षासचिव गोपीनाथ मैनालीले मोर्गन कलेजको शुल्क विवाद हेर्न स्थानीय तहलाई आग्रह गरेको बताए । तत्कालका लागि विवाद साम्य पारेको बताउँदै उनले भने, ‘कक्षा १२ को परीक्षा दिने कलेजका विद्यार्थी थुनिएका थिए । विद्यार्थी, अभिभावक र व्यवस्थापनबीच तनाव हुन लागेपछि हामीले साम्य पार्न पहल गर्‍यौँ ।’ यसको निष्पक्ष अध्ययनका लागि स्थानीय तहलाई मौखिक आग्रह गरेको उनले बताए ।