मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ मङ्सिर ८ सोमबार ०८:२३:००
Read Time : > 5 मिनेट
फिचर प्रिन्ट संस्करण

कोल्डस्टोरबाट ‘टेक–अफ’ भएको व्यावसायिक उडान

Read Time : > 5 मिनेट
२०७७ मङ्सिर ८ सोमबार ०८:२३:००

पर्वतको सदरमुकाम कुस्माबाट ठ्याक्कै पारि छ, बाग्लुङको बलेवा । बलेवाको पुरानो विमानस्थल कुनै वेला धौलागिरि अञ्चलकै यातायातको मात्रै होइन, मालसामान ओसारपसारको पनि मुख्य माध्यम थियो । ‘हामी पोखराबाट जहाजमा ढाकाटोपी हालेर बलेवा ल्याउँथ्यौँ र भरियालाई बोकाएर गाउँ–गाउँका पसलहरूमा बेच्थ्यौँ,’ पोखराका व्यवसायी विश्वशंकर पालिखेले बलेवाभन्दा केही माथिको गाउँ अमलाचौरमा भेट हुँदा बताएका थिए । त्यही अमलाचौर हो, व्यवसायी चन्द्रप्रसाद ढकालको जन्मस्थल । 

तर, ढकाल विसं २०४१ मा काठमाडौं आउँदा आफ्नै गाउँभन्दा अलि मुनिको बलेवा विमानस्थलबाट विमान चढ्ने हैसियतका थिएनन् । जहाजमा पोखरा आउँदा जम्मा ७५ रुपैयाँ भाडा लाग्थ्यो, काठमाडौंसम्मको सायद ३ सय हाराहारी हुँदो हो । पिताको भर्खरै देहान्त भएको, घरमा आम्दानीको स्रोत नभएको तथा आमा र भाइबहिनीलाई कसरी पाल्ने भन्ने चिन्तामा थिए उनी । त्यसैले पढ्दै जागिर खाँदै संघर्ष गरौँला भन्ने सपना बोकेर उनले एउटा झोला बोके र स्याङ्जाको नौडाँडातर्फ उकालो लागे । दिनभरि हिँडेपछि नौडाँडा पुगिन्थ्यो, त्यहाँबाट पोखरा जाने गाडी मिल्थ्यो । भोलिपल्ट बिहानै पोखरा आए, अनि सोही दिन नाइटबस चढेर काठमाडौं आइपुगे ।

काठमाडौंमा ओर्लंंदा सूर्योदय भइसकेको थियो, आकाश उज्यालो थियो । तर, सपनाको सहरले कहाँ पुर्‍याउला भन्ने त्यो बिहानको झुल्के घाममा पनि स्पष्ट देख्न सकेका थिएनन्, उनले । अझ व्यवसायी बनुँला, आइएमईजस्तो मुलुककै ठूलोमध्येको कम्पनी जन्माउँला भन्ने त उनको कल्पनामै थिएन । गाउँको निम्नमध्यमवर्गीय किसानको छोरो, नातापाता कसैले पनि व्यवसाय नगरेका उनको सपनामा पनि सामान्य नै थियो । 

उनी काठमाडौंमा कमर्स पढ्न थाले, पढाइ खर्च जुटाउन जे भेटिन्छ, त्यही काम गरे । किनभने, काठमाडाैंमा खान–लाउन, बस्न, कलेजको शुल्क तिर्न तथा गाउँमा किताबकापी किन्ने खर्च पठाइदिने जिम्मा उनैले लिएका थिए । भाग्यवश ०४५ मा राष्ट्रिय वाणिज्य बैंकमा सहायक तेस्रो तहमा नाम निकाले, अर्थात् खरिदारभन्दा पनि मुनिको तहमा बैंकमा जागिर सुरु गरे । ‘दुःखमा पाएको जागिर, बैंकको कामलाई कहिल्यै पनि सरकारी कामजस्तो गरेर गरिनँ, असाध्यै इमानदार भएर गरेँ,’ ढकाल सम्झन्छन् ।

०४५ सालमा सो पदमा स्थायी भएर आएका १० जना साथी थिए । ‘तीमध्ये ९ जना बिहान साढे ९ बजे आउने, ३ बजे क्यास क्लोज गर्ने, हिँडिहाल्ने गर्थे । यो बैंकको काम किन धेरै गर्ने भन्थे । मैले चाहिँ त्यो कहिल्यै भनिनँ । पेन्डिङ काम सकेर मात्रै फर्कन्थेँ,’ उनी भन्छन्, ‘त्यसले काम गर्ने बानी बस्यो । मैले सधैँ कामलाई प्राथमिकता दिएँ, कुनै काम सुरु गरेपछि त्यसलाई सम्पन्न गरेर मात्रै छोड्ने आदत बनाएँ ।’ 

तर, बैंकबाट आउने तलबले काठमाडौं र बाग्लुङको घरायसी आवश्यकता पूरा गर्न सक्दैनथ्यो । त्यसैले ०४६–४७ मा किराना पसल अर्थात् कोल्डस्टोर सुरु गरे, सोह्रखुट्टे चोकमा । दुईवटा सटर भाडामा लिएर सुरु गरेको कोल्डस्टोर लोकप्रिय बन्यो । ‘मानिसहरू हाम्रोमा सामान किनेर लुक्लासम्म पठाउँथे,’ उनी भन्छन् । 
त्यसवेला मुलुकको प्रमुख बैंक नै राष्ट्रिय वाणिज्य बैंक थियो, धेरै व्यवसायीहरूको कारोेबार थियो । त्यसवेला नेपालका व्यवसायीहरूले ठूलो मात्रामा विदेशमा गार्मेन्ट तथा कार्पेट निर्यात गर्थे ।

बैंकमा काम गर्दा उनको गार्मेन्ट तथा कार्पेटका निर्यातकर्ताहरूसँग सम्पर्क भयो । कोल्डस्टोर चलाउँदा सिकेको व्यवसायिक सीपलाई उनले अलि ठूलो हिसाबमा अघि बढाउने निधो गरे । गार्मेन्ट र कार्पेट निर्यात गर्दा ढुवानीको काम लिन सकिने लागेपछि उनले कार्गो कम्पनी सुरु गरे । ‘गाउँबाट आएको मान्छे, बैंकमा ५–६ सय रुपैयाँ तलब खाइरहेको थिएँ । त्यस्तो वेला अफिस खोल्ने, ६ हजार तलब दिएर कर्मचारी राख्ने निर्णय ठूलो हिम्मतका साथ गरेको थिएँ,’ उनी भन्छन्, ‘यस हिसाबले म आफूलाई ठूला निर्णय गर्न सक्ने मानिसका रूपमा लिन्छु ।’

सानो पुँजीले काम सुरु गरेका उनको प्रतिस्पर्धा अब ठूला कार्गाे व्यवसायीहरूसँग थियो । कार्गोलाई ट्रक तथा कन्टेनरहरू चाहिन्थ्यो, एयरह्विल गर्नुपर्ने हुन्थ्यो । ‘तर, हामीसँग न ट्रक थियो, न एयरह्विलको बन्दोबस्त । जसको गाडी छ, उहीसँग भाडामा लिने, जसको एयरह्विल छ, उसकै प्रयोग गर्ने गरियो,’ उनी भन्छन् । प्रतिकूलताका बीच पनि कार्गो कम्पनीले राम्रो व्यवसाय गर्‍यो । कम्पनीले नेपाली वस्तु खरिद गरी आफैँ निर्यात पनि सुरु गरेको थियो । सन् २००० को दशकमा नेपालको कार्पेट र गार्मेन्ट उद्योग धराशायी बन्यो, तर ढकालको कार्गो कम्पनी भने पहिलेजस्तै राम्रोसँग चलिरहेको छ । 

त्यहीबीचमा ढकाललाई जापान वा अमेरिका गएर उतै बस्ने वा व्यवसाय गर्ने अवसर पनि आएको थियो । तर, उनले त्यो विकल्प रोजेनन् । ‘व्यवसाय प्रवद्र्धन गर्ने हेतुले अमेरिकाको भिसा लिएँ, त्यहीबीचमा जापान पनि जाऊँ न त भनेर लिएँ । जापानमा १०–११ महिना बसेर फर्कें, अमेरिका त्यसवेला जाँदै गइनँ,’ उनी भन्छन्, ‘त्यसवेला जापान जाने भनेको धेरै ठूलो कुरा थियो, तर नेपालमै काम गर्नुपर्छ भनेर व्यवसाय अघि बढाउन थालेँ ।’

सर्वसाधारण जनतालाई सेवा दिने र सरकारको बृहत् उद्देश्यलाई सहयोग पनि गर्ने किसिमको व्यवसाय गरे सफल भइने उनको धारणा छ । यस्तो व्यवसायलाई सामाजिक उद्यमशीलता (सोसल आन्त्रप्रेनरसिप) भनिन्छ । नेपालमा सामाजिक उद्यमको उत्कृष्ट उदाहरणको हो, ढकालले सन् २००१ मा सुरु गरेको इन्टरनेसनल मनी एक्सप्रेस अर्थात् आइएमई । त्यसवेलासम्म धेरै नेपाली मलेसिया काम गर्न गइसकेका थिए । मलेसियाबाट बैंकको माध्यमबाट पैसा पठाउन समस्या थियो ।

काठमाडौंमा ओर्लंंदा सूर्योदय भइसकेको थियो, आकाश उज्यालो थियो । तर, सपनाको सहरले कहाँ पुर्‍याउला भन्ने त्यो बिहानको झुल्के घाममा पनि स्पष्ट देख्न सकेका थिएनन्, ढकालले । अझ व्यवसायी बनुँला, आइएमईजस्तो मुलुककै ठूलोमध्येको कम्पनी जन्माउँला भन्ने त उनको कल्पनामै थिएन ।

नेपालीले भनेको मलेसियाका बैंकका कर्मचारीले नबुझ्ने कारणले नाम तथा खाता नम्बर फरक परेर नेपालमा पैसै नआउने समस्या थियो । त्यसो हुँदा अधिकांश रेमिट्यान्स अनौपचारिक माध्यम मूलतः हुन्डीको माध्यमबाट आउँथ्यो । ८० प्रतिशत रेमिट्यान्स अनौपचारिक माध्यमबाट र २० प्रतिशत मात्रै औपचारिक माध्यमबाट आउने अवस्था थियो । कामदारहरूले पसिना बगाएर कमाएको पैसा कतिपय हुन्डीवालाले उठाएर खाइदिन्थे ।

सरकारले औपचारिक माध्यमबाट रेमिट्यान्स भित्र्याउने उद्देश्य राखे पनि त्यसमा सफलता मिलिरहेको थिएन । ‘त्यसवेला हामीले यस्तो काम गर्नेबारे सोच्यौँ, जसले कामदारको समस्या पनि समाधान होस्, सरकारको उद्देश्यमा पनि सहयोग पुग्न सकोस् । तर, त्यो काम व्यावसायिक रूपमा गर्न नसके निरन्तरता दिन सकिँदैनथ्यो, त्यही सोचको सृष्टि आइएमई हो,’ ढकाल भन्छन् । 

आज आइएमई मुलुककै ठूलो रेमिट्यान्स कम्पनी बनेको छ । पैसा पठाउनुको अर्को नाम नै आइएमई बनेको छ । अर्कै बैंक वा रेमिट्यान्स कम्पनीमा गएर जनताले ‘आइएमई गरिदिनु न’ भन्छन् । तर, आइएमईलाई यति लोकप्रिय ब्रान्ड बनाउन त्यति सजिलो भने थिएन । पहिला विदेशी मुद्राको काम राष्ट्र बैंकले मात्रै गथ्र्यो । वाणिज्य बैंकहरूलाई पनि त्यसको अनुमति दिइएको थिएन । त्यसपछि राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले मात्रै विदेशी मुद्राको कारोबार गर्न पाए, अन्य वाणिज्य बैंकहरूलाई पनि त्यसको अनुमति दिइएन ।

धेरै पछि मात्रै वाणिज्य बैंकहरूलाई अनुमति दिइएको हो । त्यस्तो अवस्थामा निजी कम्पनीले विदेशी मुद्राको कारोबार गर्ने रेमिट्यान्स व्यवसाय गर्न अनुमति प्राप्त गर्नु नै असाध्यै ठूलो उपलब्धि थियो । ‘त्यो राष्ट्र बैंकको निकै प्रगतिशील काम थियो,’ ढकाल भन्छन् । राष्ट्र बैंकले अनुमति दिए पनि जनताको विश्वास जित्नु त्योभन्दा ठूलो काम थियो । ‘सुरुमा आफूले दुःख गरेर कमाएको पैसा निजी कम्पनीले ठगिदिने पो हो कि भनेर मानिसहरू डराउँथे । तर, हामीले कामबाट विश्वास आर्जन गर्दै गयौँ । हाम्रो सेवाबाट खुसी भएका मानिसले एकले अर्कालाई भन्दै गए, त्यसैले आइएमईलाई जनताको मनमनमा पुर्‍यायो,’ उनी भन्छन् ।

आइएमईको सफलतासँगै ढकालले आइएमई फाइनान्सियल इन्स्टिच्युसन स्थापना गरे, ग्लोबल बैंक सुरु गरे । पछि यी दुई संस्थाका साथै अन्य धेरै वित्तीय संस्था गाभिएर ग्लोबल आइएमई बैंक बनेको छ, जुन मुलुककै सबैभन्दा ठूलोमध्येको बैंक हो । ‘सरकारले मर्जरका माध्यमबाट ठूलो बैंक बनाउने नीति ल्यायो । त्यसलाई पनि हामीले एक कदम अघि बढेरै सहयोग गर्‍यौँ,’ ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले भने ।

अहिले आइएमई ग्रुपको लगानी कार्गो, रेमिट्यान्स, बैंकिङका अतिरिक्त अटोमोबाइल, सूचना प्रविधि, बिमा, खुद्रा व्यापार, सूचना प्रविधि, डिजिटल पेमेन्ट, विद्युत् तथा ऊर्जा, पर्यटन पूर्वाधारलगायत धेरै क्षेत्रमा भइसकेको छ । ‘हाम्रो पारिवारिक पृष्ठभूमि व्यावसायिक होइन, व्यवसाय विस्तार गर्दै ठूलो बनाउँला भनेर सुरु गरेको पनि होइन । काम गर्दै जाँदा क्रमशः विस्तार हुँदै गएको व्यवसाय हो । काम गर्दै सिक्दै (लर्निङ बाई डुइङ) अघि बढेका हौँ हामी,’ पानीपोखरीस्थित आइएमई कम्प्लेक्सको पाँचौँ तलामा रहेको कर्पोरेट कार्यालयमा गफिदै ढकालले भने । 

आइएमई ग्रुपअन्तर्गत २० भन्दा बढी कम्पनी छन् । प्रत्यक्ष र अप्रत्यक्ष गरी १० हजारभन्दा बढीलाई रोजगारी प्रदान गरेको छ । तर, ढकाल भन्छन्, ‘अझै पनि हामी सानै छौँ । ग्रो गर्दै छौँ । अहिले नै उल्लेख्य मात्रामा ठूलो नेटवर्थ भएको व्यवसाय बनिसकेको छैन ।’ चन्द्रागिरि केबलकारजस्तो लोकप्रिय प्रमुख पर्यटकीय गन्तव्य बनाएका ढकाल सातै प्रदेशमा यस्तै पूर्वाधार बनाउँदै छन् । तर, सर्वसाधारण र स्थानीय जनतालाई साझेदार बनाउँदै लगानी विस्तार गर्ने उनको उद्देश्य छ । ‘चन्द्रागिरिले साधारण सेयर जारी गर्दै छ, सातै प्रदेशमा हामी केबलकारलगायत पर्यटन पूर्वाधार विकास गर्दै छौँ । त्यसमा स्थानीय जनतालाई समेत साझेदार बनाएर अघि बढ्दै छौँ ।’ 

आइएमईको लगानीमा जलविद्युत्का आयोजना सम्पन्न हुने क्रममा छन् । उत्पादनमूलक उद्योगमा पनि लगानी गर्दै छन् । ‘सोह्रखुट्टेमा साना दुईवटा सटरको किराना पसल चलाउँदा पनि जतिसक्दो काम गर्नुपर्छ भन्ने थियो । ठूलो महत्वाक्षा केही थिएन । अहिले पनि त्यही छ,’ उनी भन्छन्, ‘त्यसवेला साइकल चढेर हिँड्नु पनि ठूलो कुरा थियो, अहिले गाडी चढिन्छ, त्यसवेला कोठा भाडामा बसिन्थ्यो, अहिले घरमा । फरक यति मात्रै हो ।’  

व्यवसायमा मेरुदण्डका रूपमा सुरुदेखि नै भाइ हेमराज ढकाल उनीसँगै छन् । त्यसो हुँदा विगत ९ वर्षदेखि चन्द्रले नेपाल उद्योग वाणिज्य महासंघमा रहेर सामाजिक काम गर्ने समय पाएका छन् । महासंघमा पनि उनको गति तीव्र नै छ । दुई कार्यकाल कार्यसमिति सदस्य भएपछि हाल उपाध्यक्ष छन् । र, अबको चुनावमा वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् ।

सानोदेखि ठूलो व्यवसायका समस्या आफैँले भोगेको र देशभरिका व्यवसायीको अवस्थाबारे जानकार व्यक्तिका रूपमा आफूलाई प्रस्तुत गर्छन्, ढकाल । ‘आइएमई समूहको सञ्जाल सबै जिल्लामा छ । कहीँ बैंक छ, कहीँ बिमा कम्पनी छ, कतै अन्य व्यवसाय छ । प्रायः सबै जिल्लामा मैले भ्रमण गरेको छु, त्यहाँका समस्याबारे जानकार छु,’ उनी भन्छन्, ‘जिल्ला नगर उद्योग वाणिज्य संघसँग जोडिएका साना व्यवसायीदेखि कर्पोरेट लेभलका व्यवसायीसँग सम्पर्कमा छु । प्रायः सबै व्यवसायीको समस्याबारे जानकार छु ।’