मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २७ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o८२ असार २७ शुक्रबार o९:१o:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मधेशमा बजेटमाथि छलफल नभई सदन स्थगित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ असार २७ शुक्रबार o९:१o:oo

आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेट पास गराउन एक साताभन्दा कम समय रहे पनि मधेश प्रदेशका राजनीतिक दलबिच बजेटमाथि हुने छलफलका विषयमा सहमति हुन सकेको छैन । बिहीबार बसेको प्रदेश सभाको बैठक पनि छलफल नहुँदै १० मिनेटमै स्थगित भयो । २२ असारदेखि निरन्तर बजेटमाथि छलफल गर्न प्रदेश सभाको बैठक बस्दै आए पनि विपक्षी दलको अवरोधका कारण पाँचौँपटक पनि बैठक स्थगित भएको छ । 

बजेटमा बिचौलिया हाबी भएको तथा असमान वितरण गरिएको भन्दै विपक्षी दलले बजेट पुनर्लेखनको माग गर्दै आएका छन् । बिहीबार प्रदेश सभाको बैठक पूर्वसत्तापक्ष र विपक्षी दलबिच भएको छलफलमा बजेटमा भएको त्रुटि सच्याउने विषयमा प्रदेश सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको थियो । 

सहमतिअनुसार सभामुख मण्डलले बैठकमा कार्यादलका सदस्यको नामावली सार्वजनिक गरेपछि त्यसको विरोध गर्दै विपक्षी दलले पुन: बैठक अवरुद्ध गरेका छन् । उनीहरूले कार्यदलमा भौतिक पूर्वाधारमन्त्री सरोज यादवलाई राखेकोमा आपत्ति जनाउँदै बैठकमा अवरोध गरेपछि सभामुखले १० मिनेट बैठक स्थगित गरेका थिए । 

कार्यदलमा सत्तापक्षबाट भौतिक पूर्वाधारमन्त्री तथा एमालेका संसदीय दलका नेता सरोज यादव, कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव र विपक्षी दलमा जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादव, माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहा र नेकपा एकीकृत समाजवादीबाट मनीष पटेल राखिएको छ । १० मिनेट बैठक स्थगित गरेर सभामुखको कार्यकक्षमा बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि शनिबार दिउँसो १ बजेसम्मका लागि प्रदेश सभा स्थगित गरिएको छ । 

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवले सरकारले ल्याएको बजेटमाथि छानबिन गर्न गठन गरिएको कार्यदलमा मन्त्रीलाई सदस्य राख्नु उपयुक्त नभएको बताए । यता, मुख्यमन्त्री सतीशकुमार सिंहले पूर्वसहमतिअनुसार नै कार्यदलका लागि नाम पठाएको बताएका थिए । ‘सभामुखको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको थियो’ मुख्यमन्त्री सिंहले भने, ‘कार्यदलमा मन्त्री नराख्ने कुरा भएको थिएन, यस्तोमा मन्त्रीको नाम राख्दा विपक्षी दलले अनावश्यक बखेडा झिकेर सभाको बैठक नै अवरुद्ध गरिरहेको छ ।’  

१ असारमा आएको बजेटमाथि हालसम्म ११ असारमा एक दिन मात्र छलफल भएको छ ।