१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ८ सोमबार
  • Saturday, 21 September, 2024
इयान जोनसन
२o७७ मङ्सिर ८ सोमबार o८:१३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चिनियाँ लिबरलमा अमेरिकी कन्जरभेटिभप्रतिको मोह

Read Time : > 2 मिनेट
इयान जोनसन
नयाँ पत्रिका
२o७७ मङ्सिर ८ सोमबार o८:१३:oo

महिनौँसम्म चिनियाँ सरकारका आलोचकहरूमा एउटा असमानता देखियो : देशभित्र लोकतन्त्र तथा वाक स्वतन्त्रताको माग गर्ने ती आलोचकले डोनाल्ड ट्रम्पको पुनर्निर्वाचनको समर्थन गरे । तर, अमेरिकामा डोनाल्ड ट्रम्प आफैँमा लोकतान्त्रिक मूल्यमान्यतालाई त्यति सम्मान नगर्ने अनुदारवादी नेता भनेर चिनिन्छन् । अहिले बाइडेनले ट्रम्पलाई हराइसकेका छन् । तर पनि चिनियाँ उदारवादी चिन्तकको ठूलो हिस्साले अमेरिकी कन्जरभेटिभ राजनीतिप्रतिको समर्थन गर्न छाड्नेछैन । 

अमेरिकाको मूलधारको कूटनीतिक वृत्तमा चीनसँग जति बढी व्यापार गर्‍यो, त्यहाँको अधिनायकवादी राजनीति त्यति कमजोर हुन्छ भन्ने विचार बलियो छ । तर, यो परम्परागत विचारविरुद्ध धेरै चिनियाँ उदारवादीले व्यापारमा कडाइ गर्ने ट्रम्पलाई किन समर्थन गरे त ? सम्भवतः ट्रम्पले चिनियाँ कम्युनिस्टविरुद्ध लिएको कठोर कदमले चिनियाँ उदारवादीहरूलाई आकर्षित गर्‍यो । भनिन्छ नि ‘शत्रुको शत्रु आफ्नो मित्र !’ तर, बाइडेनको जितपछि चिनियाँ उदारवादी चिन्तकहरूमा केही चिन्ता बढेको छ । लामो समयदेखि बाइडेन अमेरिकाको परम्परागत विदेश नीतिको केन्द्रमा रहँदै आएका पात्र हुन् ।

विगतमा उपराष्ट्रपतिको रूपमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग कैयौँपटक भेटेका थिए । चीनसँगको बढ्दो अन्तक्र्रियाले अमेरिकाको नीति नरम हुने आसमा ती भेटघाट गरिएको भए पनि तिनले अपेक्षाकृत परिणाम दिएनन् । तर, ट्रम्पले कठोरतामार्फत चीनमाथि दबाब राख्न सफल भएको चिनियाँ सरकारका आलोचकको विश्वास छ । 

चिनियाँ उदारवादी बौद्धिकले पछिल्लो समय अमेरिकी बहसमा बढ्दै गएको पोलिटिकल करेक्टनेसलाई देशभित्रको वाक स्वतन्त्रतामाथिको कडाइसँग तुलना गरेर हेर्ने प्रवृत्ति बढेको छ । अमेरिकामा सार्वजनिक बहसको स्थिति निकै बलियो रहेकाले यो तुलना केही बढी नै हो, तर चिनियाँ उदारवादीहरूमाझ चीनको अवस्था हेरेर वाक स्वतन्त्रतामा कुनै बन्देज हुन नहुने भावना रहेको देखिन्छ । यही कारण तिनले ट्रम्पमा कुनै फिल्टरविहीन वाक स्वतन्त्रता देखे । 

एक वरिष्ठ चिनियाँ समाजशास्त्री सुन लिपिङले अघिल्लो वर्ष विच्याटमा अमेरिकी पोलिटिकल करेक्टनेसबारे लेख्दै भनेका थिए, ‘पहिले यो परिघटना मानिसहरूलाई सम्मान देखाउन र समानता प्रवद्र्धन गर्न सुरु भए पनि अहिले यसले केही विषयको बहसलाई नै वर्जित गरेको छ ।’

त्यस्तै, पोलिटिकल करेक्टनेसअन्तर्गत अल्पसंख्यक सधैँ पीडित हुन्छन्, आप्रवासन, खुला बजार तथा विश्वव्यापीकरण निर्विवादित सही हो भन्ने कथन स्थापित हुँदै गएको लिपिङको दाबी छ । सुनका अनुसार पोलिटिकल करेक्टनेस अमेरिकाका लागि आफैँले बाँधेको बन्धनजस्तो भएको छ । सुनले ट्रम्पको पोलिटिकल करेक्टनेसविरोधी बोलीव्यहारलाई माओको मृत्युपछि उनको रूढिवादी विचारमाथि बढेको आक्रमणबराबर प्रभावी हुने बताए । 

ट्रम्पको हारपछि पनि चिनियाँ उदारवादीहरूको एक हिस्सामा अझै ट्रम्पमोह देखिन्छ । ट्रम्पले अझै जित्ने सम्भावना रहेको भन्दै गरेको ट्विटमा सिन्ह्वा विश्वविद्यालयका समाजशास्त्रका प्राध्यापक गुओ युहुवाले रिट्विट गरिरहेका थिए । गरिब किसान र हिरासतमा रहेका प्राज्ञको समर्थन गर्ने गुओ ट्रम्पलाई यथार्थवादी बताउँछन् । उनी अमेरिकी वामपन्थीहरूले आय पुनर्वितरणको स्वैरकल्पना बाँडिरहेको बताउँछन् । 

सम्भवतः ट्रम्पले चिनियाँ कम्युनिस्टविरुद्ध लिएको कठोर कदमले चिनियाँ उदारवादीहरूलाई आकर्षित गर्‍यो, भनिन्छ नि ‘शत्रुको शत्रु आफ्नो मित्र !’

तर, सबै चिनियाँ उदारवादीहरू ट्रम्पलाई उदारवादी विचारका प्रतिनिधि मान्दैनन् । एकजना इतिहासकार सु जिलियनले हालै विच्याटमा एक पोस्ट गरेर ट्रम्पको सन् २०१६ को विजयलाई पछिल्लो दशकको विध्वंसात्मक पपुलिजमको उदयको दृष्टान्तको रूपमा व्याख्या गरे । अर्का चिनियाँ उदारवादी झाङ चियानफ्यान पनि चिनियाँ उदारवादीहरूमाझ खुला बजारका हिमायती फ्रेडरिक हायकजस्ता विचारक लोकप्रिय भएको देखेर अचम्मित छन् । चिनियाँ उदारवादीहरूमाझ हरेक दक्षिणपन्थी अमेरिकी राजनीतिज्ञ स्वतन्त्रताको संरक्षक हुन्छन् भन्ने भ्रम रहेको उनको ठम्याइ छ । 

‘यस्तो विचारले सर्वसत्तावादी राज्यविरुद्धको संघर्षमा हामीलाई मित्र घटाउने काम मात्र गर्छ, साथै यसले चिनियाँ उदारवादी वृत्तमा भ्रमको बिउ रोपेको छ । बिस्तारै चिनियाँ सन्दर्भमा ‘उदारवाद’को अर्थ नै अलग हुनेछ,’ झाङले अघिल्लो महिनाको ब्लग पोस्टमा लेखेका थिए । अघिल्लो वर्ष द जर्नल अफ कन्टेम्पोररी चाइनामा एक लेख लेख्दै राजनीतिक वैज्ञानिक याओ लिनले पनि यही कुरा उठाएका छन् । लिनले लेखेका छन्, ‘धेरै चिनियाँ उदारवादी विचारकहरू अमेरिकालाई उदारकको रूपमा आदर्शीकरण गर्छन् । यसले गर्दा मानवअधिकारको पक्षमा संघर्ष गरिरहेका ती विचारकमा औपनिवेशिकता र नश्लीय विचार प्रतिबिम्बित देखिन्छ ।’

यही भएर केही चिनियाँ उदारवादीले सन् २०१७ को ट्रम्पको केही देशका मुसलमानहरूलाई अमेरिका प्रवेशमा रोक लगाउने कार्यको समेत प्रशंसा गरे । सन् २०१८ मा एडमन्ड बर्कबारे ओपन टाइम्स म्यागेजिनमा प्रकाशित बहसमा चिनियाँ संविधानविद् गाओ चुआनछीले आप्रवासी प्रतिबन्धको पक्षमा तर्क प्रस्तुत गरेका थिए । गाओले ‘अनियन्त्रित बहुलवादले अमेरिकी समाजलाई कमजोर बनाउने भएकाले अमेरिकी नागरिकको विशिष्टता प्रतिरक्षा गर्न’का लागि आप्रवासनको प्रावधानमा कडाइ आवश्यक रहेको बताएका थिए ।

धेरै चिनियाँ उदारवादीहरू एलेक्जेन्ड्रिय ओकासियो कोर्टेजजस्ता अमेरिकी राजनीतिमा वामपन्थी विचारप्रति झुकाव राख्ने राजनीतिज्ञको आलोचना गर्छन् । प्राज्ञहरूबीचको यो बहसले चीनको गरम बौद्धिक परिदृश्यलाई नै इंगित गर्छ । तर, उदारवादीमाझको यो विभाजनले वासिङ्टनका लागि चिनियाँ नागरिक समाजसँग अन्तरक्रिया गर्नुभन्दा बेइजिङसँग बहस गर्न सजिलो हुने सन्देश प्रसार गरेको छ । 

इयान जोनसन लेखक हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य