मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर २० सोमबार
  • Monday, 06 December, 2021
२०७७ मङ्सिर ७ आइतबार ११:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मध्यपहाडी राजमार्गका लागि खोलिएका क्रसर उद्योगले रातारात गिट्टी-बालुवा बेचेको खुलासा

स्थलगत रिपोर्ट 

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ७ आइतबार ११:१६:००

सरकारले अवैध रूपमा सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले अनुसन्धान सुरु गरेको छ । 

दैलेखमा निर्माण सुरु गरिएको मध्यपहाडी राजमार्ग निर्माण कार्यका लागि भनेर सञ्चालन गरिएका क्रसर उद्योगहरूको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, प्रहरी प्रमुख अनुपम श्रेष्ठसहितको टोलीले स्थलगत अनुसन्धान गरेको हो । 

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ को पादुका खोलामा सञ्चालन गरिएको क्रसर उद्योग सम्झौता सकिएको अवस्थामा रहेको भेटिएको छ, उद्योगले स्थानीय सरकारसँग कुनै पनि सम्झौता नगरेको खुलेको छ । 

विगत तीन वर्षदेखि सञ्चालन गरिएको क्रसर उद्योगले कुलो निर्माण नगरिदिएपछि ४५ जना किसानको खेत सुक्खा क्षेत्रमा परिणत भएको भन्दै स्थानीय किसानले प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारसँग गुनासो गरेका छन् । 

‘हामीलाई कम्पनीले उद्योग स्थापनासँगै कुलो निर्माण गरिदिन्छु भनेर भनेको तीन वर्ष भयो, तर पूरा भएन, अहिले सबै खेत बाँझो छन्,’ स्थानीयहरूले भने, ‘यहाँ मध्यपहाडी राजमार्गका लागि भनेर क्रसर उद्योग खोलिएको छ, तर रातारात सबैको मिलेमतोमा सुर्खेत, नेपालगन्ज र कालिकोटसम्म बालुवा र गिट्टी बिक्री गरिन्छ ।’ 

स्थानीयको गुनासो सम्बोधन गर्दै मध्यपहाडी सडकका लागि मात्र भनेर उद्योग सञ्चालन गरिएकोले अन्यत्र बिक्री गर्न अवैध हुने र त्यसो भएमा जनताले प्रहरी र प्रशासनलाई खबर गर्न प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले सुझाब दिएका छन् । 

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले भने, ‘दैलेखमा सञ्चालनमा रहेका दुईवटा क्रसर उद्योगहरूको सबै विवरण तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय दैलेखमा बुझाउन माग गरेका छौँ, स्थलगत अध्ययन पनि गरेका छौँ । कानुनविपरीत भेटिएमा सबैलाई काराबाही गर्छाैँ ।’ 

कर्णाली राजमार्गमा निर्माण गरिएको आठवीर नगरपालिका– २ सिस्ने बजारको श्रृंगेश्वर कन्स्ट्रक्सन प्रा.लि. क्रसर उद्योगले धुलो र ध्वनि प्रदूषण गरेको, लुकिछिपी गिटी, बालुवा अन्यत्र बिक्री गर्ने गरेको, विद्यालयमा विद्यार्थीको पठनपाठनमा समस्या उत्पन्न गराएको स्थानीयले गुनासो गरेका छन् ।

विद्यालय खुलेपछि समस्याबारे पुनः स्थलगत अनुसन्धान गर्ने, धुलो र ध्वनि प्रदूषण नियन्त्रण गर्न कम्पनीले अपनाउनुपर्ने सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी सुनारले कम्पनीलाई निर्देशन दिएका छन् । 

क्रसर उद्योग सञ्चालकहरूले भने आफूहरूले सडकका लागि आवश्यक पर्ने परिमाणहरूको मापन गरेर मात्र काम गरेको, स्थानीयलाई रोजगारी प्रदान गरेको र बाहिर बिक्री–वितरण नगरेको बताएका छन् । 

दैलेखमा मध्यपहाडी राजमार्ग निर्माणका लागि भन्दै  दुईवटा क्रसर उद्योगहरू सञ्चालनमा रहेका छन् भने अन्य दुईवटा पुनः सञ्चालनको तयारीमा रहेका छन् । क्रसर उद्योग सञ्चालनका लागि अनुमति पाएका उद्योगहरूले नियमविपरीत डोजर लगाएर खोलाबाट ढुंगा गुटी र बालुवा उठाउने काम बढ्दै गएपछि खोलाको बहावसमेत परिवर्तन भएको स्थानीयको गुनासो रहेको छ । 

गत कात्तिक २५ गतेको मन्त्रिपरिषद्ले बैठकले ७७ वटै जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग बन्द गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको थियो । 

अनुगमन टोलीले क्रसर उद्योगले जम्मा गरेको ढुंगा, गिटी, बालुवाको मात्राको मापन गरेको छ । टोलीमा भौतिक पूर्वाधार कार्यालय दैलेखका प्रमुख बलदीप शर्मा, उद्योग कार्यालय दैलेखका प्रमुख पर्शुराम काफ्ले, जिल्ला वन कार्यालय दैलेखका होमकुमारी न्यौपाने, मालपोत कार्यालय दैलेखका प्रमुख बालकृष्ण राना, नापी कार्यालय दैलेखका प्रमुख एकेन्द्रबहादुर खड्कालगायतको उपस्थिति रहेको थियो ।