१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ मङ्सिर ६ शनिबार २१:३७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा विवाद जिल्लामा : चितवनमा नेता पाण्डेमाथि दुर्व्यवहार, सुर्खेतमा ओली पक्षको भेला 

Read Time : > 2 मिनेट
२०७७ मङ्सिर ६ शनिबार २१:३७:००

प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच केन्द्रमा चर्किएको विवाद क्रमशः जिल्ला–जिल्लामा विस्तार हुँदै गएको छ । ओली र प्रचण्डले १३ मंसिरमा डाकिएको केन्द्रीय सचिवालय बैठकमा आरोप–प्रत्यारोपसहितको बेग्ला–बेग्लै राजनीतिक दस्ताबेजमा छलफलको तयारी गरिरहेका वेला केन्द्रीय विवाद जिल्ला–जिल्लामा विस्तार हुँदै गएको हो ।

दुवै समूहका नेता–कार्यकर्ता अर्को समूहका नेताविरुद्ध नाराबाजी गर्ने, बेग्ला–बेग्लै भेला गरेर गुट विस्तार र सुदृढ गर्ने तहमा सक्रिय बनेका छन् । चितवनको वीरेन्द्रनगरमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि दुव्र्यवहारको प्रयास भएको छ भने सुर्खेतमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले जबजका पक्षमा प्रदेशस्तरीय खेलाडी भेला गरेको छ । 

चितवनमा नेकपा राप्ती नगर कमिटीले आयोजना गरेको बैठकमा ओली समूहका कार्यकर्ताले स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री पाण्डेको सम्बोधन बिथोल्दै अभद्र व्यवहार गर्ने प्रयास गरेका छन् । चितवन– १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पाण्डेले सम्बोधन गरिरहेका वेला ओली समूहका करिब एक दर्जन कार्यकर्ताले नाराबाजी गर्दै बैठक बिथोल्ने प्रयास गरेका थिए । 

विकास निर्माण तथा संसद् विकास कोषको विषयमा छलफल गर्ने भनिए पनि नेता पाण्डेले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको विरोध गर्दै सम्बोधन गरेपछि नाराबाजी गरेको ओली पक्षका कार्यकर्ताहरूको दाबी छ । ‘उहाँले चितवनमा कार्यकर्ता भेला गराइरहेको थाहा पाएपछि हामी पनि शनिबारको कार्यक्रममा पुग्यौँ । अर्कै विषय भनिए पनि गुटगत कार्यक्रम रहेछ,’ विरोधमा उत्रिएका केदार आचार्यले भने, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध भ्रम सिर्जन गर्ने गरी सम्बोधन सुनेपछि हामीले उहाँका विरुद्ध नारा लगाएका हौँ ।’ उनीहरूले पार्टी एकता जिन्दावाद, राजनेता केपा ओली जिन्दावाद भन्दै नारा लगाएपछि पाण्डेले बीचैमा सम्बोधन स्थगित गरेका थिए ।

घटनापछि नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालले बेग्ला–बेग्लै विज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा र भत्र्सना गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । ‘सभ्य, सुसंस्कृत, एवं समुन्नत समाज निर्माण गर्ने, उद्देश्य बोकेर कम्युनिस्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने–गराउने जोसुकै भए पनि कडा कारबाही गर्न स्थानीय पार्टी एवं सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछु,’ वरिष्ठ नेता नेपालले विज्ञप्तिमा भनेका छन् ।

अर्का वरिष्ठ नेता खनालले पनि दोषीमाथि कडा कारबाहीको माग गर्दै आन्तरिक विवाद उत्कर्षमा पुगेको र समाधानको उपायको खोजी भइरहेका वेला घटनालाई झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन पार्टीपंक्तिलाई अनुरोध गरेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सुनियोजित दुव्र्यवहार घटनाको निन्दा र भत्र्सना गर्दै त्यस्तो व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र नभएर कसैको हित नहुने बताएका छन् ।

स्थायी समिति सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्यस्तो हुलहुज्जत बहुदलीय जनवादको कोर्स नै हुन नसक्ने बताएका छन् । ‘हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन, विमर्श, छलफल र फरक मतको सम्मान जबजको विशेषता हो,’ भट्टराईले ट्विट गर्दै भनेका छन् ।

उता, घटनापछि नेकपा राप्ती नगर कमिटीले विज्ञप्ति प्रकाशित गरी हुलहुज्जत्त गर्दै नेता पाण्डेविरुद्ध दुव्र्यवहारमा उत्रिने पार्टी कार्यकर्तामाथि कारबाही गर्न जिल्ला कमिटी चितवनसमक्ष माग गरेको छ ।

सुर्खेतमा ओली पक्षको जबजबारे छलफल गर्न खेलाडी भेला 

मदन भण्डारी स्पोर्टस् एकेडेमी कर्णाली प्रदेशले जनताको बहुदलीय जनवाद विषयमा खेलाडीहरू स्वागत तथा प्रदेश भेला नाममा प्रशिक्षण दिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल, एकेडेमीका उपाध्यक्ष धु्रव आचार्यको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो । सुर्खेतको घन्टाघरमा भएको प्रशिक्षण कार्यक्रममा खेलाडीलगायत नेकपा नेता तथा कार्यकर्तासहित करिब दुई सय सहभागी थिए । प्रचण्ड–नेपाल समूहले पार्टी फुटाउने उद्देश्यले प्रशिक्षण दिइएको आरोप लगाएको छ । 

एकेडेमीका कर्णाली प्रदेश अध्यक्ष तेजविक्रम बस्नेतले भने कर्णालीमा खेल क्षेत्रलाई कसरी अगाडि बढाउने विषयमा स्वागत तथा प्रदेश भेला आयोजना गरिएकोे बताए । ‘यो कार्यक्रम पार्टी विवादबारे गुटको भेला होइन,’ उनले भने, ‘आगामी दिनमा खेल क्षेत्रलाई कर्णालीमा कसरी अगाडि बढाउने भन्ने विषयमा प्रशिक्षण भएको हो ।’

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव उपस्थित भएको कार्यक्रममा नेकपाका सबै विचार राख्ने खेलाडी उपस्थित भएको बस्नेतको दाबी छ । ‘यो खेल क्षेत्रलाई कसरी जनताको बहुदलीय जनवादसँग जोड्न सकिन्छ,’ उनले भने, ‘त्यसमा सामान्य छलफल भएको हो ।’