संखुवासभाको पाँचखपन नगरपालिका– ४ फापुङ भन्ने ठाउँमा बेवारिसे अवस्थामा फेला परेको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ ।
बिहीबार बिहान करिब साढे ७ बजेतिर नेपाली सेनाले बम डिस्पोज गरेको हो । पाँचखपन नगरपालिका– ४ फापुङदेखि वाना हुँदै खाँदबारी निस्कने कच्ची सडकमा राखिएको बेवारिसे बम खाँदबारीस्थित नेपाली सेनाको बराह दल गुल्मले निष्क्रिय पारेको हो ।
बुधबार अज्ञात समूहले सडकमा बेवारिसे अवस्थामा छोडेको बम नेपाली सेनाले निष्क्रिय पारेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आयार्यले बताए । उनले बेवारिसे अवस्थामा बम कसले छोडेको हो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
खाँदबारीदेखि वाना फर्कने क्रममा स्थानीयले बुधबार साँझ ५ बजे बाटोमा शंकास्पद वस्तु देखेपछि इलाका प्रहरी कार्यलय वानामा खबर गरेका थिए ।
प्रहरीका अनुसार गत सोमबार मात्रै चैनपुर– ४ मैदानेमा प्रहरी र विप्लव समूहबीच दोहोरो फायरिङ भएको थियो । प्रहरीले बम पनि उक्त समूहले राखेको हुन सक्ने अनुमान गरेको छ ।