मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७७ कार्तिक २८ शुक्रबार ०६:१९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आज कागतिहार : कागलाई मीठो–मीठो खानेकुरा खान दिएर मनाइँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७७ कार्तिक २८ शुक्रबार ०६:१९:००

कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने कागतिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो–मीठो खानेकुरा खान दिएर मनाइँदै छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।    

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुसी पार्ने गरिएको हो ।     

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।    

“काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ ।

यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका– १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।    

यमपञ्चक सुरु, बिहीबारदेखि यमदीप दान     

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने बिहीबार साँझदेखि नै सुरु भएको छ ।

यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यम यातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यमदीपदानसहित यमपञ्चक भने बिहीबार बेलुकीदेखि नै सुरु भएको छ ।     

कात्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने बिहीबार नै सुरु भएको छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक बिहीबार बेलुकीदेखि नै सुरु भएको हो ।

यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार नै मनाइन्छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।