१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २४ सोमबार १३:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कम्युनिस्ट सरकारले देशमा अस्थिरता र भ्रष्टाचार बढायो : प्रकाशमान सिंह 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २४ सोमबार १३:१३:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्ट नेतृत्वको सरकारले देशमा जहिले पनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको आरोप लगाएका छन् । 

पहिलो संविधानसभादेखि अहिलेसम्म कम्युनिस्टहरूले जनताबाट अत्यधिक मत पाएको, तर सत्तामा पुगेपछि अस्थिरता र भ्रटाचारबाहेक केही पनि दिन नसकेको उनले बताएका छन् । 

गणेशमान सिंहको १०६औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अहिलेपनि झन्डै दुईतिहाइको बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टीको सरकारले जनतालाई अस्थिरता र भ्रष्टाचार मात्रै दिएको बताए । 

पहिलो संविधानसभामा जनताले म्यान्डेड दिए पनि संविधान जारी नगरी भंग गरेको र अहिले पनि संविधानको कार्यान्वयन गर्न दिएको म्यान्डेडविपरीत अस्थिरता र भ्रष्टाचारलाई बढवा दिएको उनले बताए । 

बालुवाटारको ललितानिवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, वाइडबडी न्यारोबडी काण्ड बाहिर आउँदासमेत सरकारले कसैलाई कारबाही नगरेको नेता सिंहले आरोप लगाए । 

प्रधानमन्त्रीले आफूले पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ भन्ने, तर आफ्नै पार्टीका नेताहरू संलग्न भएका घोटलाहरूमा उहाँले नै संरक्षण गर्ने काम गरिराखेको बताए । 

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्नुपर्ने न्यूनतम कामसमेत गर्न नसकेको उनले बताए  ।

कोरोनाका कारण उत्पन्न पछिल्लो परिस्थितिमा जनतालाई राहत दिनुपर्नेमा सरकारले औषधि र उपकरण खरिदमा घोटाला गरेको बताए । 

सरकारले कोरोना महामारी रोकथाममा न्यूनतम काम पनि नगर्ने र पछिल्लो समय हामी गर्न सक्दैनौँ भन्दै पछि हटेकोसमेत बताए । 

सरकारले कोरोना रोकथामको लागि न्यूनतम कामसमेत गर्न नसक्दा जनता दुःखी भएको पनि नेता सिंहले बताए । 

सरकारले संघीयताको भावनाविपरीत एकपछि अर्को काम गरिराखेको आरोपसमेत नेता सिंहले लगाए । 

संविधानले देशमा तीन तहको सरकारको व्यवस्था गरे पनि प्रधानमन्त्रीले संघीय सरकारकै इकाइको रूपमा प्रदेश र स्थानीय तहलाई लिएको बताए । 

यस्तै नेता सिंहले नेपाली कांग्रेसभित्र पनि अप्रजातान्त्रिक गतिविधि बढेको बताए । 

पार्टीभित्र देखापरेका अप्रजातान्त्रिक गतिविधि सुधार गर्नका लागि पनि तोकिएको मितिमा नै महाधिवेशन गर्नुपर्ने बताए । 

चार वर्षमा हुनुपर्ने महाधिवेशन एक वर्ष समय थप हुँदा पनि हुन नसक्ने स्थितिमा आएको भन्दै चिन्ता व्यक्त गरे । 

कांग्रेसमा महाधिवेशन गर्नका लागि गर्नुपर्ने तयारी केही पनि नगरिएको उनले बताए ।