१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o५:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

विद्यार्थीबाट थप एक लाख असुल्दै नेसनल मेडिकल कलेज

थप रकम नदिए परीक्षाबाट वञ्चित गराउने विद्यार्थीलाई धम्की, परीक्षा दिने व्यवस्था गराउन माग गर्दै चिकित्सा शिक्षा आयोगमा विद्यार्थीको निवेदन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o५:१८:oo

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले चिकित्सा शिक्षाअन्तर्गत स्नातकोत्तर (पिजी) अध्ययन गरिरहेका विद्यार्थीबाट गैरकानुनी रूपमा एक लाख रुपैयाँ उठाउन सुरु गरेको छ ।स्नातकोत्तर परीक्षाको मौका पारेर कलेजले विद्यार्थीबाट रकम असुली गर्न सुरु गरेको विद्यार्थीले जनाएका छन् । एक लाख रुपैयाँ नतिर्ने विद्यार्थीलाई परीक्षामा बस्न नदिने धम्की दिएको नयाँ पत्रिकाको सम्पर्कमा आएका विद्यार्थीले बताएका छन् । ‘परीक्षा दिन मन छ भने यो शुल्क तिर्नुहोस्, नभए परीक्षा दिन पाइँदैन भनेको छ,’ प्रशासनको भनाइ उद्धृत गर्दै एक विद्यार्थीले भने । 

नेसनल कलेजमा अहिले स्नातकोत्तर तह (एमडी/एमएस/एमडिएस) दोस्रो वर्षमा २४ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये १० जनाको ७ मंसिरदेखि परीक्षा सुरु हुँदै छ । परीक्षाका लागि भन्दै कलेजले विद्यार्थीबाट सरकारले तोकेकोभन्दा एक लाख बढी शुल्क उठाउन खोजेको हो । कलेजले २० कात्तिकभित्र परीक्षा फारम भर्ने समय तोकेको छ । 

परीक्षाको समयमा सरकारले तोकेकोभन्दा एक लाख रुपैयाँ बढी शुल्क मागेर आफूहरूमाथि दबाब सिर्जना गरेको विद्यार्थीले बताएका छन् । ‘त्रिविको नियमअनुसार २२ लाख तिर्नुपर्छ । हामीले भर्ना हुँदा पनि त्यही निमयअनुसार सहमति गरेका हौँ, तर अहिले आएर थप एक लाख रुपैयाँ मागेको छ,’ अर्का विद्यार्थीले भने ।

कलेजले परीक्षाका लागि तिर्नुपर्ने वार्षिक शुल्क भन्दै थप रकम मागेको विद्यार्थीले बताएका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएका कलेजमा चिकित्साशास्त्रअन्तर्गत स्नातकोत्तर अध्ययन गर्दा २२ लाख रुपैयाँ तिर्नुपर्छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को १७ वैशाखमा प्रकाशित सूचनाअनुसार तीनवर्षे स्नातकोत्तर तह अध्ययनका लागि २२ लाख रुपैयाँ शुल्क तिर्नुपर्छ । जसमध्ये पहिलो किस्तामा ११ लाख, दोस्रो र तेस्रो किस्तामा पाँच लाख ५० हजारका दरले बुझाउनुपर्ने आइओएमको नियम छ । आइओएमले तोकेको शुल्कमा भर्ना शुल्क, शिक्षण शुल्क, प्रयोगशाला, पुस्तकालय तथा सामुदायिक तालिमलगायत सबै शुल्क समावेश गरिएको छ । 

तोकिएभन्दा बढी शुल्क तिर्नुपर्ने भएपछि विद्यार्थीले परीक्षामा सहभागी हुने वातावरण मिलाइदिन आग्रह गर्दै चिकित्सा शिक्षा आयोग, आइओएम, मेडिकल काउन्सिल र त्रिवि उपकुलपतिको कार्यालयमा निवेदन दिएका छन् । ‘नियामक निकायलाई गैरकानुनी रूपमा शुल्क उठाएको जानकारी गराउँदै परीक्षामा सहभागी हुने वातावरण मिलाइदिनुहोस् भनेर निवेदन दिएका छौँ,’ एक विद्यार्थीले भने, ‘यसरी त हामीले तीन वर्षमा सरकारले तोकेभन्दा तीन लाख थप शुल्क तिर्नुपर्छ ।’

चिकित्सा शिक्षा आयोगका सदस्यसचिव दिल्लीराम लुइँटेलले नेसनल मेडिकल कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क माग्नु गैरकानुनी भएको बताए । ‘कसैले पनि तोकेभन्दा बढी शुल्क माग्न पाउँदैन । अगाडि पनि यस्तै गर्दा कारबाही गरेका थियौँ, यसपटक पनि त्यही गल्ती दोहोर्‍याएछन्,’ सदस्यसचिव लुइँटेलले भने । 

बिहीबार बस्ने आयोगको बैठकले विद्यार्थीबाट उठाइएको थप शुल्क फिर्ता गराउने वा समायोजन गराउने भन्ने विषयमा निर्णय गर्ने लुइँटेलले बताए । उनले भने, ‘तोकिएभन्दा बढी शुल्क लिएको रहेछ भने फिर्ता गराउने वा समायोजन गराइन्छ । र, त्यसरी बढी शुल्क लिने कलेजलाई कारबाही पनि गछौंँ ।’ 

 

 

 

ad
ad