जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउदेशीय अन्तर्राष्ट्रिय रंगशालाकोे जग्गा लिज पुनः थपिने भएको छ । मधेश प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले १४ रजौलस्थित रंगशालाको निर्माण कार्य अगाडि बढाउने प्रतिबद्धता जनाएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रंगशालाको जग्गाको लिजलाई पुनः निरन्तरता दिने जनाएको छ । गत शुक्रबारको सदस्यसचिव स्तरीय निर्णयानुसार लिजलाई पुनः निरन्तरता दिइएको राखेपको कानुन शाखा प्रमुख नारायणराज अर्यालद्वारा जारी पत्रमा उल्लेख छ ।
निर्माणका लागि राखेपले गुठी संस्थानसँग ३ मंसिर ०७४ सालमा १६ विघा १७ कट्ठा १९ धुर जग्गा लिजमा लिएको थियो । खेल पुर्वाधार निर्माण गर्न बजेट व्यवस्थापन नगरेको तथा गुठी संस्थानलाई लिजवापत बुझाउनुपर्ने बहाल रकम पनि महँगो हुदै गएको भन्दै राखेपले गत ३ पुसमा गुठीसँगको लिजलाई निरन्तरता नदिने निर्णय गरेको थियो ।
राखेपको उक्त निर्णय सार्वजनिक भएपछि जनकपुरधामका मेयर मनोज कुमार साहसहितको टोली राखेपको कार्यालयमै पुगेर गुठीसँगको सम्झौतालाई निरन्तरता दिन आग्रह गरेका थिए । प्रदेश सरकार र उपमहानगरपालिकाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणको क्रममा एक सय करोड भारतीय रुपैयाँ जनकपुरधामको पूर्वाधार विकास निर्माणमा प्रदान गर्ने घोषणा गरिएको थियो । उक्त रकम रंगशाला निर्माणमा खर्च गरिने भन्ने संयुक्त रूपमा सहमति जनाएको र रंगशालाको निर्माण कार्यका लागि प्रदेश सरकार र जनकपुरधामले बर्सेनि केही रकम खर्च गर्दै आएको छ ।
यस्तो अवस्थामा गुठीसँगको उक्त सम्झौता रद्द गर्दा व्यवहारिक नहुने भन्दै प्रदेश सरकार र उपमहानगरपालिकाले अनुरोध गरेपछि राखेप आफ्नो निर्णयबाट पछि हटेको छ ।