१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
योगेश भट्टराई
२o८१ जेठ ५ शनिबार o७:१२:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

उपनिर्वाचनको सन्देश र एमालेको ‘मिसन ०८४’

Read Time : > 5 मिनेट
योगेश भट्टराई
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:१२:oo

यस उपचुनावले एमालेलाई संगठनको सुदृढीकरण र शुद्धीकरण गर भन्ने प्रस्ट सन्देश दिएको छ

१५ वैशाखमा इलाम २ मा प्रतिनिधिसभा र बझाङमा प्रदेश सभाका उपनिर्वाचनमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । चुनावअघि कतिपयले एमालेले जित्दैन अथवा ठूला पार्टीमध्ये कसैले जित्दैनन् भन्ने आकलन गरेका थिए । खासगरी चितवन र तनहुँको उपनिर्वाचन परिणामलाई आधार मानेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वा पहिचानका नाममा खुलेका दलले नै इलाममा चुनाव जित्छन् भन्ने अनुमान थियो धेरैको । यी परिचर्चाप्रति सजग बन्दै हामीले योजनाबद्ध चुनावी तयारी गरेका थियौँ । परिणामतः हामीलाई दुवै स्थानमा मतदाताले पत्याउनुभयो ।

एमालेका लागि यस चुनावी परिणामका थुप्रै सन्देश छन् । आमजनताले रुचाएको, कार्यकताले रोजेको उम्मेदवार बनाउँदा जित सहज हुन्छ भन्ने यसपटक पुष्टि भएको छ । हामीले बझाङमा जिल्ला अध्यक्ष दमन भण्डारीलाई उम्मेदवार बनायौँ । सर्वसम्मत सिफारिस हुन नसक्दा त्यहाँको आन्तरिक मतदानमा उहाँले ९० प्रतिशतभन्दा बढी मत ल्याउनुभएको थियो । यसबाट उहाँ जनता र कार्यकर्ताको रोजाइ र खोजाइका उम्मेदवार हो भन्ने स्वतः बुझ्न सकिन्थ्यो । अन्ततः कडा प्रतिस्पर्धाबीच उहाँ विजयी पनि बन्नुभयो । यसले पार्टीको निर्णय पनि सही थियो भन्ने पुष्टि भयो । 

इलाममा ६ जनाको नाम सिफारिस भएकामा तीमध्ये भूगोलमै लामो समय बसेर काम गरेका साथीहरू पनि हुनुहुन्थ्यो । त्यहाँ पनि केही बहस र छलफल भएकै हुन् । पार्टीमा लामो समयसम्म काम गरेकालाई नै टिकट दिँदा न्यायोचित हुन्छ भन्ने बहस पनि नउठेको होइन । अर्कातिर चुनावी अभियानमा आमजनतामा कसले प्रभाव पार्न सक्छ भन्ने बहस चल्दा सुहाङजीको नाम अगाडि आएको थियो । प्रस्तावित सबै उम्मेदवारलाई काठमाडौं बोलाएर पार्टीअध्यक्ष स्वयंले छलफल गर्नुभो । त्यसक्रममा सुहाङजीलाई नै अगाडि सार्दा चुनाव जित्न सकिन्छ भन्ने धेरै आधारबाट पुष्टि भएपछि सिफारिसमा पर्नुभएकै साथीहरूले पनि त्यसलाई स्वीकार गर्नुभो र उहाँलाई अगाडि सारियो । यसमा तीन–चारवटा सकारात्मक पक्ष देखिएका थिए । पहिलो, उहाँ युवा पुस्ताको योग्य प्रतिनिधि हो । दोस्रो, युवाभित्र पनि पढेलेखेको, बौद्धिक युवा हो ।

तेस्रो, उहाँको प्रस्तुति शालीन र भद्र भएकाले स्वतन्त्र र अन्य पार्टीको मत पनि तान्न सक्नुहुन्छ भन्ने लाग्यो । चौथो, सुवास दाइको लिगेसी थियो उहाँसँग । यी सबै हुँदाहुँदै पनि जिल्ला र केन्द्रीय नेतृत्वले स्वीकार नगरेको भए उहाँको उम्मेदवारी सम्भव थिएन । उम्मेदवारी निर्विवाद भयो र सबै प्रतिस्पर्धी पनि उहाँलाई जिताउने अभियानमा लाग्नुभो । विगतमा कार्यकर्ताले नरुचाएको, मतदाताबीच नभिजेको, राजनीतिक एजेन्डा बताउन नसक्ने अवस्थाका उम्मेदवार पनि पार्टीभित्रको गुटबन्दी या अन्य दबाबका कारण अगाडि सारेको अवस्थामा परिणाम राम्रो आएको थिएन । त्यसैले तलको मनोविज्ञान र सुझावलाई आधार मानेर उम्मेदवारी दिने हो भने विमति धेरै हुने रहेनछ र सहज ढंगले जान सकिने रहेछ भन्ने यस उपनिर्वाचनको परिणामले देखाएको छ । यसरी उम्मेदवार छनोटदेखि नै तालमेल मिलेकाले परिणाम हाम्रो पक्षमा आयो भन्ने हाम्रो बुझाइ छ । 

नेपाली राजनीतिका मुख्य प्रतिस्पर्धी दल एमाले र कांग्रेस नै हुन् । यिनै दुई राजनीतिक शक्ति र यिनै दुईले अँगाल्ने विचार नै नेपालमा स्थापित हुन्छन् भन्ने संकेत यस उपनिर्वाचनले गरेको छ ।
 

थुप्रै उपचुनावको अनुभवबाट शिक्षा लिएर हामीले यो उपचुनावमा सुविचारित ढंगले चुनाव परिचालन गरेका थियौँ । हामीले फिल्डमा नेतृत्वको ठूलो पंक्तिलाई भिडभाड हुने गरी पठाएनौँ । कतिपयलाई एमालेका नेताहरू किन इलाम र बझाङ गएनन् भन्ने पनि परेको थियो । कांग्रेसका एकसे एक नेता दुवै स्थानमा पुग्नुभयो । कांग्रेसका नेता सांसद गाउँगाउँमा पुग्नुभयो । रास्वपाको पूरै टिम लागेको थियो । पहिचानवादीका मान्छेहरू विदेशाटसमेत आएर सक्रिय भए । कतै एमालेले मैदान खाली त गर्दै छैन ? अथवा सुहाङलाई बलिको बोको बनाउँदै त छैन भन्ने प्रश्न नउठेका होइनन् ।

तर, हामीले सुविचारित रूपमै त्यो काम गरेका थियौँ । हामीले इलामको नेतृत्वलाई नै मुख्य आधार मान्यौँ, जिल्ला अध्यक्षलाई नै मुख्य कमान्डर बनायौँ । इन्चार्ज शिवमाया तुम्बाहम्फेसहित केन्द्रीय सदस्यलाई आधार मान्यौँ । उहाँहरूलाई नै चुनाव परिचालनको पूर्ण जिम्मेवारी दियौँ । आवश्यकताअनुसार प्रदेशका केही साथी जानुभो, तर केन्द्रीय नेतृत्व भिडभाडका लागि गएन । पार्टी अध्यक्ष दुई आमसभामा जानुभो र अरू नेता पुग्ने र फर्किने मात्र गर्नुभो, तर हामीले नेताको भिड देखाएनौँ । यदि भिड गरेको भए त्यहाँका कार्यकर्ताले माथिका नेताको स्वागत र सत्कारकै लागि बढी समय खर्चिनुपथ्र्यो र त्यसले आममतदातालाई सकारात्मक प्रभाव पार्न सक्दैनथ्यो । बझाङमा पनि त्यही गर्‍यौँ । 

इलाममा हाम्रो पार्टीपंक्ति सम्पूर्ण हिसाबले एकताबद्ध भएर चुनावी अभियानमा लाग्यो । परिणामतः आजको राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिकालाई मतदाताले सही मूल्यांकन गर्नुभो र एमाले नै बलियो शक्तिका रूपमा आउनुपर्छ भन्ने ठान्नुभो । हामीले आफ्ना एजेन्डा स्पष्ट ढंगले राख्यौँ । कोशी प्रदेशको नामकरणका सन्दर्भमा पनि मत आउँदैन कि भनेर दोधारे नीतिका कुरा गरेनौँ, आफ्ना कुरा प्रस्ट राख्यौँ । कोशी साझा पहिचानको नाम हो नै भन्यौँ र प्रदेश सभाको विशेषाधिकारका पक्षमा धारणा राख्यौँ, तर अरू पार्टीका साथीले भने छाला जोगाउने काम गर्नुभो । यी कारणले त्यहाँ राम्रो परिणाम आउन भूमिका खेल्यो । हाम्रा उम्मेदवारबारे कांग्रेसका कतिपय नेता साथीले सुवास नेम्वाङलाई राजा र सुहाङजीलाई युवराज भनेर जसरी बोल्नुभयो, कतिपयले सामाजिक सञ्जालमा गरिएका नकारात्मक टिप्पणीले पनि सकारात्मक भूमिका खेल्यो ।

सुवासजी राजपरिवारको मान्छे होइन, सामान्य मध्यमवर्गीय परिवारबाट आएको व्यक्ति हुनुहुन्थ्यो, तर सुहाङजीलाई उम्मेदवार बनाएर हामीले उत्तराधिकारी बनाउन खोजेका थिएनौँ, उहाँ पढेलेखेको हुनुहुन्छ, राजनीति गर्न योग्य हुनुहुन्छ, युवा हुनुहुन्छ, भोलि पनि नेतृत्व गर्ने क्षमता छ, त्यसैले उम्मेदवारी दिएको हो । उहाँ सुवासजीका छोरा पनि हुनुहुन्छ । सुवासजीको राम्रो छाप छ इलाममा । त्यही परिवारबाट उठाउँदा सहज हुन्छ, मान्छेले सहानुभूतिपूर्वक पनि हेर्छन् । दक्षिण एसियाको राजनीतिमा यस्तो देखिएकाले पनि उम्मेदवार बनाएकै हो, तर त्यसलाई कतिपयले नकारात्मक ढंगले प्रस्तुत गर्नुभयो ।

उहाँहरूकै पार्टीमा कोइराला परिवारबाट कसरी आएको छ, गणेशमानजीको परिवारमा के भएको छ, बझाङमा कसलाई उम्मेदवार बनाइएको थियो ? शेरबहादुरजी, बालकृष्णजीकी श्रीमती कहाँ हुनुहुन्छ ? सबैलाई प्रस्ट थाहा छ । तर, हामीले यस्ता छुद्र टिप्पणी गरेनौँ । तर, नकारात्मक टिप्पणीले सुहाङजीलाई सहयोग नै पुग्यो । हामीले इलामको समाजलाई भड्काउने, उत्तेजित बनाउने काम गरेनौँ । बहुजातीय, बुहभाषिक, बहुसांस्कृतिक यथार्थलाई बुझेर उम्मेदवारले आफूलाई प्रस्तुत गर्नुभो । आफू लिम्बू भए पनि एकल जातीय पहिचानको कुरा गर्नुभएन । त्यसैले, सबै जाति, वर्ग, धर्म समुदायको मत उहाँलाई आएको छ । बझाङमा पनि त्यसैगरी नै जितेका हौँ हामीले ।

अहिलेकै परिणामले सबै कुराको संकेत गर्दैन । कतिपय साथीले हौसिएर मिडियामा घन्टी समाप्त भयो भन्ने टिप्पणी गर्नुभएको छ । पक्कै पनि यो परिणामले रास्वपालाई सबक सिकाएकै छ । लोकरिझ्याइँ या ‘पपुलिज्म’मा मात्र राजनीति टिक्दैन । त्यसका लागि जरा चाहिन्छ, हाँगाबिँगा, सिद्धान्त, दर्शन, कार्यक्रम चाहिन्छ, नेतृत्व, विश्वसनीयता, इतिहास, लिगेसीलगायत सबै पक्ष आवश्यक हुन्छ । तर, यी पक्ष रास्वपासँग छैन । यसलाई उसले शिक्षाकै रूपमा लिन्छ होला । कहिलेकाहीँ जनताको असन्तुष्टिले परिणाम उल्टिन सक्छ । तर, त्यो स्थायी हुँदैन भन्ने पनि इलाममा प्राप्त परिणामको संकेत हो । नेपाली राजनीतिका मुख्य प्रतिस्पर्धी दल एमाले र कांग्रेस नै हुन् । समाजवादी, वामपन्थी विचार बोकेको लोकतान्त्रिक पार्टी भएकाले एमालेले त्यो विचार र त्यो जनसमुदायको प्रतिनिधित्व गर्छ । उदार पुँजीवादी विचार बोकेको पार्टी भएकाले कांग्रेसले त्यसकै प्रतिनिधित्व गर्छ ।

त्यसैले, दुई राजनीतिक शक्ति र दुई विचार नै नेपालमा स्थापित हुन्छन् भन्ने संकेत यस उपनिर्वाचनले दिएको छ । सँगसँगै डकेन्द्रजीले जुन मत ल्याउनुभएको छ, त्यसले समाजलाई भड्काउन खोज्ने तŒव र शक्ति पनि छन् समाजमा, तिनीहरूप्रति एमाले सजग हुनुपर्छ । एमालेले उत्तेजनामा आएर कुनै जाति, धर्म, भेगप्रति अनुदार हुने नीति लिनुहुँदैन । सबैलाई समेटेर एउटा नेपाल राष्ट्र बनाउने सोच लिनुपर्छ भन्ने पनि सन्देश प्राप्त भएको छ । तर, पूर्वी पहाडी क्षेत्रमा भोलिका दिनमा कहीँ न कहीँ चुनौती हुन सक्छ है भन्ने सन्देश पनि यसले दिएको छ । तर, यो चुनौती दीर्घकालीन नभएकाले केही आक्रोश, असन्तुष्टि, केही अतिवादी नाराबाट प्रभावित भएको मात्र हो । त्यसैले डराइहाल्नुपर्ने नभए पनि सचेतचाहिँ हुनुपर्छ भन्ने संकेत हो यो । 

एमालेले मिसन ८४ भनिरहेको छ । तर, ०८४ को निर्वाचन आउन अझै तीन वर्ष बाँकी छ । एमालेको संगठन ०४८, ०५१, ०५६ पछि बिग्रिँदै गएको हो । यो उपचुनावले एमालेलाई संगठनको सुदृढीकरण र शुद्धीकरण गर भन्ने सन्देश दिएको छ । हामीले राष्ट्रिय महाधिवेशन प्रतिनिधिपरिषद् बैठकबाट संगठन शुद्धीकरण र सुदृढीकरण अभियान नै पारित गरेका छौँ । सुदृढ भनेको विस्तार र शुद्धीकरण भनेको भित्रको फोहोरमैला सफा गर्नु हो । संगठनभित्र फोहोरमैला पसेको छ, किनभने हाम्रो ढोका खुला छ । त्यसभित्र जसरी घोलघाल पारेर रूपान्तरण गर्नुपथ्र्यो, त्यो काम त्यति बलियोसँग भएको छैन ।

पार्टीभित्र सांस्कृतिक रूपान्तरण र शुद्धीकरण आवश्यक छ । नेता साथीहरूको नाम कतिपय नकारात्मक प्रकरणमा जोडिएर आउनु दुःखद हुन्छ । एमाले मोडल पार्टी भएकाले नेताहरू आइडिएल हुनुपर्छ । समाजमा छिछी दुरदुर गरिने व्यक्ति नेता हुन सक्दैन । जनताले चाहेको, कार्यकर्ताले रोजेको नेतृत्वलाई निर्वाचनमा पठाउनुपर्छ । ०७९ मा हामीले प्रत्यक्षतर्फ करिब २५ सिट आन्तरिक अन्तर्घात र अन्तरविरोधका कारण गुमाएका छौँ । अहिले बझाङ र इलाम आन्तरिक एकताबाट जितेका छौँ । पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउनुपर्छ । अन्तर्घाती प्रवृत्ति नियन्त्रण गर्नुपर्छ भन्ने सन्देश यो चुनावबाट पाएका छौँ । 

यसमा अहिलेको राजनीतिक सत्ता समीकरणको प्रभाव पनि भएकोलाई इन्कार गर्न सकिन्न । इलाममा माओवादी केन्द्र र नेकपा विप्लव समूहको पनि समर्थन थियो । उहाँहरूको कति मत आयो, हामीले गन्न आवश्यक ठानेनौँ । तर, उहाँहरूको समर्थनले हामीमा विजयको मनोविज्ञान सिर्जना गरेको थियो । मतदातामा पनि विश्वास बढेको थियो । स्वाभाविक रूपमा हाम्रो मत बढेको छ र ०८४ सम्म पनि हामी सँगै जान सक्छौँ भन्ने संकेत यसले देखाएको छ । 

विशेषगरी राजनीतिक समीकरणमा हुनुभएका र हिजो एउटै पार्टीमा काम गरेका माधव नेपालको नेतृत्व क्षमता यसमा देखिएन । उहाँले नेतृत्व क्षमता गुमाउनुभयो । उहाँले दुवै क्षेत्रमा जित्ने आधार थिएन । हामीले चुनावको सम्मुखमै उहाँको पार्टीलाई सुदूरपश्चिममा मुख्यमन्त्रीमा समर्थन गरेका थियौँ । प्रदेशका मन्त्रालयमा उहाँलाई सम्मानजनक व्यवस्थापन गरेकै थियौँ । केन्द्रीय सरकारमा सँगै थियौँ । यस्तोमा आफूले जितिन्न भने समीकरणमा रहेको जित्न सक्ने दललाई समर्थन गर्नु अनुचित हुन्थेन । मलाई लाग्छ, माधव नेपाल र उहाँको पार्टीले ठूलो मौका गुमायो । यसकारण उहाँ उत्तेजित भएर टाढा पुग्न पनि सक्नुहुन्छ । उहाँका पछिल्ला अभिव्यक्ति पनि त्यस्तै देखिन्छन् । उहाँले टाढा जाने र अर्को विकल्प खोज्ने बाटो अपनाउनुभयो भने उहाँका निम्ति झनै ठूलो दूर्भाग्य हुनेछ । 

ad
ad