१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
वेस्ट इन्डिजविरुद्ध विजयी रन बटुलेपछि खुसियाली मनाउँदै कुशल मल्ल (बायाँ) र कप्तान रोहितकुमार पौडेल । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८१ जेठ ५ शनिबार o७:२२:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकपअघि राम्रो तयारी

Read Time : > 3 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:२२:oo

पाँचौँ खेलमा नेपालले ६ विकेटले जित निकाले पनि वेस्ट इन्डिज ‘ए’ ले सिरिज ३–२ ले आफ्नो पक्षमा पार्‍यो, नेपालका कप्तान रोहितकुमार पौडेल ‘प्लेयर अफ दी सिरिज’ बने

वेस्ट इन्डिज ‘ए’विरुद्धको अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै नेपालले आइसिसी टी–२० विश्वकपअघि राम्रो तयारी भएको संकेत गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा नेपाललाई जित दिलाउन ओपनर आसिफ शेख, अनिलकुमार शाह, कुशल मल्ल, सोमपाल कामी र सागर ढकालले सानदार प्रदर्शन गरे । टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध नेपालले अन्तिम खेलमा बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै सिरिज ३–२ ले टुंग्याएको हो । नेपाल र वेस्ट इन्डिज दुवैले विश्वकपअघि तयारीका लागि यो खेल खेलेका थिए । 

नेपाली टोलीका अलराउन्डर सोमपाल कामीले विश्वकपअघि राम्रो तयारी भएको बताएका छन् । ‘दश वर्षपछि विश्वकप खेल्दै छौँ । विश्वकपअघि यो राम्रो तयारी हो,’ दोस्रोपटक विश्वकप खेल्दै गरेका सोमपालले भने, ‘हामी दोस्रो खेलमा चुक्यौँ । यदि त्यो खेलमा हामीले जितेको भए, सिरिज नै हाम्रो पक्षमा आउने थियो ।’ यसअघि भएको चारमध्ये तीन खेल जित्नै सिरिज वेस्ट इन्डिजले जितिसकेको छ । पहिलो खेल नेपालले दुई बलअघि चार विकेटले जितेको थियो । दोस्रो खेल वेस्ट इन्डिजले १० विकेटले जित्दै सिरिज बराबरी गरेको हो । नेपाल पहिलोपटक भ्रमणमा आएको वेसट इन्डिजले तेस्रो खेलमा ७६ रनले जित निकाल्दै सिरिजमा २–१ को अग्रता बनायो । चौथो खेल २८ रनले जित्दै सिरिज एक खेलअघि नै जितेको थियो । 

नेपालले पारस खड्काको कप्तानीमा सन् २०१४ को विश्वकप खेलेको थियो । त्यसपछि नेपालले एकैपटक वेस्ट इन्डिज र अमेरिकामा जुनमा आयोजना हुने विश्वकप खेल्दै छ । दुवै विश्वकप खेल्ने सोमपाल नेपालका एक्ला खेलाडी हुन् । २ जुनबाट सुरु हुने विश्वकपको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ । खेल ४ जुनमा हुनेछ । नेपाल सम्मिलिन समूह ‘डी’ दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका छन् । 

ओपनर आसिफ सेखले पनि विश्वकपअघि उच्च मनोबल भएको बताए । ‘अनुभवी टोलीविरुद्ध खेल्दा विश्वकपअघि उच्च मनोबल भएको छ । टेस्ट राष्ट्रविरुद्ध खेल्दा धेरै कुरा सिक्न पाएका छौँ । राम्रो तयारी भयो ।’ नेपाली टोली विश्वकपको एक महिनाअघि नै राति वेस्ट इन्डिज प्रस्थान गर्नेछ । वेस्ट इन्डिजमा नेपाली टोलीले स्थानीय क्लबलगायतसँग अभ्यास खेल खेल्ने कार्यक्रम छ । 

चम्किए आसिफ र अनिल 
ओपनर आसिफ शेख तथा अनिलकुमार शाहले अर्धशतक बनाएपछि नेपालले अन्तिम खेलमा वेस्ट इन्डिजलाई हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ७३ रनको लक्ष्य दिएको छ । प्रत्युत्तरमा नेपालले १८.५ ओभरमा ६ विकेट गुमाउँदै जित हासिल गरेको हो । नेपालको इनिङ्समा तेस्रो नम्बर क्रिजमा पुगेका अनिलकुमारले ४५ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५८ रन बनाए । ओपनर आसिफले ३५ बलमा ५१ रन बनाएर आउट भए । १.४ ओभरमा कुशल भुर्तेललाई गुमाएपछि नेपालको १३.३ ओभरमा दोस्रो विकेट गुमायो । आसिफ र अनिलले ९६ रनको बलियो साझेदारी गरेपछि नेपाल सहज जिततर्फ अग्रसर भएको थियो । चौथो नम्बर क्रिजमा पुगेका कुशल मल्लले १८ बलमा तीन चौका र तीन छक्कासहित ३७ रनको योगदान गरे । त्यसअघि ओपनर भुर्तेलले ९ बलमा १३ रन बनाए । दिपेन्द्रसिंह ऐरी ६ बलमा पाँच रन मात्रै बनाए । ओवेद म्याकोयले सर्वाधिक तीन विकेट हात पारेका थिए । 

रोहित प्लेयर अफ दी सिरिज
पाँच खेलको सिरिजमा चार खेल खेलेका कप्तान रोहितकुमार पौडेल प्लेयर अफ दी सिरिज घोषित भए । तीन खेलमा ब्याटिङ अवसर पाएका रोहितले एक शतक र दुई अर्धशतकसहित २६५ रन बनाए ।

दोस्रो खेलमा चुक्दा सिरिज गुमायौँ : सोमपाल कामी, खेलाडी, नेपाल
मेरो एउटा सपना पूरा भएको छ । लगातार विश्वकप खेल्ने भएको छु । विश्वकपअघि आयरल्यान्ड र वेस्ट इन्डिजसँग खेलेका छौँ । यसले विश्वकपमा राम्रो प्रदर्शन गर्न सहयोग गर्छ । सिरिजमा रोहितले राम्रो कप्तानी र ब्याटिङ गरे । सबैले राम्रो प्रदर्शन गरेका छन् । यस्तै सिरिज भयो भने हामी वेस्ट इन्डिजलाई हराउँछौँ । अर्काेपटक भयो भने हामी जित्छौँ । दोस्रो खेल जित्न नसक्नु नराम्रो भयो । दोस्रो खेल जितेको भए अन्तिम खेल जितेर सिरिज जित्न सक्थ्यौँ । टोलीको बेन्च राम्रो भएको छ । त्यसले आगामी खेलमा राम्रो हुनेछ । विश्वकप खेल्न १० वर्ष लागेको छ । अर्काे वर्ष त्यस्तो समय नलागोस् । 

विश्वकप खेल्ने सपना पूरा भयो : अनिलकुमार शाह, खेलाडी, नेपाल
विश्वकप खेल्ने सबैको सपना हुन्छ । टोलीमा स्थान बनाउँदा एकछिन आसु आयो । घरपरिवारसँग गफ भयो । अन्तिम खेलमा कुशल आउट भएपछि क्रिजमा जानेबित्तिकै गाह्रो थियो । वेस्ट इन्डिजको स्पिनर राम्रो थियो । आसिफसँग बलियो साझेदारी गर्ने र विकेट नगुमाउने सल्लाह भएको थियो । सेट भएपछि रन बन्ने विश्वास थियो । आसिफले रन बनाएपछि मलाई पनि सहज भयो । वेस्ट इन्डिजविरुद्ध दबाब थिएन । घरेलु मैदानमा सिरिज जित्ने अवसर चुक्यो ।

विश्वकपअघि राम्रो तयारी : आसिफ शेख, खेलाडी
विश्वकप छनोट हुनु नै खुसीको कुरा थियो । विश्वकप खेल्ने सपना थियो । त्यही पूरा भयो । विश्वकपअघि वेस्ट इन्डिजसँग खेल्न पाउने राम्रो कुरा हो । सोचेजस्तो नतिजा आएन । तर, अन्तिम खेल जित्दा टिमको मनोबल उच्च भएको छ । अनुभवमा टेस्ट र एसोसिएसन टोलीमा फरक पर्छ । खेल पनि हामीले कम खेलेको हुन्छौँ । तर, टेस्ट राष्ट्रबाट धेरै कुरा सिक्न पाएका छौँ । विश्वकप सुरु हुनु एक महिनाअघि जाँदै छौँ । राम्रो तयारी गर्छाैँ । 

बलिङमा सागर र सोमपालको उत्कृष्ट प्रदर्शन
बलिङतर्फ सागर ढकाल र सोमपाल कामी सानदार प्रदर्शन गर्दै समान तीन विकेट लिएपछि वेस्ट इन्डिजले ठूलो स्कोर बनाउन सकेन । सागरले २ ओभरमा मात्र १७ रन खर्चिए । सोमपालले चार ओभरमा १५ रन खर्चिएका हुन् । अभिनाश बोहराले चार ओभरमा एक विकेट लिएर ४९ रन खर्चिएर महँगो साबित भए । प्रतिश जिसी, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल विकेटविहीन रहे । वेस्ट इन्डिजको इनिङ्समा उपकप्तान एलिक एथानाजले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा एक चौका र तीन छक्का प्रहार गरेका हुन् । विश्वकप टोलीमा स्थान बनाएका कप्तान चेजले ३३ रन बनाए । चेजलाई अभिनाश बोहराले सन्दीप जोराबाट क्याच आउट गराएका हुन् । म्याथु फोर्डले १२ बलमा तीन छक्कासहित २३ रन हुन् । विश्वकपमा स्थान बनाएका अर्र्का जनसन चार्लेसले २० बलमा २४ रन बनाए । ओपनर कदिम ऐलेनले ६ बलमा ११ रन बनाउँदा सागरको बलमा कप्तान रोहितले कभरमा सानदार क्याच लिएका हुन् । वेस्ट इन्डिजको इनिङ्समा चेज र एथानाज ३६ बलमा सर्वाधिक ४४ रनको साझेदारी गरेका थिए । 

ad
ad