मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २६ सोमबार १४:१४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

यसपटकको दसैँमा नयाँ नाेट साट्दैनौँ : राष्ट्र बैंक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २६ सोमबार १४:१४:००

नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा नयाँ नोट सटही नगर्ने भएको छ । 

कोभिड– १९ संक्रमणको जोखिमका कारण दसैँलक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दसैँमा नयाँ नोट सटहीको व्यवस्था गर्दा लामो लाइन बस्ने र भिड हुन गई संक्रमणको जोखिम झनै बढने भएकाले यसपटकको दसैँलक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको जानकारी दिए । 

यस्तै अन्य बैंकहरूमा समेत संक्रमणको जोखिम उच्च भएकोले दसैँका लागि लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था कुनै पनि बैंकमा नगरिएको उनले बताए । 

यद्यपि आफ्नो खातामा भएको रकम बैंकबाट निकाल्दा केही सुकिला र नयाँ नोट पाउन सक्ने अवस्था भने रहेको प्रवक्ता भट्टले बताए । 

यसअघिका वर्षहरूमा दसैँमा लामो लाइनमा बसेर नयाँ नोटको सटही गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाउँदै आएको थियो । 
जुन एक किसिमले प्रचलनको रूपमा पनि स्थापित भइसकेको छ । 

राष्ट्र बैंकले पाँच रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र एक सय रुपैयाँ दरका नयाँ नोटहरू दसैँको वेलामा सटही गर्दै आएको थियो । 

यस वर्ष भने राष्ट्र बैंकसँग नयाँ नोट मौज्दात भए पनि कोभिड संक्रमणको जोखिमका कारण नोट सटही असम्भव भएको जनाएको हो ।

नेपालीहरूको महान् चाड दसैँका वेला टीका लगाएर आफन्तजनलाई नयाँ नोट दक्षिणा दिने प्रचलन रहिआएको छ । जसले गर्दा हरेक वर्षका दसैँमा नेपाल राष्ट्र बैंकले नयाँ खुद्रा नोट सटही गर्दै आएको छ ।