मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज २६ सोमबार
  • Thursday, 19 December, 2024
२o७७ असोज २६ सोमबार o४:४२:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोरोना जोखिमबीच भारतीय बजारबाट सामान ओसार्दै सीमाका नेपाली

नेपाल–भारत सीमा सिल, तर रोकिएन खुला सिमानामा आउ–जाउ गर्नेको लस्कर

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o७७ असोज २६ सोमबार o४:४२:oo

कोरोना संक्रमण बढ्दै गएपछि नेपाल र भारतले सीमा सिल गरे । दुवै मुलुकमा संक्रमण दर तीव्र गतिमा उकालो लागिरहँदा अहिले पनि मुख्य सीमामा कडाइ जारी छ । तर, नेपालबाट भारतीय बजारमा किनमेल गर्न जाने तथा भारतबाट कामको खोजीमा नेपाल भित्रिनेहरू खुला सिमानाबाट बेरोकटोक आउजाउ गरिरहेकै छन् ।

काँकडभिट्टा, जोगबनी, जलेश्वर, वीरगन्ज, भैरहवा, जमुनहा, त्रिनगर, गड्डाचौकीजस्ता मुख्य प्रवेश बिन्दुमा कडाइ कायम छ, तर खुला सिमानाबाट सुरक्षाकर्मीको आँखा छल्दै लस्कर बाँधेरै आउजाउ भइरहेको छ । भारतीय बजारमा किनमेल गरेर फर्कनेहरूलाई नियन्त्रणमा लिएर १४ दिन क्वारेन्टाइनमा राख्ने स्थानीय प्रशासनको चेतावनीले पनि यस्तो लस्कर रोकिएको छैन ।

जब कि, ‘कोभिड इन्डिया डट ओआरजी’को तथ्यांकलाई आधार मान्ने हो भने भारतका बिहार, उत्तरप्रदेश र पश्चिमबंगाल कोरोना संक्रमण अत्यधिक फैलिएका राज्यमध्येमा पर्छन् । सीमा क्षेत्रका बासिन्दा तिनै भारतीय राज्यका बजारमा किनमेलका लागि गइरहेका छन् । तिनै बजारबाट अवैध बाटो सामान पनि भित्र्याइरहेका छन् ।

जोगबनी नाकामा कडाइ, तर फोहोर नाघ्दै आउजाउ
१५ किलो प्याज राखेको पोको टाउकोमा राखेर विराटनगर–१७ की करिब ४२ वर्षकी सीतादेवी यादव जोगबनीमा किनमेल गरेर भारततर्फको पालिकाले दशगजामा थुपारेको फोहोरको डंगुर नाघ्नै नेपालतर्फ प्रवेश गर्दै थिइन् । उनलाई प्रहरीले रोक्न खोज्दै थिए, तर उनी अटेर गर्दै नेपाल प्रवेश गरेरै छाडिन् ।

यस्तै, जोगबनीमा किनमेल गरेर भारतको टिकुलिया बस्ती हुँदै दशगजास्थित कम्मरसम्म आउने पानीको दहमा हेलिँदै विराटनगर–१६ की करिब ३५ वर्षकी नन्दीदेवी मण्डल त्यसरी नै प्रहरीको चेतावनी बेवास्ता गर्दै नेपालतर्फको दरैया बस्तीमा आएरै छाडिन् । उनीहरू जोगबनीमा सस्तोमा सामान किनेर नेपालतर्फ ल्याई महँगोमा बिक्री गर्छन् । ‘लकडाउनभरि दुःख पाइयो, यति पनि नगरे अब कसरी बाँच्ने ?’ विराटनगर–१२ बखरीकी बुधनी ऋषिदेव भन्छिन् ।

कोरोना संक्रमण रोकथाम गर्न जोगबनी नाकामा नेपाल–भारत दुवैतर्फ ११ चैतदेखि सीमा सिल गरिएको छ । तर, सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने र फर्कने नेपाली घटेका छैनन् । भारततर्फ किनमेल गरेर फर्कनेहरूलाई नियन्त्रणमा लिएर १४ दिन क्वारेन्टाइनमा राख्ने स्थानीय प्रशासनको चेतावनी स्थानीय बासिन्दाले अटेर गर्दै आएका छन् ।
सिमानामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी तैनाथ छन् । दसैँका लागि सामान किनमेल गर्न जाने स्थानीय बासिन्दाले उनीहरूलाई टेर्दैनन्, हुल बाँधेर सामानको भारी बोक्दै आउजाउ गरिरहेकै छन् ।

मुख्य नाकाबाट पश्चिमतर्फ विराटनगर जुटमिलको दक्षिण गेट र दरैया बस्ती तथा पूर्वतर्फ इस्लामपुरको खुला सीमाबाट मानिस हुलका हुल जोगबनी जाने–आउने गर्छन् । कोही फोहोरको डंगुर नाघ्दै त कोही कम्मरसम्म डुबाउने दह हुँदै भारतीय बजार गइरहेका छन् ।

तीमध्ये अधिकांशले मास्कसमेत लगाउँदैनन् । भारतीय सुरक्षाकर्मीले आफ्नो भूमिमा प्रवेश गर्न अवरोध गर्दैनन् । सोहीकारण लाठीले तर्साएकै भरमा किनमेल गर्न जानेहरूलाई रोक्न सम्भव नभएको इलाका प्रहरी कार्यालय, रानीका निरीक्षक दीपक थापा बताउँछन् । 

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार किनमेल गरेर फर्किनेहरूलाई क्वारेन्टाइनमा राख्ने चेतावनी दिएपछि केही दिन लस्कर घट्यो । अहिले फेरि जोखिमपूर्ण आउजाउ बढेकाले सुरक्षा निकायसँग सल्लाह गरेर थप कडाइ गरिने उनी बताउँछन् ।

मोरङका नोचा, बुधनगर, तारेगामा, सिक्टी, बरडंगा, रंगेली मात्र होइन, सुनसरीका साहेबगन्ज, घुस्की र भान्टाबारी नाकाबाट पनि निर्वाध अवैध पैठारी भइरहेकै छ ।व्यापारीहरूले नेपालबाट मरिच, मटर, मिक्सर दाललगायत वस्तु भारत पुर्‍याउँछन् । भारतबाट किराना, कपडा, मोटरपार्टस्, भाँडावर्तन, विद्युतीय सामान भित्र्याउँछन् ।

स्थानीयवासीका अनुसार रात पर्नासाथ ट्रयाक्टर र मोटरसाइकलमार्फत तस्करी भइरहेको छ । अवैध ओसारपसार गर्नेहरूले सीमा क्षेत्रका घरघरमा तराजु राखेर गोला र गोदाम सञ्चालन गरेका छन् । तिनै गोला र गोदाममा अवैध सामान भण्डारण गर्छन् र अनकूल समयमा गन्तव्यमा पु¥याउँछन् । प्रदेश–१ प्रहरी कार्यालयका अनुसार ११ चैतदेखि असार मसान्तसम्म प्रदेश–१ का नाकाहरूबाट चार करोड ३० लाख ९८ हजारबराबरका भन्सारछलीका वस्तु बरामद भएका छन् ।

त्रिनगर नाका बन्द, तर रोकिएन तस्करी
११ चैतदेखि कैलालीको त्रिनगर नाकाबाट नेपाली उपभोक्ता भारतीय बजारमा किनमेल गर्न जान पाएका छैनन् । तर, भारतबाट हुने तस्करी रोकिएको छैन । त्रिनगर भन्सार कार्यालय, धनगढीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीले चैतयता एक करोड ४९ लाख ७३ हजार रुपैयाँबराबरको अवैध सामान बरामद गरेका छन् ।

नाका सामान्य हुँदा सीमावर्ती भारतीय बजार गौरीफन्टा, वनगावा र पलियामा दैनिक सयौँ नेपाली किनमेलका लागि जाने गर्थे । अहिले सीमामा कडाइ हुँदाको सकारात्मक प्रभाव धनगढीलगायत स्थानीय बजारको कारोबारमा देखिएको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा बताउँछन् ।

बाँकेमा सहायक नाकाबाट ओसारपसार
बाँकेको नेपालगन्ज नाकाबाट भारततर्फ आउजाउ बन्द छ । तर, सहायक नाकाबाट नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजार पुग्छन् । बाँकेका बासिन्दा नरैनापुरको सुइया, जमुनहा, जम्नाहालगायत नाकाबाट भारत गएर सामान खरिद गरी फर्किन्छन् । सुरक्षाकर्मीले घरायसी प्रयोजनका सामान ल्याउन अवरोध नगरेको स्थानीय रामकुमार बाहुन बताउँछन् । भारतीय बजारमा सामान सस्तोमा पाइनाले उतै जाने गरेको डुडुवा गाउँपालिका–१ होलियाका राजकुमार शुक्ल बताउँछन् ।

रुपन्देहीमा स्वदेशी बजारमा चहलपहल
रुपन्देहीको सीमावर्ती सुनौली बजार खुला भए पनि नेपाली ग्राहक नपुग्दा सुनसान छ । कोरोनाका कारण नाकामा कडाइ भएकाले नेपालबाट किनमेल गर्न सुनौली जानेहरू नभएको इलाका प्रहरी कार्यालय बेलहियाका निरीक्षक ईश्वरी अधिकारी बताउँछन् । उनका अनुसार औषधि खरिद र भारतीय पेन्सनपट्टा बनाउनेहरू भने सुनौलीसम्म पुगिरहेका छन् । अन्यथा विगतजस्तो भिड सीमापारि गएको छैन, जसका कारण यसअघि दैनिक करिब दुई करोड रुपैयाँ भारतीय बजारमा पुग्ने क्रम रोकिएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने बताउँछन् ।

वीरगन्ज नाकाबाट सहजै आवतजावत
कोरोना नियन्त्रणका लागि ११ चैतदेखि गरिएको लकडाउन र निषेधाज्ञाका कारण नेपालबाट सामान किन्नकै लागि भारत जान रोक छ । तैपनि सीमापारिको बजारमा वीरगन्जआसपासका बासिन्दा सजिलै पुग्न सक्छन् ।

घरायसी सामग्री सस्तो भएकाले रक्सौल पुग्ने गरेको वीरगन्ज नगवाका श्रीराम ठाकुर बताउँछन् । दाल, चिनी, तेल, नुन र विभिन्न मसला वीरगन्जभन्दा रक्सौलमा सस्तो पर्छ ।असोज पहिलो सातादेखि अत्यावश्यक घरायसी सामान खरिद गर्न रक्सौल पुग्नेहरू बढेका छन् । नाकामा तैनाथ सुरक्षाकर्मीले पनि कामको प्रकृति हेरी आउजाउ गर्न दिइरहेका छन् । वीरगन्ज शंकराचार्य गेटअगाडि पसल चलाएर बसेकी कुन्ती देवीका अनुसार मुख्य रोडमा रोक भएपछि खेतको बाटो प्रयोग गरेर भारतीय बजारमा पुग्ने बढेका छन् ।

बढ्दै कामदार
लकडाउन र निषेधाज्ञा खुकुलो बनाइएपछि भारततर्फबाट पर्सा र बाराका नाका हुँदै कामको खोजीमा नेपाल प्रवेश गर्नेहरू पनि बढेका छन् । सीमा वारपार गर्न भने मालबाहक सवारीसाधनलाई मात्र स्वीकृति छ । तर, खुला सीमाबाट नेपाल भित्रिने बिहारका बासिन्दा वीरगन्जबाट गाडी चढेर काठमाडौं, नारायणगढ, पोखरालगायत सहरमा पुगिरहेका छन् ।
पर्साका खल्वा टोला, सिर्सिया अलौ, छपकैया, इनर्वाजस्ता साना नाकाबाट भारतीयहरू लुकिछिपी वीरगन्ज बसपार्क आइपुग्छन् ।

यहाँबाट बस र टाटासुमो चढेर विभिन्न सहरमा पुग्छन् । पर्साका प्रजिअ अस्मान तामाङ भने विनाअनुमति अत्यावश्यक कामबाहेकका कुनै पनि व्यक्तिलाई आवतजावत रोक्न सक्दो प्रयास गरिएको दाबी गर्छन् । भन्छन्, ‘लुकिछिपी आउने अधिकांशलाई नौ हजार एक सय रुपैयाँका दरले जरिवानासमेत तिराइएको छ ।’

धनुषा धनौजी नगरपालिका तरहीका सुलेमान राईलाई चैततिर कोरोनाको डरले पारि जान डर लाग्यो । तर, तस्करी संलग्न समूहले राति–राति भारतबाटै सामान ल्याउने र महँगोमा बेच्ने गरेकाले उनी आफैँ जान थाले । नेपाली बजारमा एक सय २० रुपैयाँ प्रतिकिलो पाउने प्याज भारतीय बजारमा ३० रुपैयाँ भारु अर्थात् ४८ रुपैयाँमा पाइन्छ । यस्तै, लसुनमा डेढ सय तथा चिनीमा प्रतिकिलो ३० रुपैयाँ अन्तर छ ।

भारतीय बजारको सहारा नभए लकडाउनमा धेरै मान्छे भोकले मर्ने अवस्था आएको स्थानीय सोनितलाल यादव बताउँछन् । भन्छन्, ‘सीमाका बासिन्दा दिनभरि भारतमा काम गर्छन् र साँझ नेपालको घरमा विश्राम गर्छन् ।’ 

झापामा चाडपर्व नजिकिँदा सीमामा चहलपहल
चाडपर्व नजिकिएसँगै झापाका सीमावर्ती नाकामा चहलपहल बढेको छ । भारतसँग एक सय ४४ किलोमिटर खुला सिमाना भएको झापामा विशेषगरी दक्षिणी भेगका बासिन्दा तथा साना व्यापारीले भारतीय सीमासम्म पुगेर सामान ल्याउन थालेका छन् । सुरक्षाकर्मीको आँखा छल्दै स्थानीयवासीले सामान भित्र्याइरहेका छन् । मुख्य व्यापारिक नाका काँकडभिट्टा आसपासभन्दा पनि दक्षिणी क्षेत्रका खुला नाकाबाट दैनिक उपभोग्य सामग्रीको अवैध आयात भइरहेको छ ।

झापाका गौरीगन्ज, झापा, बाह्रदशी र कचनकवललगायत सीमावर्ती बजारका व्यापारीले भारतीय बजारमा पुगेर सामान ल्याइरहेका छन् । भारततर्फका साना व्यापारी पनि लुकिछिपी नेपालका साना बजारसम्म आउने गरेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह बताउँछन् ।

‘चोरबाटोको प्रयोग गरेर नेपाली पनि भारतीय बजारसम्म पुग्छन् । भारतीय पनि लुकेर नेपाली बजारसम्म आउँछन्,’ उनी भन्छन्, ‘पहिले एक–एक किलोमिटरको फरकमा सुरक्षाकर्मी थिए । अहिले नाकामा सुरक्षाकर्मी कम हुँदा जोखिमपूर्ण आउजाउ बढेको छ ।’

भारतसँगको आवतजावत ६ महिनादेखि बन्द हुँदा पनि सीमाका नेपाली बजारमा भारतमा उत्पादित खाद्य सामग्री सहजै पाइने बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी बताउँछन् । ‘मुख्य बाटोमा सुरक्षाकर्मीले रोके पनि धानबारी, खोलातिरबाट त सामान आइरहेकै छ,’ उनी भन्छन् ।

विराटनगरबाट गणेश लम्साल, धनगढीबाट तेजराज भट्ट, रूपन्देहीबाट दीपेश पछाई, वीरगन्जबाट तिवारी यादव,  बाँकेबाट विश्वराज पछल्डङ्ग्या, जनकपुरधामबाट हदिश खुद्दार, झापाबाट चिरञ्जीवी घिमिरे